
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार करोड २० लाखभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको छ । विशेष अदालत काठमाडौंमा दायर भएको मुद्दामा भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्चमा पुनरावेदन गरिएको हो ।
विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा अख्तियारको निर्णय अनुसार आइतबार सर्वोच्चमा पुनरावेदन गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।
चुडामणि शर्माले सार्वजनिक सेवा अवधिमा तीन करोड ६३ लाख ७२ हजार ९६१ रुपियाँ आयआर्जन गरेको देखिएको अख्तियारले जनाएको छ । सो रकमको तुलनामा विभिन्न शीर्षकमा गरिएको खर्च तथा लगानी सात करोड ९३ लाख २७ हजार ८५ रुपियाँ देखिएको अख्तियारका प्रवक्ता घिमिरेले बताउनुभयो ।
उहाँका अनुसार शर्माको आयभन्दा बढी खर्च तथा लगानी गरेको चार करोड २९ लाख ५४ हजार १२४ रुपियाँ देखिएको छ । उक्त सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको देखिँदा शर्माले भ्रष्टाचार निवारण ऐन बमोजिमको कसूर गरेको पुष्टि भएको अख्तियारको ठहर छ ।
शर्माले सार्वजनिक सेवाको पदमा रही आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्यगरी गैरकानुनी रुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति श्रीमती कल्पना उप्रेती शर्मासमेतको नाममा राखेको स्रोत नखुलेको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ मात्र साविक भ्रष्टाचार निवारण बमोजिम प्रतिवादी शर्माका श्रीमती कल्पनालाई प्रतिवादी कायम गरी उक्त सम्पत्ति जफत हुन मागदाबी लिइएको अख्तियारले जनाएको छ ।
नेपाल बैंकका शाखा प्रबन्धक कोइरालालाई तोकियो बिगोसहित ६ वर्ष जेल सजाय
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालाको सजाय निर्धारण गरिएको छ । बुधबार विशेष अदालतका न्यायाधीशहरू खुसिप्रसाद थारू, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई ५४ लाख ८४ हजार रुपैयाँ बिगो र उति नै जरिवाना तोकेको हो । साथै उनलाई ६ वर्ष एक महिना कैद सजाय तोकिएको छ ।
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले अख्तियारको मागबमोजिम नै उनलाई सजाय भएको जानकारी दिनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोइरालामाथि बैंकको सिस्टम हृयाक गरेर बैंकमा जम्मा गर्नुपर्ने ब्याज आफ्नो खातामा जम्मा गरी भ्रष्टाचार गरेको आरोप लगाएको थियो । उनीविरुद्ध अख्तियार ०७७ असार ३१ मा मुद्दा दर्ता गरेको थियो ।
प्रहरी जवानसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासीका तत्कालीन प्रहरी जवान सञ्जीव धवलसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले सेवाग्राहीबाट एक लाख ७५ हजार रुपैयाँ घुस लिएको ठहर गर्दै अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारले मुद्दा दायर गरेका अन्यमा चितवनको भरतपुर महानगरपालिका-८ का अर्जुनप्रसाद शर्मा र सोही महानगरपालिका–२१ का इन्द्रलाल श्रेष्ठ छन् । उनीहरूसँग अख्तियारले एक लाख ७५ हजार रुपैयाँ बिगो दाबी गरेको छ ।
जिसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, १८ लाख बिगो दाबी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० का खीलेन्द्र सिंह जिसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । खीलेन्द्रले घुससम्बन्धी मुद्दामा अदालतमा गई बयान फेरेका कारण उनीविरुद्ध विशेष अदालत काठमाडौंमा बुधबार अख्तियारले मुद्दा दायर गरेको हो ।
दायर गरिएको मुद्दामा अख्तियारले खीलेन्द्रसँग १८ लाख रुपैयाँ बिगो दाबी गरेको छ । वादी नेपाल सरकार प्रतिवादी रुपन्देहीको बुटवलस्थित इलाका प्रहरी कार्यालयका तत्कालीन कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसी भएको घुस लिई भ्रष्टाचार गरेको मुद्दामा खीलेन्द्रलाई साक्षीको रूपमा पेस गरिएको थियो ।
उनले अख्तियारका अनुसन्धान अधिकृतसमक्ष गरेको कागजको प्रतिकूल हुनेगरी विशेष अदालत काठमाडौंसमक्ष वकपत्र गरेपछि उनीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच