
काठमाडौं । आठौँ रियलस्टेट मेला बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । मेला उद्घाटन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले जग्गा हदबन्दीको समस्या समाधान गरिने बताउनुभयो । जग्गा हदबन्दीका कारण विकासका ठूला आयोजनामा असर परेको भन्दै उहाँले घरजग्गा कारोबारलाई सहजीकरण गर्न मन्त्रालयले कानुनी सुधार गरिरहेको बताउनुभयो ।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले चालु आर्थिक वर्षको पाँच महिनामा १५ प्रतिशत पनि पुँजीगत खर्च नभएको भन्दै अर्थतन्त्र चलायमान बनाउन विकास निर्माणलाई तीव्रता दिँदै पुँजीगत खर्च बढाउनुपर्ने आवश्यकता रहेकोे बताउनुभयो । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले घरजग्गा कारोबारलाई चलायमान बनाउन सके अर्थतन्त्र सबल बन्ने भन्दै घरजग्गा कारोबार अझ व्यवस्थित गरी खुलारूपमा काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
आयोजक घरजग्गा तथा आवास विकास संघका प्रथम उपाध्यक्ष दिपक कुँवरले घरजग्गा व्यवसाय सुस्ताउँदा निर्माण सामग्रीको व्यवसायमा पनि असर परेको भन्दै कारोबारलाई सहजीकरण गरिदिन मन्त्रीको ध्यानाकर्षण गराउनुभयो । कित्ताकाट खुलेपछि केही सहज भए पनि हदबन्दी समस्याका कारण घरजग्गा कारोबारले गति लिन नसकेको उहाँको भनाइ थियो । संघका अध्यक्ष विदुर धमलाले नेपालमा घरजग्गा व्यवसायीलाई हेर्ने दृष्टिकोण नकारात्मक रहेको भन्दै व्यवसायीप्रतिको सोच बदल्नुपर्ने बताउनुभयो । कम्पनी खडा गरेर कारोबार गर्ने व्यवसायी र अनौपचारिक कारोबार गर्ने व्यवसायीलाई एउटै आँखाले हेर्न नहुने उहाँको भनाइ थियो । पुस १५ गतेसम्म सञ्चालन हुने मेलामा फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावट सामान, सिसा, काठ, ढुंगालगायत निर्माण सामग्रीका स्टल रहेका छन् । मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेन्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, इञ्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक र बिमा कम्पनीको सहभागिता रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच