नेपालको राजनीति बढी महत्वाकांक्षाले बिफल बन्दै आएको छ । हुन त राजनीति महत्वाकांक्षा राख्नेहरूले नै गर्ने हो । यथास्थितिवादी सोच राख्नेबाट राजनीति हुन सक्दैन । सेवा गर्छु, परोपकार वा धर्म आर्जन गर्छु भन्नेहरूबाट पनि राजनीति हुनसक्ने कुरै भएन । त्यस्ता केही राजनीतिक पात्रहरू दुई-तीन दशकदेखि गुमनाम रहिरहेको देखिएको छ । २०४७ सालको अन्तरिम सरकारमा रहेका र त्यसपछिको पहिलो आमनिर्वाचनबाट विजयी भई सरकारमा संलग्न भएका केही व्यक्तिहरू हालसम्म बाँचिरहनु भएको छ तर उहाँहरूको स्थितिबारे कसैलाई जानकारी छैन र सहकर्मी पनि उहाँहरूका बारेमा जानकारी राख्ने चाहना गर्नुहुन्न । उहाँहरू व्यस्त राजनीतिमा संलग्न हुनुहुन्छ, फुर्सद पाउनुहुन्न । यो राजनीतिको स्वभाव हो भन्ने पुष्टि हुँदै आएको छ ।
राजनीति व्यापार होइन, पेशा पनि होइन तर आयआर्जन गर्नेमा बढी राजनीति गर्नेहरू नै छन् । केही व्यक्तिले डेढ दुई दशक पहिलेतिर जोगी हुन राजनीति गरेको हो र ? भनेका थिए । पछि तिनीहरू कानुनको फन्दामा परे वा पारियो । तिनको राजनीतिक जीवन समाप्त भयो । कानुनले तोकेको सजाय भोगेपछि राजनीतिमा फेरि फर्कन सकेनन् । यहाँ सन्दर्भ हो नेकपा एमालेको राजनीति । नेपालको राजनीतिमा एमालेको महत्वाकांक्षा चुलीमै रहेको छ । हुन त अरूमा पनि यस्तो प्रवृत्ति नभएको होइन तर महत्वाकांक्षाको चास्नीमा चुर्लंम डुब्ने र सत्ता पाएपछि सहमतिको राजनीतिमा आउँदै नआउने पार्टी एमाले आफ्नै कारणले बेला-बेलामा थचारिन पुगेको छ भने कहिलेकाहीँ बीचैबाट केही पदहरू जिप्ट्याउन पनि सफल भएको छ ।
स्वार्थ पूरा गर्न आफ्नै सहकर्मी, सहकार्यमा रहेका दलहरू र आफैंलाई सत्तामा पुर्याउने अभिभावकीय भूमिकामा रहेका पार्टीहरूलाई पनि धकेलिदिन पछि पर्दैन । उसका पहिलेदेखिका व्यवहारलाई अघि सार्ने हो भने धेरै दृष्टान्त देख्न सकिन्छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारबाट बहिरगमन हुनासाथ एमालेलाई सरकरामा पु¥याएको थियो । माधवकुमार नेपाललाई नेपाली कांग्रेसले समर्थन गरेर प्रधानमन्त्री बनायो तर रामचन्द्र पौडेललाई प्रधानमन्त्री बन्नबाट सत्र पटकसम्म रोक्ने काम तत्कालीन एमालेले गरेकै हो । नेपालको इतिहासमा राजनीतिक दलहरूबाट भएका ठूला कमजोरीमध्ये धेरै घटना हुनसक्छन् जसमा एमाले पटक-पटक चुक्दै आएको छ । गोरु नाङ्गो देखेर हामीलाई लाज लाग्दैन र बयलगाडा चढेर अमेरिका पुग्न सकिँदैन भन्नेजस्ता एमालेका अनेकौं उदाहरण गर्न मिल्ने भनाइ संग्रह गर्दै जाने हो भने त्यसको संख्या धेरै छ ।
तर, मौकको फाइदा लिनुपरेको खण्डमा आफूले त्यसरी गालीगलौज गर्दै आएका राजनीतिक शक्तिसँग सहकार्य गर्ने गरेको छ । वर्तमान संविधान निर्माण भएपछि लगत्तै २०७४ सालमा भएको निर्वाचनमा वामपन्थी पार्टीहरूको एकता र एकीकरण भयो । त्यसो हुँदा दुई तिहाइको निकट स्थान संसद्मा नेकपालेकै भएको थियो । सरकारमा पालोफेरो गर्न सहमतिमा पूर्वएमालेका केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभयो तर आफ्नो पालो सकिएपछि उहाँ पूर्वमाओवादीलाई प्रधानमन्त्री पद छोड्न तयार हुनुभएन जसले गर्दा नेकपा पुनःविभाजित भयो । माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्कियो र एमालेबाट विभाजित भएर एकीकृत समाजवादी पार्टी बन्नपुग्यो ।
त्यसपछि पनि सरकारमा रहिरहन एमालेले दुई पटक प्रतिनिधिसभा विघटन नै गर्यो भने सांसदहरूको किर्ते हस्ताक्षर गरेर संसद्मा बहुमत देखाउने प्रयास गर्यो । अरू सबै राजनीतिक शक्तिहरू मिलेर न्यायपालिकाको समेत सहयोगमा एमालेलाई सत्ताच्युत गरेरै छाडे । त्यसपछिको निर्वाचनमा अरूले गठबन्धन गरे, एमाले दोस्रो ठूलो दल बन्नपुग्यो । त्यही बेला तेस्रो ठूलो दल माओवादी केन्द्रलाई प्रधानमन्त्री दिएर हतार-हतार आफू पनि सरकारमा गयो र केही महत्वपूर्ण पद आफ्नो पोल्टामा पार्यो । राष्ट्रपतिको पद नेपाली कांग्रेसलाई दिने प्रधानमन्त्रीको विचारमा असहमति जनाएपछि एमाले-माओवादी केन्द्रबीच छोटो समयमै वैमनस्यता पैदा भयो र माओवादी पुनः आफ्नै गठबन्धनमा फर्कियो । हाल राष्ट्रियसभाको निर्वाचनको सन्दर्भ छ । सत्ता गठबन्धनले प्रमुख प्रतिपक्षसँग पनि सहमति कायम गर्न चाहेको छ ।
सत्तागठबन्धनले एमालेका लागि सहमतिबाट केही स्थान छुट्याउने भनेकोमा एमालेले बढी सिट संख्या माग गरेकाले सत्ता र प्रतिपक्षबीच गर्ने भनिएको सहकार्य नहुने भएको छ । एमालेले बढी सिट मागेको कारण देखाई सत्तागठबन्धन सो प्रयासबाट पछि हटेको छ । नेपाली राजनीतिमा केही महत्वपूर्ण निर्णय र सहकार्यमा नेकपा एमाले नै अर्घेलो बन्दै आएको छ । यसले एकातिर पार्टी आफैंलाई हित गर्दैन भने अर्कातिर कुनै राजनीतिक पार्टीले अर्घेल्याइँ गर्ने बित्तिकै अरू सम्पूर्ण पार्टी र अन्तत्वगत्वा समग्र राष्ट्रिय राजनीति नै प्रभावित बन्न पुग्छ । राजनीति गरेर देश र जनताको हित गर्छु भन्ने राजनीतिक व्यक्ति र पार्टीहरूले समेत यसतर्फ सोच्नु उचित हुन जान्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच