राष्ट्रियताको सम्वर्धन र समुदायको पहिचानमा नै देशको समृद्धि निर्भर हुन्छ : प्रधानमन्त्री

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियताको सम्वर्धन र समुदायको पहिचानमा नै देशको एकता, स्वाधिनता र समृद्धि निर्भर हुने बताउनुभएको छ ।

आईतवार काठमाडौंको टुँडिखेलमा आयोजित तमु ल्होसार महोत्सव–२०८० लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रियताको संवद्र्धन र समुदायको पहिचानमा नै देशको एकता, स्वाधिनता, समृद्धि र राष्ट्रिय हित निर्भर रहने बताउनुभएको हो । उहाँले नेपालका मौलिक चाडपर्वहरुले नेपालीहरुका बीचमा सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बताउने बताउनु भयो ।

उहाँले देशको विशेषता र मौलिकताको आत्मसातिकरणसहित संघीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नुसबैको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले ल्होसार लगायत सबै सांस्कृतिक पर्वहरुलाई राष्ट्रिय संस्कृतिको रुपमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विभिन्न जाति एवम् समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, भेषभुषा र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘ल्होसार राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व पनि हो । नेपालमा यसको ऐतिहासिक एवं वैज्ञानिक महत्व बोकेका थुप्रै पर्व छन् । तसर्थ राज्यले ल्होसार लगायत सबै सांस्कृतिक पर्वहरुलाई राष्ट्रिय संस्कृतिको रुपमा प्रवद्र्धन गर्नुपर्दछ । विभिन्न जाति एवं समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, नीति, भेषभुषा र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको छ । लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधिनता, अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गर्न अक्षुण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता र हाम्रो राष्ट्रिय पहिचान पनि हो । यही विशेषतालाई आत्मसात गर्दै देशमा विद्यमान चुनौतिहरुको सम्बोधन गर्दै समुन्नतिको राष्ट्रिय आकांक्षा प्राप्तिका निम्ति सरकार निरन्तर प्रयत्नशील रहँदै आएको छ । नेपाली समाजले विकास गरेका आफ्नै मौलिक विचार नेपाली राष्ट्रियताको जगमा उभिएको छ । राष्ट्रियताको सम्वद्र्धन र समुदायको पहिचानमा नै देशको एकता, स्वाधिनता, समृद्धि र राष्ट्रिय हित निर्भर रहन्छ । यस्ता मौलिक चाडपर्वहरुले नेपालीबिच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउँछ । तसर्थ देशको विशेषता र मौलिकताको आत्मसातिकरण सहित संघीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु हामी सबैको साझा जिम्मेवारी हो ।’

प्रधानमन्त्री दाहालले राष्ट्रिय एकतासहितको समृद्धिको लक्ष्य प्राप्त गर्नु राष्ट्रिय कार्यभार भएको बताउनु भयो । उहाँले नेपाल पूर्व, पश्चिम, उत्तर र दक्षिणको प्रमुख सभ्यताहरुको संगमस्थल भएको उल्लेख पनि गर्नुभयो । उहाँले सबै जाति, जनजातिको आ–आफ्नो परम्परा, रितिरिवाज र संस्कृतिहरु रहेको र सबै संस्कृतिहरुको समन्वयता र एकीकृत स्वरुप नै नेपालको राष्ट्रिय संस्कृति भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई राष्ट्रियताको मेरुदण्डको रुपमा आत्मसात गरेको छ । संविधानको यही मर्म र भावनालाई गहिरोसँग आत्मसात् गर्दै राष्ट्रिय एकतासहितको समृद्धिको लक्ष्य प्राप्त गर्नु हाम्रो राष्ट्रिय कार्यभार बन्न गएको छ । नेपाल पूर्व, पश्चिम, उत्तर, दक्षिणको प्रमुख सभ्यताहरुको संगमस्थल पनि हो । यहाँ बसोवास गर्ने सबै जाति, जनजातिको आ–आफ्नो भिन्न–भिन्न परम्परा, रितिरिवाज र संस्कृतिहरु रहेका छन् । यि सबै संस्कृतिहरुको समन्वयता र एकीकृत स्वरुप नै नेपालको राष्ट्रिय संस्कृति हो । नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडि ल्होसार परम्परा र ल्होसार संस्कृतिपनि हो । यो ल्होसार परम्परा विश्वकै सबभन्दा पुरानो सांस्कृतिक परम्परा हो । मानव जातिले पशुपालन र कृषिको शुरुवात गरेदेखि नै प्रकृतिको स्वभाव र गतिको नियम पत्ता लगाउने प्रयत्न गरेको पाइन्छ । यो परम्पराले धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक र स्वस्थ जिवनको क्षेत्रमा समेत विशेष महत्व राख्दछ ।’

प्रधानमन्त्री दाहालले टुडिखेलमा तमू ल्होसार मनाएकाहरुलाई साँझमा कुनै अवरोध नगर्न सुरक्षा निकायलाई निर्देशन समेत गर्नुभयो । उहाँले कार्यक्रमलाई सरकारले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?