नवराज शिवाकोटी/हिटा
दोलखा । दोलखा महोत्सवको दिव्य दृष्टि, आर्थिक क्रान्तिको नयाँ सृष्टि भन्ने नाराका साथ दोलखा उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारदेखि बृहत् दोलखा महोत्सव-२०८० सुरु भएको छ ।
महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्रमा सुधार आइरहेको बताउनुभयो । बृहत् दोलखा महोत्सव शुक्रबार सदरमुकाम चरिकोटमा उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । आफूले सत्ता सम्हाल्दा देशको अर्थतन्त्रका सूचकहरू ठीक नभएकोमा अहिले विदेशी मुद्रा सञ्चिति, पर्यटक आगमन, घरजग्गा कारोबारलगायतका सबै सूचक सकारात्मक बन्दै आएको उहाँको जिकिर थियो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘मैले एक वर्षअघि सत्ता सम्हाल्दा नेपाली अर्थतन्त्र डुबिसकेको भाष्य थियो । राजस्व घट्दो क्रममा थियो, बैंकको ब्याजदर बढ्दो क्रममा थियो । तीन महिनाको आयात धान्न पुग्ने वैदेशिक मुद्रा सञ्चितिमात्र थियो । तर, एक वर्षपछि अहिले अर्थतन्त्रमा सुधार देखिएको छ । राजस्व बढ्न थालेको छ । रेमिट्यान्स वृद्धि भएको छ । बैंकको ब्याजदरमा कमी आएको छ । पर्यटक संख्या बढेको छ । विदेशी मुद्रा सञ्चिति उल्लेखनीयरूपमा बढेको छ ।’
राष्ट्रिय महत्वका दीर्घकालीन योजनालाई विशेष प्राथमिकताका आधारमा अघि बढाइने सरकारको नीतिअनुरूप चीन तथा भारत जोड्ने लामाबगर फलाक नाका खोल्न तामाकोशी कोरिडोर सडकलाई क्रमशः अगाडि बढाइने उहाँले बताउनुभयो । चीनदेखि दोलखा हुँदै भारत जोड्ने राजमार्ग निर्माणलाई सरकारले दीर्घकालीन योजनामा राखेको समेत उहाँले बताउनुभयो । त्यसैगरी दोलखामा निर्माणाधीन फिल्मसिटी निर्माण कार्य अघि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले निर्माणाधीन भीमेश्वर रंगशाला निर्माणमा सहयोग गर्ने आश्वासन दिनुभयो । निजी क्षेत्र तथा सरकारको सहकार्यबाटै अर्थतन्त्र चलायमान हुने भएकाले बृहत् दोलखा महोत्सवले दोलखाको अर्थतन्त्र चलायमान बनाउने उहाँको भनाइ थियो ।
पुस लागेपछि आफूले काम गर्ने तरिकामा परिवर्तन गरी सिंहदरबार केन्द्रित भई काम गर्ने भने पनि परिवर्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका रितबहादुर खड्काको जिल्ला भएकाले आफू दोलखा महोत्सवको उद्घाटन गर्न आएको उहाँले जानकारी गराउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा अहिले पर्यटक आगमनमा वृद्धि भएको, विप्रेषणमा सुधार आएको र वैदेशिक मुद्रा सञ्चिति बढेको भन्दै अर्थतन्त्र चलायमान बनाउन सरकारले निजी क्षेत्रसँग हातेमालो गरी अघि बढ्नुपर्ने बताउनुभयो ।
पूर्वमन्त्री पार्वत गुरुङले मुलुकको आर्थिक अवस्था सुधारका लागि भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्नेमा जोड दिनुभयो भने पूर्वसांसद जीपछिरिङ लामाले मुलुकको आर्थिक विकासका लागि दोलखामा जलविद्युत्को राम्रो सम्भावना रहेकाले सरकारले लगानी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । बागमती प्रदेश सरकारका पूर्वमन्त्री विशाल खड्काले जिरीमा विमानस्थल आवश्यक भएको भन्दै विमानस्थल निर्माणका लागि सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । १० दिने बृहत् दोलखा महोत्सव उद्घाटनकै अवसरमा जिल्लाका स्थानीय सरकार तथा राजनीतिक दलतर्फबाट प्रधानमन्त्री दाहाललाई जिल्ला समन्वय समिति दोलखाका संयोजक बर्जुराम घतानीले दोलखाका विकासका आवश्यकता तथा सम्भावनाबारेको ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको थियो । उद्घाटन समारोह दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठको सभापतित्वमा भएको थियो । महोत्सवमा एक सय ५० स्टल रहेको आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय उत्पादन, राष्ट्रिय कलाकारको प्रस्तुति, विभिन्न जातजातिका सांस्कृतिक झाँकीका साथै विभिन्न मनोरञ्जनात्मक खेल पनि सञ्चालन हुने बताइएको छ । महोत्सवले दोलखाको आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच