काठमाडौं । सुन तस्करीसम्बन्धी छानविन गर्न गठित समितिले १४ किलोग्राम सुनसहित पक्राउ परेको गिरोहले १३८ किलो सुन नेपाल भित्र्याइसकेको निष्कर्ष निकालेको छ । १४ किलो सुन प्रकरणको छानविन गर्न गठित समितिले आइतबार प्रतिवेदन सार्वजनिक गर्दै पक्राउ परेको गिरोहले नै १३८ केजी सुन नेपाल भित्र्याएको निष्कर्ष निकालेको हो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट केही साताअघि १४ केजी सुनसहित चन्द्रबहादुर घले पक्राउ परेका थिए । त्यसपछि प्रमुख भन्सार अधिकृत मणिराम पौडेल नेतृत्वमा छानविन टोली गठन गरिएको थियो । ‘पटक-पटक गरी मीनबहादुर घले, चन्द्र घले र कृष्णकुमार श्रेष्ठले गरी जम्मा १३८ केजी सुन विमानस्थलबाट सेटिङ मिलाई बाहिर ल्याउने गरेकोमा पछिल्लोपटक चन्द्र घलेले ल्याएको १४ केजी मात्र पक्राउ परेको देखिन्छ,’ समितिको प्रतिवेदनमा भनिएको छ ।
समितिका अनुसार मीनबहादुर घलेले दुबईमा बस्ने गरेका भारतीय नागरिकसँग मिलेर सुन तस्करी गर्ने गरेका थिए । मीनबहादुर स्वयं, चन्द्र र कृष्णकुमार श्रेष्ठले भरिया बनेर सुन ल्याउने गरेको पाइएको समितिको छानविनमा खुलेको छ । मीनले एयरपोर्टमा सेटिङ मिलाउन दानबहादुर गुरुङलाई प्रयोग गर्ने गरेको समितिको निष्कर्ष छ । एयरपोर्टबाट सुन बाहिर निकाल्न नागरिक उड्डयन प्राधिकरणका कर्मचारी राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, अवकाशप्राप्त भई करारमा कार्यरत रमेश देउला, प्लम्बर शेरबहादुर बस्नेत र कार्यालय सहयोगी अनिल श्रेष्ठको भूमिका रहेको समितिको दाबी छ ।
भरियाले ल्याएको सुन एयरपोर्टबाट बाहिर निकालिसकेपछि रमेश देउला, राधा कृष्ण श्रेष्ठ र अनिल श्रेष्ठले काठमाडौंको बाँनियाटारस्थित सूर्यदर्शन हाइटमा रहेको डिबी गुरुङको घरमा पुर्याउने गरेको देखिएको समितिले जनाएको छ । गत मंसिर २२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित गोरखा, बारपाकका चन्द्र घलेको पक्राउ परेका थिए । घलेको बयानका आधारमा गोरखाका मीनबहादुर घले पनि पक्राउ परेका थिए ।
तीन महिनाको सिसिटिभी फुटेज नै गायव
सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गठित समितिले विमानस्थलको क्लोज सर्किट (सिसी) क्यामेरा फुटेज नपाएको अवस्था छ । समितिले छानविनका क्रममा विमानस्थलको आगमनतर्फको पछिल्लो तीन महिनाको सिसिटिभी रेकर्ड माग गरेको थियो । तर, ब्याकअपको सीमितता भन्दै २१ दिनसम्मको मात्रै रेकर्ड पाइएको समितिका संयोजक पौडेलले बताउनुभयो । कानुनअनुरूप तीन महिनाको रेकर्ड राख्नुपर्नेमा समितिले २१ दिनको मात्रै फुटेज पाएको हो । जसकारण सुन प्रकरणमा थप प्रमाणहरू जुटाउन समितिलाई कठिन भएको छ । समितिले विमानस्थलको भिआइपी कक्षमा जाने सिँढीको सिसिटिभी फुटेज पनि मागेको थियो । तर, त्यहाँको सिसी क्यामेरा नै ‘आउट अफ सर्भिस’ रहेको जानकारी समितिलाई दिइएको छ ।
सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका लेकबहादुर तामाङले भिआइपी कक्ष हुँदै माथिल्लो तलाको शौचालयमा गएर राधाकृष्ण श्रेष्ठलाई ‘सामान’ बुझाउने गरेको बयान दिएका छन् । त्यहाँको सिसिटिभीले किन काम गरेको थिएन भन्ने छानविनकै विषय भएको अधिकारीहरू बताउँछन् ।
सरकारी वकिलसँग सुझाव लिएर मुद्दा अघि बढाउछौँ : भन्सार प्रमुख पाण्डेय
छानविन समितिले विमानस्थल भन्सार कार्यालय प्रमुख डा. टोकराज पाण्डेयलाई प्रतिवेदन बुझाएको छ । भन्सार कार्यालय प्रमुख पाण्डेयले सरकारी वकिलसँग राय÷सुझाव लिएर मुद्दा दायर गरिने बताउनुभयो । ‘हामी सरकारी वकिलसँग सुझाव लिएर मुद्दा अघि बढाउछौँ,’ उहाँले भन्नुभयो, ‘अबको हाम्रो प्रयास त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध आयात हुन्छ, गलत हुन्छ भन्ने मानक मेट्नका लागि हुनेछ ।’
समितिले १४ किलो अवैध सुन ल्याउने व्यक्तिहरूको ट्राभल हिस्ट्री अध्ययन तथा कल डिटेल एनालाइसिस गरी संलग्न व्यक्तिहरूको पहिचान गर्ने कार्यादेश पाएको थियो । समग्र सूचना तथा तथ्यांकहरूको विश्लेषण गरी राय सुझाव पेस गर्ने, विमानस्थलमा कार्य सञ्चालन गर्ने निकायहरूको ड्युटी तालिका लिई अध्ययन तथा विश्लेषण गर्ने र आवश्यकताअनुसार अन्य कार्यहरू गर्ने समेतको कार्यादेश पाएर समितिले अध्ययन थालेको थियो ।
जसअनुसार सिसिटिभी फुटेज एनालाइसिसका साथै फोनदेखि सामाजिक सञ्जालका मेसेन्जरहरूको सम्पूर्ण डिटेलहरू समितिले अध्ययन गरेको थियो । यस्तै, मोबाइल, स्थलगत अनुसन्धानमा रेकर्ड गरिएका भिडियो एवं अन्य आवश्यक वस्तुहरूलाई पनि आरोपीहरूको लिखित बयानमा सनाखत गरिएको थियो । यस्तै, शंकित तथा संलग्न व्यक्तिहरूको यात्रा विवरण, सिसिटिभी फुटेज तथा कर्मचारीहरूसँग सम्बन्धित जब डिसक्रिप्सनलगायत तथ्यहरूको पनि विश्लेषण गरिएको थियो ।
यस्तो छ समितिको सुझाव
समितिले अध्यागमन कार्यालयले पटकपटक दुबई, सिंगापुर, हङकङ, थाइल्याण्डलगायत देशमा आवागमन गरिरहेका यात्रुहरूको सूचना भन्सार तथा प्रहरीलाई दिने लिने व्यवस्था मिलाउनुपर्ने सुझाव दिएको छ । यस्तै, भन्सार विभागले दुबई, सिंगापुर, हङकङ, थाइल्याण्डलगायत देशमा आवागमन गरिरहेका यात्रुहरूको ती देशका भन्सारमा घोषणा गरेको विवरण अग्रिम रूपमा प्राप्त गर्न आवश्यक व्यवस्था मिलाउनुपर्ने पनि सुझाव दिएको हो । यस्तै, व्यक्तिगत सवारी साधनहरू मोटरसाइकल, स्कुटर तथा कार सेक्युरिटी चेक प्वाइन्टभन्दा भित्र लगी आफ्नो एयरसाइड एरियामा रहेको कार्यालय परिसरमा राख्ने गरेको देखिएकाले त्यस्ता सवारीसाधन सेक्युरिटी चेक प्वाइन्टभन्दा भित्र लैजान रोक्नुपर्ने सुझाव समितिको छ ।
यस्तै, नेपाल आयल निगम, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणको सिनामंगल चोकस्थित गेटमा वाक थ्रो मेटल डिटेक्टर तत्काल राख्नुपर्ने सुझाव समितिको छ । यस्तै, आयल निगममा जाने कर्मचारीहरूको सवारीसाधन पार्किङ गरेपश्चात् सुरक्षा जाँच गराई भित्र प्रवेश गर्ने र निस्कने क्रममा सुरक्षा जाँचपछि मात्र आफ्नो सवारी साधनसम्म जाने व्यवस्था मिलाउनुपर्ने सुझाव पनि समितिको छ ।
यस्तै, सिनामंगल ओरालोको छेउमा विमानस्थलको पेरिमिटरभित्र रहेको प्रहरी ब्यारेकको इन्ट्रान्सबाहिर चक्रपथतर्फ खोली ब्यारेकको पछाडि तर्फको भागमा भेन्सिङ गरी बाहिरबाटै विमानस्थलको ड्युटी आवतजावत गर्ने बनाउनुपर्ने सुझाव पनि समितिको छ ।
यस्तै, अन्तर्राष्ट्रिय रनवेको १ नम्बर वेको छेउबाट आयल निगमको कार्यालय क्षेत्र हुँदै हिमालय एयरलाइन्सको कार्यालय तथा अन्य कार्यालयमा जाने सवारी साधनहरूको आवतजावत बन्द गर्नुपर्ने सुझाव पनि समितिको छ । निरीक्षणका लागि जाने इञ्जिनियरहरूको टिमले जहाजको नजिकै आफ्नो सवारीसाधन लैजाने गरेकोमा निजहरूले आफ्नो टुलबक्सलगायत औजार विमानमा लैजानुअघि अनिवार्य सुरक्षा चेक गराई लैजाने र फर्किने व्यवस्था मिलाउनुपर्ने पनि समितिको राय छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच