सरकारको कामकारबाहीप्रति नेकपा एसको असन्तुष्टि

देश र जनताको पक्षमा परिणामुखी काम गर्न नसकेको आरोप

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)ले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएको छ ।

ललितपुरमा शुक्रवार सम्पन्न पार्टीको केन्द्रिय कार्य समिति बैठकले सरकारको कामकारबाही सन्तोषजनक नरहेको निष्कर्ष निकालेको हो । बैठकले परिणाममुखि कार्य गर्न पनि सरकारलाई अग्रसर हुन आग्रह समेत गरेको छ ।

सरकारलाई देश र जनताको पक्षमा परिणामुखि काम गर्नका लागि अग्रसर हुन आग्रह गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

बैठकले सहकारी क्षेत्रमा देखिएको गैर कानूनी कार्यमा संलग्न व्यक्ति तथा संस्थाहरुलाई कानूनी कारबाही गर्न पनि सरकारलाई सचेत गराएको छ । त्यसैगरी वित्तीय नीतिमा सुधार गर्दै आम उपभोक्ता र लगानीकर्ताहरुलाई उत्साहित बनाउने तथा उत्पादन वृद्धिमा ध्यान दिन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

कृषि क्षेत्रको सुधार गरी मुलुकमा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने दिशातर्फ कदम चाल्न पनि सरकारलाई बैठकले सुझाव दिएको प्रवक्ता खतिवडाले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो पार्टी परिणाममुखि कार्य गर्नका लागि अग्रसर हुन सरकारलाई आह्वान गर्दछ । र, प्रधानमन्त्रीले अब उप्रान्त नयाँ गतिका साथ लोकतन्त्रको सुदृढीकरण गर्दै जनमुखि दिशामा सरकार सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएकोमा स्वागत गर्दछ । नेपालको तीन खम्बे अर्थनीति मध्ये एउटा खम्बाको रुपमा रहेको सहकारी क्षेत्र आज दिनानुदिन संकटग्रस्त बन्दै गएकोमा हाम्रो पार्टी गम्भिर चिन्ता व्यक्त गर्दछ । कतिपय सहकारी संस्थाले अधिकारको दुरुपयोग गरेको र बचतकर्ताको निक्षेपको अपचलन गरी जनताको ठूलो धनराशी आर्थिक तथा वित्तीय अपराध गरेको दुःखद् घटनाहरु सार्वजनिक भईरहेको छ । हाम्रो पार्टी सहकारी क्षेत्रमा आर्थिक अनुशासन कायम गर्न र जनताको सम्पत्ति डुब्न नदिन नेपाल सरकारले सशक्ति अनुगमन र नियमन गर्न तथा आवश्यक कानुनहरुको निर्माण गरी सही दिशा दिन जोडदार माग गर्दछ । र दोषीहरुलाई कारबाही गर्न माग गर्दछ । यसै सन्दर्भमा हालसालै पोखरा, चितवन तथा देशका विभिन्न मागमा संचालित सहकारीहरुले वचतकर्ताहरुको अर्बौंको रकम दुरुपयोग गरेको प्रति यो बैठकको गम्भिर ध्यानाकर्षण भएको छ । यी र यस्तै प्रकारका सहकारी क्षेत्रमा गरिएको गैरकानुनी कार्य गर्ने संस्था तथा व्यक्तिहरुलाई निष्पक्ष छानविन गरी यथाशिघ्र कानूनी कारबाही गर्न सरकारसँग माग गर्दछ । विप्रेशन तथा पर्यटनको क्षेत्रमा आएको वृद्धिसँगै मुलुकको अर्थतन्त्रका सूचकहरुमा थोरै सुधारको संकेत देखिएको भएतापनि व्यापारमा आएको गिरावट, कर्जा न्यून हुन गई तरलतामा भएको वृद्धि, पूँजी बजारमा देखिएको अस्थिरता र मुद्रा स्फितिले उपभोक्ता र लगानीकर्ताहरु विश्वस्त हुन नसकेको अवस्थालाई ध्यान दिई सरकारको वित्त नीतिमा अझै सुधारको आवश्यक्ता देखिएको हुँदा यो बैठक उपभोक्ता र लगानीकर्ताहरुलाई उत्साही बनाउने तथा उत्पादन वृद्धि गर्नेगरी सरकारी वित्त नीति बनाई अर्थतन्त्र चलायमान बनाउने दिशामा जान सरकारलाई आह्वान गर्दछ । किसानहरुले सरकारबाट पाउनुपर्ने दुधको भुक्तानी पाउन नसकेकोले कृषक तथा व्यवसायीहरुलाई निराश बनाएको देखिन्छ । जसले आन्तरिक अर्थतन्त्रमा शिथिलता ल्याएको छ । सो रकम तत्काल भुक्तानी गर्ने व्यवस्था गर्न यो बैठक सरकारसँग जोडदार माग गर्दछ । साथै नेपालको कृषि क्षेत्रको सुधार गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न, देशको आर्थिक वृद्धि गरी रोजगारी सृजना गर्न तथा व्यवसायिक कृषि अर्थतन्त्रको पूर्वाधार तयार गर्नका लागि नेपाल सरकारले जनताले उत्पादन गरेका उपजहरुको न्युनतम समर्थन मूल्य तोकेकोमा सो मूल्यमा खरिद गरी, भण्डारण गरी , प्रशोधन गरी ब्रान्डिङ तथा बजारीकरण गर्ने व्यवस्था मिलाउन जोडदार माग गर्दछ ।’

नेकपा एसले जनताले उत्पादन गरेका कृषि उपजहरुको न्युनतम समर्थन मूल्य तोकेकोमा सो मूल्यमा खरिद गरी त्यसको बजारीकरणको आवश्यक्ता व्यवस्था मिलाउन सरकारसँग दबाब पनि दिएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?