मियामी । उरूग्वेका स्टार फरवार्ड लुइस सुआरेज फेरि सुपरस्टार लियोन मेस्सीसँगै खेल्नुहुने भएको छ । मेस्सीसँग नजिकको सम्बन्ध रहेका सुआरेज अमेरिकी मेजर लिग सकर टोली इन्टर मियामीमा अनुबन्धित हुनुभएको छ । मियामीले शुक्रबार आफ्नो सामाजिक सञ्जालमार्फत् उहाँसँगको अनुबन्ध सार्वजनिक गरेको हो ।
पछिल्लो समय सुआरेजले ब्राजिलियन क्लब ग्रेमियोबाट खेल्नुभएको थियो । ग्रेमियोलाई ब्राजिलियन सेरी एको दोस्रो स्थान दिलाउन उहाँको महत्वपूर्ण भूमिका रहेको थियो । शीर्षस्थानको पाल्मेरासभन्दा ग्रेमियोको एक अंकमात्र कम थियो । सो सिजनमा ३३ खेलमा १७ गोल गर्नुभएका सुआरेज सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा रहनुभएको थियो ।
मियामीमा उहाँले बार्सिलोनाका पूर्वसहकर्मी मेस्सीसहित सर्जियो बुस्केट्स र जोर्डी अल्बासँगै खेल्नुहुने भएको छ । इन्टर मियामीसँग जोडिँदा धेरै खुसी र उत्साहित भएको सुआरेजले बताउनुभयो । उहाँले नयाँ साथी र प्रशिक्षकहरूलाई भेट्न उत्सुक रहेको धारणा व्यक्त गर्नुभयो । मियामीका मालिक जोर्गे मासले सुआरेजलाई भित्र्याउन पाएकोमा खुसी व्यक्त गर्नुभयो । सुआरेजमा रहेको जितको भोकले क्लबका लागि फलदायी हुने विश्वास गरेको मासले बताउनुभयो ।
बार्सिलोनामा रहँदा मेस्सी र ब्राजिलियन स्टार नेयमारसँगै कीर्तिमानी ट्रायोका रूपमा स्थापित सुआरेजले आयाक्स, लिभरपुल, एट्लेटिको म्याड्रिडजस्ता क्लबबाट पनि खेलिसक्नुभएको छ । उहाँले आफ्नो करियरमा ४५० भन्दा बढी गोल गर्नुभएको छ ।
उहाँले युरोपेली च्याम्पियन्स लिग र कोपा अमेरिकासहित २० भन्दा बढी उपाधि जित्नुभएको छ । उहाँ उरुग्वेका सर्वाधिक गोलकर्तासमेत हुनुहुन्छ । उहाँले राष्ट्रिय टोलीबाट १३८ खेलमा ६८ गोल गर्नुभएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच