गाउँपालिका अध्यक्ष कुँवरद्वारा बिरामीलाई सहयोग

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । गुल्मीको मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर कुँवरले बिरामीलाई आर्थिक सहयोग गर्नुभएको छ । उहाँले स्तन क्यान्सर भई बिरामी हुनुभएकी यस गाउँपालिका वडा नम्बर – ७, भनभने टिमुरखर्क मोठकी २२ वर्षीय फुलमाया सुनारलाई आर्थिक सहयोग गर्नुभएको हो ।

अध्यक्ष कुँवरले जनप्रतिनिधि भएबापत गाउँपालिकाबाट प्राप्त गर्ने पारिश्रमिक एवम् भत्ता स्वरुपको रकम आफुले व्यक्तिगत प्रयोजनका लागि खर्च नगरेको बताउनुभयो । नेपाली काँग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएका उहाँले पालिकाबाट प्राप्त गर्ने पारिश्रमिक एवम् भत्ता बापतको रकम व्यक्तिगत प्रयोगजनका लागि खर्च नगरेर नेपाली काँग्रेस मदाने गाउँपालिकालाई दिने घोषणा गरेको बताउनुभयो ।

नेपाली काँग्रेस मदाने गाउँपालिका सभापति समेत रहनुभएका कुँवरले पालिकाबाट पाउने सबै पारिश्रमिक एवम् भत्ता नेपाली काँग्रेस मदाने गाउँपालिकालाई प्रदान गरेसँगै नेपाली काङ्ग्रेस मदाने गाउँपालिकाले गरिब, दीन दुःखी, बिरामी र असहायलाई आर्थिक सहयोग गर्दै आएको सचिव राजेन्द्र विष्टले बताउनुभयो ।

आर्थिक अभावका कारण फुलमायाको उपचारमा निकै कठिनाइ देखिएको थियो । फुलमायाको उपचारका लागि मदाने गाउँपालिका वड नम्बर – ६ पुर्कोट दहका वडा सदस्य बसन्त कुँवरले अभियान चलाउनु भएसँगै विभिन्न क्षेत्रबाट उपचारको लागि आर्थिक सहयोग संकलन भइरहेको छ । त्यसैक्रममा फुलमायाको उपचारको लागि नेपाली काँग्रेस मदाने गाउँपालिकाले ४० हजार रुपियाँ सहयोग गरेको छ ।

नेपाली काङ्ग्रेस मदाने गाउँपालिका सभापति एवम् मदाने गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुँवर, मदाने गाउँपालिका वडा नम्बर – ७ का वडाअध्यक्ष सन्तोष केसी,नेपाली काङ्ग्रेस मदाने गाउँपालिका सचिव राजेन्द्र विष्टलगायतले भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पुगेर बिरामीको अवस्था बुझ्दै सो सहयोग रकम हस्तान्तरण गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?