मुन्धुम शिक्षालाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न किराँत समुदायको माग

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । किराँत समुदायले मुन्धुम शिक्षालाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न माग गरेको छ ।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रश्ताव राख्दै किराँत समुदायका अगुवाहरुले मुन्धुम शिक्षालाई विद्यालयको पाठ्यक्रममा राख्नुपर्ने बताएका हुन् ।

किराँत समुदायका अगुवाहरुले विधेयकमाथि संशोधन राख्दै माध्यामिक तहमा प्राविधिक शिक्षा, साधारण शिक्षा, परम्परागत शिक्षा र आदिवासी ज्ञान शिक्षाका धारमा पढाइ हुने व्यवस्था गर्नुपर्ने बताए । बैठकमा बोल्दै किराँत समुदायका अगुवा अमर तुम्वाहाङ लिम्बूले परम्परागत शिक्षा अन्तर्गत संस्कृत धारमा पढाइ हुने विद्यालयका अतिरिक्त गुरुकुल, गुम्बा, मुन्धुम/मुन्दुम/मुक्दुम, आश्रम तथा मदरसा शिक्षा लगायतका परम्परागत शैक्षिक संस्थामा अध्ययन हुने शिक्षालाई समावेश गर्नुपर्ने बताउनुभयो ।

उहाँले शिक्षणको माध्यम भाषा मातृभाषा पनि हुनुपर्ने बताउनु भयो । उहाँले गणित, विज्ञान र कम्युटरको शिक्षण अंग्रेजीमा पढाउने बाध्यकारी व्यवस्था गर्नु नहुने पनि बताउनु भयो ।

बैठकमा बोल्दै किराँत राई यायोख्याका कार्यबाहक अध्यक्ष जनक राईले पनि माध्यामिक शिक्षामा पढाइ हुने धारमा मुन्धुम÷मुन्दुम÷मुक्दुमलाई समावेश गर्नुपर्नेमा जोड दिनुभयो । मातृभाषाको संरक्षण गर्नका लागि बालबालिकाहरुलाई मातृभाषामै शिक्षा दिनुपर्ने बताउनु भयो । मातृभाषामा पढाउन नसकेको खण्डमा विभिन्न जातजातिका भाषा, संस्कृतिको संरक्षण हुन नसक्ने भन्दै कानून बनाउँदा यसतर्फ ध्यान पु-याउनुपर्ने बताउनु भयो ।

त्यसैगरी बैठकमा बोल्दै किराँत समन्वय समितिका संयोजक अमृतबहादुर सुनुवारले विद्यालय तहमा मुन्धुम पढाइ हुनुपर्ने बताउनु भयो । उहाँले पनि माध्यामिक तहमा आदिवासी शिक्षा सम्बन्धी पाठ्यक्रम राख्नुपर्ने बताउनु भयो ।

मातृभाषाका लागि शिक्षक दरबन्दीको पनि व्यवस्था हुनुपर्ने उहाँले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?