गाउँ-गाउँमा विशेषज्ञ स्वास्थ्य शिविर, घरघरमा जेष्ठ नागरिकको उपचार

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 10 mins

बागलुङ । गलकोट नगरपालिका-८ थालेपोखराकी तलुसी पुन ९६ वर्ष पूरा हुनु भयो । उमेर ढल्दै गए पनि उच्च रक्तचाप बाहेक उहाँमा अन्य स्वास्थ्य समस्था थिएन । केही महिना यता उच्च रक्तचापका कारण टाउको दुख्ने र घुमाउने हुँदा उहाँलाई गाह्रो हुने गरेको थियो । उपचारका लागि अस्पताल टाढा हुँदा पुग्न सक्नु भएको थिएन । गाउँमा नगरपालिकाले सहरी स्वास्थ्य केन्द्र स्थापना गरे पनि उच्च रक्तचापको उपचार हुँदैनथ्यो । बिहीबार गलकोट नगरपालिकाबाट विशेषज्ञ डाक्टरसहितको टोली पुनको घरै नजिक पुग्यो । डाक्टरले उहाँको स्वास्थ्य परीक्षण गरि घरमै औषधी दिएपछि उहाँ दंग पर्नु भयो । घरमै डाक्टर आएर उपचार गर्छन् भन्ने तुलसीले कल्पना पनि गर्नु भएको थिएन ।

जब थालेपोखरा गाउँमा नगरपालिकाबाट जनप्रतिनिधिसहित डाक्टर र स्वास्थ्यकर्मी टोली पुग्यो तुलसीसहित गाउँका धेरै मानिसहरु अचम्मित भए । गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुशिल पौडेल, गलकोट नगर अस्पतालका एमडीजिपी डाक्टर राजेश पौडेललगायतको टोलीले ढेड सय बढी जेष्ठ नागरिक तथा स्थानीयको स्वास्थ्य परीक्षण र निःशुल्क औषधी वितरण गरेको छ । गाउँभन्दा टाढा हुँदा धेरै नागरिक बिरामी भएर पनि अस्पताल पुग्न सक्दैनथे । सामान्य बिरामीले गाउँको सहरी स्वास्थ्य केन्द्रमा उपचार पाउँथे । नगरपालिकाले दूर दराजका नागरिकलाई लक्षित गरि घरघरमा जेष्ठ नागरिक स्वास्थ्य परीक्षण तथां निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर थालेपछि धेरैले सेवा लिन पाए ।

पुनले टाढा जान नसक्दा अहिलेसम्म गाउँमै रोग पालेर बस्नु परेको सुनाउनुभयो । घरै नजिक आएको डाक्टरसहितको टोलीले आफ्नो निःशुल्क स्वास्थ्य चेकजाँच गरि औषधी दिएको उहाँको भनाइ छ । औषधी आएर निको नभए पुनः डाक्टरले जाँच गर्ने पुन बताउनुहुन्छ । आफूलाई चक्कर आउने र टाउको दुख्नेबाहेक अरु समस्या नभएको सुनाउँदै घरमै आएर उपचार गरि दिँदा खुसी लागेको उहाँले बताउनुभयो । अहिलेसम्म यो गाउँमा डाक्टर कहिल्यै नआएको भन्दै पहिलो पटक विशेषज्ञ सेवा लिन पाएको पुनको भनाइ छ ।

“गाउँमा मान्छेहरु बिरामी हुँदा गाडी खोजेर टाढा-टाढा उपचार गर्न गने गर्छन्, गाउँ नजिक सानो अस्पातल छ, त्यहाँ ठूलो रोकको उपचार हुँदो रैनछ, म पनि बिरामी भएको महिना दिन बढी भयो, गुमाउने, टाउको दुख्ने हुन्थ्यो, उपचार पाएको थिएन” पुनले भन्नुभयो - “डाक्टर घरमै आएर जाँच्नु भयो, औषधी पनि दिएर जानु भएको छ, फेरि केही महिनापछि आउने भन्नु भएको छ, गाउँमा अरु मान्छे पनि बिरामी थिए, उनीहरुले पनि औषधी पाएका छन्, गाउँ घरमा आएर उपचार गरि दिने, औषधी दिएपछि टाढा किन जानु पर्‍यो ?, मलाई त धेरै खुसी लागेको छ, यहाँ अहिलेसम्म यस्तो सुविधा आएको मैले थाहा पाएको छैन ।”

स्थानीय ६० वर्षीय दुर्गा बहादुर खत्रीले सुविधायुक्त अस्पताल नजिक नहुँदा धेरै नागरिकले दुःख पाएको भन्दै गाउँमा आएको निःशुल्क स्वास्थ्य शिविरले ठूलो राहत मिलेको बताउनुभयो । अहिलेसम्म विशेषज्ञ डाक्टर आएर गाउँमा यस किसिमको शिविर नभएको भन्दै यसपाली नगरपालिकाले यहाँका नागरिकको समस्या बुझेको उहाँको भनाइ छ । गाउँ-गाउँमा सुविधा सम्पन्न अस्पतालहरु नभए पनि समय-समयमा दूर दराजमा पुगेर स्वास्थ्य सेवा दिँदा धेरै नागरिक लाभान्वित हुने खत्रीले बताउनुभयो । यो गाउँ अहिलेसम्म विकट रहेको र सडकको अवस्था पनि निकै जोखिमयुक्त हुँदा अस्पतालसम्म सहज रुपमा पुग्न नसकिने उहाँको भनाइ छ ।

खत्रीले भन्नुभयो - “गाउँमा यसरी डाक्टरहरु आएर हाम्रो चेक जाँच गरेर फ्रिमा औषधी पाइन्छ भन्ने सोचेका पनि थिएनौँ, नगरपालिकाले हाम्रो समस्या बुझ्यो, बल्ल सरकार भएको महशुस भयो, यस्ताखालका सेवाहरु महिना/तीन महिनामा दिई राख्यो भने जनतालाई दुःख हुने थिएन, अर्को पटक पनि डाक्टरहरु आउने भनेका छन्, सामान्य प्रेसर जाँच गर्न पनि टाढा जानु पर्ने ठाउँमा छौँ हामीहरु, अब समस्या पर्दैन होला ।”

थालेपोखरा गाउँ बागलुङको गलकोट नगरपालिकाको विकट गाउँ हो । त्यसले गर्दा गलकोट नगरपालिकाले सोही गाउँबाटै र घरघरमा जेष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन गरेको हो । नगरपालिकाले जेष्ठ नागरिकलाई लक्षित गरि अघिल्लो वर्षदेखि घरघरमा जेष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम संचालन गरेकोमा यस वर्ष निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर पनि सुरुवात गरेको गलकोट नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सुशिल पौडेलले बताउनुभयो । जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य जाँच गर्ने र निःशुल्क औषधी दिँदा उनीहरुलाई टाढा जान नपर्ने र खर्च पनि नहुँने पौडेलको भनाइ छ ।

नगरपालिका अन्तरगत ६० वर्षभन्दा माथिका पाँच हजार जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन थालेको उहाँले बताउनुभयो । वर्षको दुई पटक घरमै पुग्ने, पहिलो पटक स्वास्थ्य परीक्षक गरि औषधी दिनुका साथै जेष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्डसमेत दिने र पुनः अर्को पटक जाँदा कार्ड हेरेर उपचार गर्ने संयोजक पौडेलको भनाइ छ । जेष्ठ नागरिकको घरमै पुगेर सुगर, प्रेसर, आँखा, छाला, लगायतका रोगको चेक जाँच र निःशुल्क औषधी दिने गरेको उहाँले बताउनुभयो । यस वर्ष घरघरमा जेष्ठ नागरिक स्वास्थ्य परीक्षण र शिविरका लागि नगरपालिकाले सात लाख रुपैयाँ विनियोजन गरेको पौडेलको भनाइ छ । नगरपालिकाको ११ वटै वडामा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षणसँगै विशेषज्ञ स्वास्थ्य शिविर गरेने उहाँले बताउनुभयो ।

“गलकोट नगरपालिकामा पाँच हजार जेष्ठ नागरिक हुनुहुन्छ, उहाँहरुको घरमै गएर स्वास्थ्य परीक्षण गर्ने र औषधी उपलब्ध गराउने छौँ, यो कार्यक्रम पोहोर सालदेखि सुरु गरेका हौँ, यस वर्ष थप प्रभावकारी बनाउन लागि रहेका छौँ” पौडेलले भन्नुभयो - “जेष्ठ नागरिक कोही पनि छुट्नुहुने छैन, अन्य नागरिकले पनि विशिरबाट सेवा लिनुहुने छ, एघार वटै वडामा पुगेर सेवा प्रदान गर्ने छौँ ।”

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जनतालाई स्वस्थ राख्नका लागि घरघरमा पुगेर स्वास्थ्य सेवा दिन थालिएको बताउनुभयो । पालिकाले हरेक वर्ष स्वास्थ्यमा नयाँ-नयाँ काम गर्दै आएको भन्दै यस वर्ष सुगमदेखि दुर्गमसम्मका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा दिन लागेको उहाँको भनाइ छ । कोही पनि नागरिकले उपचार नपाएर दुःख नपाओस् भन्ने हिसाबले गाउँमै स्वास्थ्य सेवा पुर्‍याउनका लागि घरघरमा जेष्ठ नागरिक स्वास्थ्य परीक्षण र स्वास्थ्य शिविर सुरु गरिएको प्रवक्ता भण्डारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?