नेपाली कांग्रेस पनि सरकारमा छ । सरकारमा भएर पनि नेपाली कांग्रेसको भूमिका हाल सत्तापक्षीयको जस्तो बन्न सकेको छैन भन्ने टिप्पणी पर्याप्त सुन्ने गरिन्छ । नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने केही मन्त्रीहरूको काम सार्वजनिक रूपमा राम्रो देखिए पनि र उनीहरूले समुचित ढंगले मन्त्रालयमा साझेदारी जनाएका छन् । तर, कांग्रेस केही मन्त्रीहरूसहित अरू मन्त्रालयको जिम्मेदारी लिएका अन्य पार्टीका मन्त्रीहरूल गठबन्धनको पूर्वपरम्परालाई निरन्तरता दिएकोे जस्तोमात्र भएको छ । ठूलो पार्टीको हैसियतले सरकारमा नेपाली कांग्रेसको नेतृत्व हुनुपथ्र्यो त्यसो हुनसकेको छैन भन्ने गुनासो कांग्रेसजनले गरिरहेको अवस्था छ । बाधा–व्यवधान बनेर अनेकौं समस्या आए पनि कांग्रेसले तिनलाई पन्छाउन नसम्क्दा यस्ता गुनासा आएको स्पष्ट छ । जसलाई नेपाली कांग्रेसको सबैभन्दा ठूलो कमजोरी मान्नुपर्ने हुन्छ । सम्भवतः नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा बस्नेहरू र पार्टी पंक्तिले यिनै गुनासाका आधारमा सरकारका कमजोरीहरू केलाउन थालेको छ । सरकारको आलोचना गर्दै पार्टी केन्द्रीय समितिको बैठकले केही सुझाबहरू पनि दिएको छ । तर पनि सरकारमा आफ्नो संलग्नता र सहभागिता गुम्ला भन्ने चिन्ता कांग्रेसको नेतृत्वलाई देखिन्छ ।
यो सरकार बनेको दश महिना भयो । पुष्पकमल दाहाल प्रधानमन्त्री बन्नुभएको एक वर्ष पूरा भयो । राजनीति गरेपछि शीर्ष पदमा पुग्ने चाहना हुनुलाई अस्वाभाविक भन्न मिल्दैन । तर, केही राजनीतिज्ञहरूमा जसरी भए पनि आफू पदमै रहिरहनुपर्छ भन्ने भावना विकास भएको छ । त्यसले गर्दा देश नै एक प्रकारले अप्ठ्यारोमा पुगेको दृष्टान्त यसअघि पनि नदेखिएका होइनन् । त्यस अर्थमा यस सरकारलाई मात्र दोष दिनु स्वाभाविक हुँदैन । यसलाई राजनीतिक संस्कारकै निरन्तरता मान्नुपर्ने विवश अवस्थामा हामी नेपालीहरू छौं । २०४६ सालको प्रजातन्त्रपछिको पहिलो निर्वाचनकै बेलादेखि यस्तो गलत संस्कारको विकास हुन पुग्यो । आफ्नै सहकर्मी र विदेशीशक्ति, दरबारीया शक्ति सबै मिलेर राजनीतिका सन्त नेता कृष्णप्रसाद भट्टराईलाई हराएको कालो इतिहास त्यसबेला नै लेखिन पुगेको थियो ।
त्यसपछि नेपालको राजनीति कहिल्यै संग्लिन सकेको छैन र सधैं धमिलो राजनीतिक संस्कार परम्परा बनेर जरा गाडेर बसेको छ । त्यसयताको इतिहास त अझै भद्रगोल बन्यो, सशस्त्र विद्रोहले धनजनको ठूलो क्षति गरायो । त्यसबेला जनतामाझ बाँडिएका अनेकौं सपना थिए ती कुनै पनि पूरा हुने कल्पना गर्न नसकिने अवस्थाको सिर्जना भएको छ ।
स्वार्थ, अनियमितता र भ्रष्टाचार अनियन्त्रित रूपमा बढेर गएको छ । तिनै आपराधिक कार्यहरू राजनीतिक संस्कारका रूपमा परिभाषित बन्न पुगेका छन् । यही पृष्टभूमिमा हेर्दा राजनीतिको कालो बादल उज्यालोमा परिणत होला भन्ने अवस्था कहिँ कतै पनि देखिएको छैन । नेपाली जनताले यसैलाई धिक्कारेर बाँच्नु परिरहेको छ । यसबाट सिर्जना हुन पुगेका अनेकौं किनाराका प्रभाव अनेकौं छन् ।
नेपालको उर्बर जमिन बाँझिनु र ऊर्जावान् नेपालीहरूको ठूलो संख्या विदेशिनु यसको ज्वलन्त प्रमाण हो । दक्ष जनशक्तिसमेत पलायन भइरहेको छ । श्रम गर्न नसक्ने, कुनै सीप नभएका व्यक्तिहरूमात्र यहाँ बस्नु परिरहेको छ । रोजगारी नपाएका कारण नै तिनले विदेशिनु परेको हो । निर्वाचनमा सबैभन्दा बढी स्थान जितेर सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसले अहिले धेरै सिटले पछि परेर तेस्रो स्थानमा रहेको राजनीतिक शक्तिको पछि लागेर सत्तामा जानुपरेको अवस्था वास्तवमा नेपाली राजनीतिको एउटा हास्यास्पद र परिदृश्य हो । नेपाली कांग्रेसले सरकारमा जान्न पनि भन्न सकेन मन्त्री खान्न पनि भन्न सकेन, बरू सरकारमा जानका लागि अनेकौं प्रयास गर्यो । यो एउटा उसको ठूलो आलोच्य पक्ष हो । हुन त अर्को ठूलो दल नेकपा एमाले मुख बाएर बसेको छ । यदि कांग्रेस सरकारबाट हट्नासाथ वर्तमान प्रधानमन्त्रीलाई टेको दिन ऊ तयारी अवस्थामा छ ।
त्यसभन्दा पनि आलोच्य पक्ष त निर्वाचनमा गठबन्धन गरेर जानुलाई लिनुपर्ने हुन्छ, जसले गर्दा कतिपय निर्वाचन क्षेत्रहरूमा आफ्नो राम्रो पकड हुँदाहुँदै ती ठाउँ गठबन्धनका मित्रशक्तिहरूलाई छोड्नुपरेका कारण कांग्रेसको सिट घटेको तर्क पनि बलियो छ । गठबन्धनको मित्रशक्ति नेकपा माओवादी केन्द्रले निर्वाचन सकिनासाथ दोस्रो ठूलो शक्ति एमालेसँग हातेमालो गरेर सरकारमा जानाले कांग्रेस हेरेको हे¥यै भयो । तर प्रचण्डले पुनः कांग्रेसको साथ लिँदासम्ममा सभामुखलगायत महत्वपूर्ण केही पद गुमिसकेका थिए । अहिले पनि नेपाली कांग्रेस आफ्नोभन्दा एक तिहाइ कम पद जितेको पार्टीको अगुवाइमा सरकारमा छ । आफ्नै पार्टीको आत्मसमीक्षामा सरकारले जनतामा विश्वास जगाउन सकेन भन्ने निष्कर्षमा पुगेको छ । यथार्थ त यही हो तर यस कटु यथार्थभित्र पनि अनेकौं कष्ट र पीडाहरू मिसिएका छन् ।
यो भनिरहनै नपर्ने कुरा हो । पहिले नेकपा छँदा केपी ओली र प्रचण्डबीच समयसीमा तोकेर पालोफेरोमा प्रधानमन्त्री बन्ने सहमति भएको र ओलीले पछि प्रचण्डलाई छोड्न नमानेपछि पार्टी नै छिन्नभिन्न हुन पुगेको थियो । अहिले पनि पार्टीहरूबीच यस्तो सहमति भएको छ भनिएको छ तर त्यसबेला पनि रुवाबासी नहोला भन्ने छैन । पहिले पनि नेपाली जनताको भरोसा भएका र भरोसायोग्य हुने विश्वास दिएका दलहरूले जनताको यो भावनालाई जीवित राख्न आफूलाई अझै जाग्रित गराउनै पर्छ, क्रयविक्रयको राजनीति भइरहने हो भने आफू किनारामा बसेर रमिते बनी अरूलाई सल्लाह–सुझाव दिइरहनुपर्ने अवस्थाले कुनै भरोसा दिन र परिवर्तन गर्न सक्दैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच