विकास र सेवाको क्षेत्रमा नयाँ रेकर्ड बनाउने गरी काम गर्दैछु : प्रधानमन्त्री दाहाल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो कार्यशैलीलाई परिणाममुखी बनाउने र परिणाम दिनेगरी अघि बढिरहेको बताउनुभएको छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा १३१ औं माओ दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रको नाममा सम्बोधन गर्दा आफूले वर्ष दिनमा गरेका काम र अब गर्ने कामहरुका बारेमा जनतालाई जानकारी गराउने बताउनु भयो । उहाँले परम्परा तोडेर प्रधानमन्त्रीको रुपमा नयाँ काम गर्ने योजना आफ्नो रहेको बताउनु भयो ।

उहाँले सिंहदरबारको कामलाई व्यवस्थित बनाउन मन्त्री र मन्त्रालयका सचिवहरुलाई आफू १० बजे नै सिंहदरबार पुगेर उनीहरुसँग छलफल गर्ने र परिणाममुखी काम गर्न निर्देशन दिने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारको कुरा त अहिले भन्न सम्भव छैन । आज मैले प्रधानमन्त्रीको हैसियतमा राष्ट्रको नाममा सम्बोधन गर्र्दैछु । त्यसको अन्तिम तयारी भइरहेको छ । त्यसमा मुख्यता एक वर्षमा हामीले के काम गर्‍यौं ? के गर्न पाएनौँ, सकेनौँ, कहाँ जोड दिनुपर्छ भन्नेकुरा र भोलिदेखि अर्को वर्ष शुरु हुन्छ, हामीले त्यो नयाँ वर्षमा कस्ता काम प्राथमिकतामा राख्छौँ ? मैले भनेको छु, अलिकति परम्परा बसेको कुरालाई तोडेर नयाँ काममा जाने काम शुरु गरेको छु । सिंहदरबारको कामलाई र मन्त्रालयको कामलाई मन्त्री र मन्त्रालयका सचिवहरुले कति काम गरे की गरेनन् । किन गरेनन् के भयो भन्नेकुरालाई आफैँ १० बजे सिंहदरबार उपस्थित हुने र मन्त्रीहरुसँग विस्तृत रुपले छलफल गर्ने र परिणाम निकाल्ने तयारी गर्नु भनेको छु । त्यो कामको शुरुवात म आफैँले गरेको छु । आफ्नो कार्यशैलीलाई परिणाममुखी बनाउने र परिणाम दिनेगरी तयारी गरिसकेको छु । अर्को वर्ष हामीले विकास र सेवाको क्षेत्रमा नयाँ रेकर्ड बनाउनै पर्छ ।’

प्रधानमन्त्री दाहालले अर्को वर्ष विकास र सेवाको क्षेत्रमा नयाँ रेकर्ड बनाउने गरी आफू अघि बढीरहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?