✍️ गोकर्ण अर्याल
समाज जति-जति विकसित र समुन्नत भएको भनिँदैछ त्यति-त्यति नै बेथिति, अव्यवस्था, अनियमितता र लापरबाहीका शृंखलाहरू बढ्दै जान थालेका छन् । यस्ता क्रियाकलापले मुलुकको समग्र विकासमा व्यवधान पैदा गर्नेमात्र होइन आमनागरिकमा निराशासमेत उत्पन्न गराइरहेको छ । हरेक निकाय र क्षेत्र विधि र प्रक्रियाबाट अघि बढ्न नसक्दाका परिणाम हुन् यी । देशको हरेक निकायलाई राजनीतिक दल र तिनसँग आबद्ध केही व्यक्तिबाट भएका बदमासीलाई लिएर सिंगो राजनीतिक प्रणालीप्रति प्रश्न उठ्नुका कारणलाई त्यहीरूपमा बुझ्न सकिन्छ । पत्रकारिताका नाममा सञ्चालित पीत पत्रकारिताका माध्यमबाट पत्रकारिताले निर्वाह गरेको भूमिका पनि त्यस्तै देखिएको छ । यी दुवैखाले बेथितिलाई रोकेर समाजलाई सही बाटोमा डोर्याउने दायित्व र जिम्मेवारी कसको त ? निश्चय पनि राजनीतिक आडमा हुने विकृति, विसंगति र बेथितिलाई रोकेर सही मार्गमा अगाडि बढाउन र राज्य नियन्त्रित प्रशासनिक निकायलाई पारदर्शी ढंगबाट अघि बढाउनमा राज्यको चौथो अंगको भूमिका अहं ठानिन्छ ।
सरकारका कमीकमजोरीहरूलाई औंल्याइदिने र सुधारका मार्गमा लम्कनका लागि आवश्यक सल्लाह दिने दायित्वसमेत भएकाले चौथो अंगका रूपमा पत्रकारितालाई लिने गरिएको छ । पत्रकारिता राज्य सञ्चालनका लागि व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकापछिको चौथो अंगमा पर्दछ । यतिबेला सञ्चारकर्ममा लागेकाहरूले यसको महत्व कुन रूपमा कसरी बुझेका छन् त्यो आफ्नो ठाउँमा होला । तर, राजनीतिज्ञ जेफरसनले सरकारलाई भन्दा अखबारको शक्तिलाई ठूलो देखेबाट र नेपोलियनले चार हजार सेनाभन्दा चारवटा स्वतन्त्र पत्रिका मेरा लागि शक्तिशाली हुन्छ भनेबाट स्वतन्त्र प्रेसको महत्व कति छ भन्ने कुरा स्पष्ट हुन्छ ।
वास्तवमा प्रेस स्वयंमा स्वतन्त्र र निष्पक्ष निकाय हो । तर, किन निष्पक्ष र स्वतन्त्रताको प्रश्न उठिरहेको छ ? २०४६ सालको राजनीतिक परिवर्तनपछि प्रेस स्वतन्त्रतासम्बन्धी संविधानमै व्यवस्था गरेर यससँग सम्बन्धित ऐन, नियमहरू लागू भयो । प्रेससँग सम्बन्धित ऐन, नियमहरूलाई मर्यादित र व्यवस्थित तुल्याउने कार्यमा न नीति निर्माता तहमा रहेकाहरू देखिए न त पालकहरू नै भेटिए ।
वास्तवमा प्रेस स्वयंमा स्वतन्त्र र निष्पक्ष निकाय हो । तर, किन निष्पक्ष र स्वतन्त्रताको प्रश्न उठिरहेको छ ? २०४६ सालको राजनीतिक परिवर्तनपछि प्रेस स्वतन्त्रतासम्बन्धी संविधानमै व्यवस्था गरेर यससँग सम्बन्धित ऐन, नियमहरू लागू भयो । प्रेससँग सम्बन्धित ऐन, नियमहरूलाई मर्यादित र व्यवस्थित तुल्याउने कार्यमा न नीति निर्माता तहमा रहेकाहरू देखिए न त पालकहरू नै भेटिए । स्वतन्त्रताका नाममा स्वच्छन्द र दलीय एवं गुटीय तहबाट सञ्चारमाध्यम सञ्चालित हुन थालेका कारण पनि अधिकांश सञ्चारमाध्यम आवाजविहीनहरूको आवाजभन्दा पनि सत्ता र शक्तिका हतियार बन्न पुगेका कुराको अनुभव धेरैले गरिरहेका छन् । पछिल्लो चरणमा केन्द्रीयस्तरमा मात्र होइन स्थानीय तहमा समेत कतिपय सञ्चारमाध्यम पार्टीका गुट र उपगुटका मुखपत्र बनेर चलिरहेका छन् । आफ्नो स्वार्थपूर्तिका लागि जे–जस्ता कुरा पनि प्रकाशन र प्रसारणका विषय बनाइनाले स्वतन्त्र र मर्यादित प्रेसप्रति प्रश्न उठिरहेका छन् । देशका कुनाकाप्चामा हुन नसकेका विषयवस्तुलाई घचघच्याउने र भएका कामकारबाहीको चर्चाभन्दा पनि राजनीतिक तहबाट हुने फाइदा, बेफाइदा हेरेर आफूलाई प्रस्तुत गराउनमा धेरैजसो सञ्चारमाध्यम केन्द्रित हुन थालेको देखिन्छ । यो अवस्थामा स्वतन्त्र प्रेसबारे प्रश्न उठ्नु अस्वाभाविक पनि लाग्दैन ।
विशेष गरेर २०७२ को संविधान जारीपछि मुलुकमा जनउत्तरदायी र पारदर्शी शासन व्यवस्था कायम हुनेछ र नैतिक मूल्य, मान्यतामा आधारित राजनीतिले स्थान पाउनेछ भन्ने आशा र भरोसा थियो । वास्तवमा यसअनुरूपको विधि र प्रक्रियाले अझै सार्थकता पाउन सकेको देखिँदैन । मुलुक नयाँ संघीय संरचनामा प्रवेश गरेको कुराको राम्रो अनुभव अझै पनि स्थानीय तहले गर्न सकेको छैन । राजनीतिकरूपमा गाउँ-गाउँमा सिंहदरबार भने पनि व्यावहारिक र कानुनीरूपमा खुला हुन नसकेका विषयलाई पनि सञ्चारमाध्यमले उठाउन सकेका छैनन् ।
वास्तवमा स्थानीय तहका विकास निर्माणका कार्यलाई स्वच्छ र पारदर्शी ढंगबाट अगाडि बढाउनमा स्वतन्त्र प्रेसको भूमिका महत्वपूर्ण रहेको हुन्छ । हाम्रा कतिपय सञ्चार संस्थाहरू जनसरोकारका विषयवस्तुमा भन्दा राजनीति र स्वार्थ केन्द्रित गतिविधिमा रमाउने र बिक्ने प्रवृत्तिमा हावी हुन थालेका कारण समाजका वास्तविक घटनाहरू ओझेलमा परिरहेका छन् । स्थानीय सरकारले गरेका कामको रेखदेख गर्ने राज्यको माथिल्लो निकाय र पहरेदारको भूमिका निर्वाह गर्ने पत्रकारिता क्षेत्र कमजोर हुँदा स्थानीयबाट सम्पादन भएका कामहरूप्रति प्रश्नहरू पनि उठ्ने गरेका छन् । यस तहमा पनि भ्रष्टाचार, अनियमितता र बेथितिका विषयहरूले थुपै ठाउँ पाइरहेका छन् । यस्तो अवस्थालाई रोकेर जनप्रतिनिधिहरूलाई उत्तरदायी र जिम्मेवारपूर्ण बनाउनमा स्वतन्त्र प्रेसको भूमिका पनि रहन्थ्यो । स्थानीय तहमा रहेका उद्योगको विकास, यस तहमा रहेका प्रविधि, सीप र ज्ञानलाई अगाडि बढाउनमा, एक ठाउँमा भएका विकास निर्माणका कार्यलाई सही र सत्य विवरण प्रस्तुत गर्ने सञ्चारले अर्को ठाउँलाई समेत प्रेरणा प्रदान गर्ने कार्यमा सहयोग पु¥याउँदछ भन्ने कुरा जगजाहेर छ । पछिल्लो चरणमा हाम्रो पत्रकारिता सत्य, तथ्य र जनताको वास्तविक आवाजलाई मुखर गराउनेभन्दा पनि अस्वस्थ प्रतिस्पर्धा र होडबाजीमा केन्द्रित भएका कारण सिंगो पत्रकारिताप्रति नै विश्वास कमजोर हुँदै जान थालेको छ ।
वास्तवमा स्थानीय तहका विकास निर्माणका कार्यलाई स्वच्छ र पारदर्शी ढंगबाट अगाडि बढाउनमा स्वतन्त्र प्रेसको भूमिका महŒवपूर्ण रहेको हुन्छ । हाम्रा कतिपय सञ्चार संस्थाहरू जनसरोकारका विषयवस्तुमा भन्दा राजनीति र स्वार्थ केन्द्रित गतिविधिमा रमाउने र बिक्ने प्रवृत्तिमा हावी हुन थालेका कारण समाजका वास्तविक घटनाहरू ओझेलमा परिरहेका छन् ।
अहिले पनि स्थानीय तहमा अखाद्य सामग्रीको बिक्रीवितरण हुने, शिक्षा, स्वास्थ्यमा लापरबाही हुने, स्तरहीन सडकमा पुराना र थोत्रा सवारीसाधन गुडाउने, क्षमताभन्दा बढी यात्री बोक्ने, यात्रुवाहक सवारीले मालसामान बोक्नेजस्ता कार्यलाई रोक्न र सचेत गराउनमा सञ्चारको भूमिका महत्वपूर्ण रहन्छ । ती क्षेत्र र ठाउँमा दुर्घटना हुनुका प्रमुख कारणमा ग्रामीण कच्ची सडक, पुराना र थोत्रा गाडीहरूको प्रयोग, क्षमताभन्दा बढी यात्री राख्नु र अनुभवहीन चालक र लापरबाही रहेको पाइन्छ । त्यसैले कुनै क्षेत्रमा हुन सक्ने सम्भावित जोखिम वा खतरालाई न्यूनीकरण गर्न पूर्वसतर्कता अपनाउनुपर्दछ । घरमा आगो लागेपछि कुवा खन्न थाल्ने प्रवृत्ति ठीक होइन । आगो लाग्न सक्छ भन्ने सोच राखेर कुवा खनाइयो भनेमात्र त्यसको उपयोग हुन सक्दछ । यस्ता कुरालाई सचेत गराउनमा अहं भूमिका स्वतन्त्र प्रेसको रहन्छ । यस निकायको सक्रियता र अनुगमनले निरन्तरता पाउने हो भने समाजमा हुने गरेका बेथितिको पक्कै पनि अन्त्य हुन सक्दछ । यसले हरेक संस्था, व्यक्ति र वर्गलाई विधि र प्रक्रियाबाट हिँड्न, हिँडाउन प्रेरित पनि गर्नेछ । यसका लागि समाजका अगुवा वा नीति निर्माण तहमा बसेकाहरूसमेत उदाहरणीयरूपमा प्रस्तुत हुन सक्नुपर्दछ । हैन सानालाई ऐन ठूलालाई चैन भनेझैं ठूलाबडाले चाहिँ जे गरे पनि हुने भन्ने खालका व्यवहार गर्न थालियो भने समाजले मात्र त्यसको पालना गर्नुपर्दछ भन्ने के छ भन्ने अर्थ पनि लाग्न सक्दछ । त्यसैले नै महाजनो येन गता स पन्थ अर्थात् ठूला मानिस जुन बाटो हिँड्छन् वा जे कर्म गर्दछन् सोही अनुशरण समाजले पनि गर्दछ ।
यी कुराको मनन् गरेर हरेक क्षेत्रका अगुवाले आफूलाई प्रस्तुत गर्न सक्नुपर्दछ । स्थानीय तहका प्रायः बजारमा उपलब्ध वस्तु र चिज उपभोक्ताको हित र पक्षमा देखिँदैनन् । यसबाट उपभोक्ताहरू नराम्रोसँग ठगिएका हुन्छन् । हरेक वस्तु र चिजमा अखाद्य वस्तु मिसावट गरेर बिक्रीवितरण भइरहँदासमेत सरोकारवालाहरू मूकदर्शक रहने अवस्था आउनु र त्यस्ता ठाउँमा स्वतन्त्र पत्रकारिताको उपस्थिति देखिने अवस्था नरहनुलाई दुखद् पक्ष मानिन्छ । आफ्ना पिरमर्काका बारेमा अरूले नै आवाज उठाइदेओस् भन्ने उपभोक्ताहरूको मानसिकतालाई पनि ठीक मान्न सकिँदैन तर पत्रकारिता प्रजातान्त्रिक व्यवस्थाको ब्यारोमिटर हो भन्ने कुरालाई स्वतन्त्र प्रेसको मर्म र भावनालाई आत्मसात् गर्नेहरूले भुल्नुहुँदैन । निष्ठापूर्वक काम गर्ने वातावरण बनाएमा स्थानीय तह सवलीकरणमा स्वतन्त्र प्रेसको महत्वपूर्ण भूमिका रहन्छ भन्ने कुरामा कुनै शंका पनि छैन । (लेखक अर्याल वरिष्ठ पत्रकार तथा प्रजातान्त्रिक विचार समाजका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।)
aryalgokarna2017@gmail.com
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच