पुष्पकमल दाहालको शासनकालको भ्रष्टाचार र अनियमितता सम्बन्धी गम्भीर विषयमा प्रश्न गर्दा गणतन्त्रविरुद्धको हमला हो भन्ने निष्कर्ष सार्वजनिक हुन्छ ? शेरबहादुर र खड्गप्रसाद ओलीको शासनकालमा भए/गरेका अनियमितता र भ्रष्टाचारको विषयको उठान गरे पनि गणतन्त्रप्रतिको हमला हुन्छ । साथै यिनका छोराछोरी, श्रीमतीहरूको उठाउने धन्दा र विलासी जीवनबारे प्रश्न गरे पनि गणतन्त्रविरुद्धको हमला हुने जुन फर्मुला प्रतिपादन भएको छ त्यो भ्रष्टाचार प्रबद्र्धनको प्रमुख सूत्र हो । यो राजतन्त्रकालभन्दा पनि भ्रष्ट र जनताप्रति गैरजवाफदेही शासनको निरन्तरता भनेको जनताको गरिबी, अभाव, बेरोजगारी जस्ता समस्या अझ गम्भीर बन्दैजाने प्रवृत्तिको निरन्तरता हो । के भ्रष्टाचार र गणतन्त्र पर्यायवाची शब्द हुन् ? किमार्थ होइनन् । यी परस्परविरोधी शब्द हुन् ।
गणतन्त्रको उपहार भनेको निष्पक्षता, समानता, न्याय र प्रतिस्पर्धामुखी छनौट प्रक्रिया हो न कि भ्रष्टाचार, परिवारवाद, कुशासन ? नेताहरू र तिनका परिवार वा उनीहरूसँग संबद्धबाट भए/गरेका भ्रष्टाचार, अनियमितासँग गणतन्त्रको कुनै साइनो छ ? निश्चित रूपमा छैन । त्यसो हो भने भ्रष्टाचारको विरोध गर्दा कसरी र किन गणतन्त्र खतरामा पर्छ ? अब यो सोच, चिन्तनलाई चिर्ने शक्ति भ्रष्टाचारको विरोधमा मात्रै सीमित नभएर सशक्त विद्रोहसम्म पुग्नैपर्छ । गणतन्त्र कमजोर जनताका कारणबाट भएको किमार्थ होइन । कुशासन र भ्रष्टाचारबाट भएको छ ।
अनियमितता, भ्रष्टाचार, परिवारवादको वर्चस्व शासनमा सधैं रहिरहने त्यसको विरोधलाई गणतन्त्रविरुद्धको आवाजका रूपमा व्याख्या र विश्लेषण गर्ने शैली र चरित्रले नै भ्रष्टाचार र कुशासनलाई मलजल गरेको छ ।
अहिले जनआक्रोशको केन्द्रबिन्दु भ्रष्टाचारका नायकहरू नै हुन् तर त्यो आक्रोशलाई गणतन्त्रविरुद्धको आक्रोश हो भनेर अहिलेका मुख्य दलहरूका नायकहरूले आफ्नो बचावट गर्छन् । यथार्थमा अहिले विरोध दल-नायकहरूको चरित्रको, जीवनशैलीको र कार्यशैलीको हो ।
अनियमितता र भ्रष्टाचारका विषयहरू सतहमा आउनासाथ पद त्याग गर्ने र निष्पक्ष छाननिको बाटो प्रशस्त गर्ने उदाहरणीय एउटा पनि नेता यो देशमा किन जन्मेनन् ? किन पद, भ्रष्टाचार र अनियमिततासँगै सती जान तत्पर हुन्छन् ? जहाँ नियुक्ति, सरुवा–बढुबा र वृत्तिविकासमा स्वच्छ प्रतिस्पर्धा हुँदैन त्यहाँ निश्चित रूपमा भ्रष्टाचार, अनियमितता, घोटाला र कुशासन अवश्यम्भावी हुन्छ । अहिलेको हाम्रो समस्या भनेको सबै क्षेत्रमा धनवाद, परिवारवाद र पार्टीवाद हावी भएकाले सबै क्षेत्रमा देखावटी प्रतिस्पर्धाभित्र अनियमितता, परिवारवाद र भ्रष्टाचारको बिगबिगी छ ।
त्यो बिगबिगीविरुद्धको आवाजलाई गणतन्त्रविरुद्धको आवाजको रूपमा सत्ताधारीहरूको व्याख्याभित्र भ्रष्टाचार, अनियमितता र कुशासन फष्टाएको छ । यहाँ पार्टीभित्र जनप्रतिनिधि बन्ने उम्मेदवार छनौटमा समेत घोटाला हुन्छ । निर्वाचन अर्को अनियमितता र भ्रष्टाचारको क्षेत्रहो । सबै संवैधानिक नियुक्ति, सरुवा-बढुवालाई समेत भागबण्डा र नजराना प्रधान बनाइएको छ । सरकारको संरचनादेखि संवैधानिक अंगका निकायको नियुक्ति कैफियतपूर्ण हुँदा सुशासनको सपनामा तुषारापात भएको छ । गणतन्त्रको प्राप्तिसँगै आमजनतामा सुशासनको सपना थियोे । सुशासनको सपनाको तुषारापात अरू कसैबाट भएको छैन ? गणतन्त्रका नायक हुँ भन्नेहरूबाटै भएको छ ।
जनआक्रोशको केन्द्रबिन्दु भ्रष्टाचारका नायक नै हुन् तर त्यो आक्रोशलाई गणतन्त्रविरुद्धको आक्रोश हो भनेर अहिलेका मुख्य दलहरूका नायकहरूले आफ्नो बचावट गर्छन् । यथार्थमा अहिले विरोध दल-नायकहरूको चरित्रको, जीवनशैलीको र कार्यशैलीको हो । गणतान्त्रिक शासनले जनतालाई सुशासनको प्रत्याभूति जहिलेसम्म दिन सक्दैन त्यो समयसम्म यो वा त्यो बाहनामा दल-नायकहरू जन-आक्रोशको ज्वालाबाट उम्कन सक्दैनन् । जनआक्रोशले दल-नायकहरूको अवस्था के हुन्छ त्यो कुरा श्रीलंकाको परिस्थितिबाट सतर्क हुन र सुशासनका क्षेत्रमा अविलम्ब जनताले अनुभूत गर्ने परिस्थिति सिर्जना गर्नुको विकल्प छैन । भ्रष्टाचारको विरोधलाई गणतन्त्रविरुद्धको हमला हो भन्ने लुच्चो फर्मुलाले अब कोही जोगिँदैनन् ।
स्वच्छ प्रतिस्पर्धाको वातावरण निर्माणका खातिर गर्ने कार्ययोजना र सुशासनको प्रत्याभूति नै एकमात्र समाधान हो । दल-नायकहरूको भ्रष्ट प्रवृत्तिले र कुशासनले शैशवकालमै गणतन्त्र भित्रभित्रै मक्किएको छ । जहिलेसम्म २०४६/०४७ पछि राज्यका महत्वपूर्ण जिम्मेवारीमा हुनेहरूको सम्पत्तिको छानविन र भ्रष्टहरू कारबाहीमा पर्दैनन् त्यो मितिसम्म गणतन्त्र कमजोर हुन्छ । गणतन्त्र र भ्रष्टाचारलाई पर्यायवाची ठान्ने शासकहरूको विकल्पविना गणतन्त्र बलियो हुँदैन । भ्रष्टहरूले आलोपालो पद्धतिले गर्ने शैलीको गणतान्त्रिक शासनले नै गणतन्त्रविरुद्धमा ठाडो हमला गरेको छ न कि अन्य कसैले ?
शासकहरू आफैं गणतन्त्र बलियो छ भन्छन् । गणतन्त्रभन्दा राम्रो अर्को कुनै व्यवस्था आविष्कार भएको छैन भन्ने फेरि गणतन्त्रलाई जोगाउन हारगुहार गर्ने ? बलियो छ । राम्रो छ भने गणतन्त्रलाई कसैले जोगाउनुपर्दैन । त्यो आफैं जोगिन्छ । गणतन्त्र जनमुखी भयो भने गणतन्त्रको रक्षा र अपनत्व गणतन्त्रका ठेकेदारले होइन स्वतः जनताले लिन्छन् । किन गणतन्त्रका ठेकेदारहरू बेलाबेलामा गणतन्त्र खतरामा छ भन्छन् ? किन तर्सन्छन् ? वर्तमान शासकहरूलाई वर्तमान गणतन्त्र फलिफाप भएको छ । आफू र आफ्नालाई पद पजनीको हक प्राप्त छ ।
म परीक्षा दिन्छु र प्रतिस्पर्धामा सफल हुन्छु भन्ने आत्मविश्वास भएका युवाहरूलाई अकारण दमन र हत्यासमेत गर्न पाएका छन् । देशको ढुकुटी रित्याउन पाएका छन् । गणतन्त्रले दल-नायकहरूलाई पद, पैसा, विलासी जीवन दियो । गणतन्त्र प्यारो छ तर जनताको आर्थिक सामाजिक अवस्था झन्-झन् खस्कियो ।
जिम्मेवारीमा हुनेहरूले जनपक्षीय काम नगरेपछि जनअसन्तुष्टि स्वाभाविक हुन्छ । असन्तुष्टि कहीँ कतै प्रकट हुँदा गणतन्त्र मास्ने डिजाइन हो भन्ने बनिबनाउ प्रतिक्रिया आउँछ । हामी हिजो असफल भयौं फेरि मिहिनेत गरेर परीक्षा उत्तीर्ण गर्ने आँट छ । परीक्षामा सामेल हुन देऊ भन्ने आवाजलाई कुल्चने दुष्प्रयास किन भयो ? प्रतिस्पर्धाको माग गर्नेलाई गोली दिने व्यवस्था कसरी गणतान्त्रिक हुन्छ ? प्रतिस्पर्धालाई अस्वीकार गर्नेहरू गणतन्त्रवादी हुनै सक्दैनन् ।
गणतन्त्रको विकल्प परिस्कृत र परिमार्जित गणतन्त्र हो । राजतन्त्र हुँदै होइन । जनताको विमति केमा छ भने भ्रष्टाचारीको विकल्प भ्रष्टाचारी हुन सक्दैन ? भ्रष्टाचारीको विकल्प भ्रष्टाचारी हुँदा जनता यो गणतन्त्रबाट आजित छन् । जनताको एउटामात्र आवाज छ सुशासन कायम गर । सुशासन किन कायम हुँदैन ? कुशासन, भ्रष्टाचार, अनियमितता, नातावाद, तस्कर र माफियावाद गणतन्त्रका भाइरस हुन् । अनियमितताका विषय, भ्रष्टाचारका विषय, नातावादका विषय र सुनकाण्ड, नक्कली भुटानी शरणार्थी काण्ड, बालुवाटार जग्गा काण्ड, नियुक्तिमा घुस लिने काण्ड र परिवारवादप्रतिको जनअसन्तुष्टि समयमै व्यवस्थापन भएन भने गणतन्त्रलाई संरक्षण गर्न जनतालाई के खाँचो ? जनता गणतन्त्रप्रति भन्दा देश र जनताको गिर्दो आर्थिक, सामाजिक अवस्थाप्रति चिन्तित छन् । आमगरिबी, अशिक्षा र शैक्षिक साथै आमबेरोजगारीबाट सिर्जित समस्याप्रति चिन्तित छन् । तसर्थ जनता गणतन्त्र जान्छ कि भन्ने विषयमा चिन्ता गर्दैनन् ।
भ्रष्टाचार उन्मूलनको युद्धलाई निष्कर्षमा पुर्याउने विश्वासिलो नेतृत्व नै जन्मन सकेको छैन । निर्वाचनबाट आउनेहरू सबै भ्रष्ट भए । शीतयुद्धले नेतृत्व जन्माउने समय लिन्छ । त्यो पर्खाइको छट्पटी, उकुसमुकुस र पीडामा अधिकांश नेपाली छन् ।
अर्थात् जनताको पक्षमा काम गर्न असफल भयो । गरिबी थप्ने व्यवस्था किन ल्यायौं भनेर जनतामा पछुतो छ । सरकारी कर र मूल्यवृद्धि अक्कासिएको छ । आयका स्रोत साँगुरिएका छन् । जनताको दैनिकी सकस भएको बेला हिजो आफूभन्दा गरिब नेताहरू एक्कासि कसरी धनी भए ? यो गम्भीर प्रश्न सबै नेताहरूको अगाडि तेर्सिएको छ । उद्योग, जागिर, व्यापार केही नहुनेहरू कसरी धनी भए ? यो प्रश्नको उत्तर दिने हैसियत कुनै नेतासँग छ ? गणतन्त्रले भ्रष्टाचारलाई प्राथमिकता दियो भने त्यो गणतन्त्र हाम्रा लागि के काम भन्ने सोच र पीडाले जनता पिल्सिएका छन् । नेताहरू यो व्यवस्थाबाट मालामाल बने । सधैं वर्गशत्रुको व्यवहार गर्ने कांग्रेस र कम्युनिष्टहरू किन गणतन्त्र जोगाउने नाममा एकै ठाउँमा हुन्छन् ? गरिबी, मूल्यवृद्धि, बेरोजगारी, विभेद जस्ता समस्याहरूको समाधानमा सत्ता पक्ष र प्रतिपक्षको कहिल्यै गम्भीर छलफलसम्म हुँदैन ? कारण मिलिजुली भ्रष्टाचारको साझा गन्तव्य हो ।
सत्तारुढ र प्रमुख प्रतिपक्षका भ्रष्टहरू जो भ्रष्टतन्त्रको निरन्तरता चाहन्छन् भने भ्रष्टाचारको उन्मूलनविना हाम्रो उत्थान असम्भव छ भन्नेहरूबीच शीतयुद्ध चलेको छ । यो युद्धमा भ्रष्टाचारविरुद्धको अभियानको सफलता निश्चित छ । भ्रष्टाचार उन्मूलनको युद्धलाई निष्कर्षमा पुर्याउने विश्वासिलो नेतृत्व नै जन्मन सकेको छैन । निर्वाचनबाट आउनेहरू सबै भ्रष्ट भए । शीतयुद्धले नेतृत्व जन्माउने समय लिन्छ । त्यो पर्खाइको छट्पटी, उकुसमुकुस र पीडामा अधिकांश नेपाली छन् । यसलाई संघर्षमा बदल्नलाई अवरोध गर्ने काम पार्टीहरूको सदस्यताले गरेको छ । सबै जनता नियोजित रूपमा पार्टीहरूमा विभाजित गरिएका छन् ।
वास्तवमा पार्टी व्यवस्थाको दुर्गुण ठग ठेकेदारवादविरुद्धमा जनता ओइरन चाहन्छन् । त्यस वातावरणलाई बिथोल्ने पार्टी सदस्यताले गरेको छ । जुनदिन जनताले पार्टी सदस्यताको बन्धनलाई बेवास्ता गर्दै सबै पीडित एक्यबद्ध हुन्छन् अनि भ्रष्टहरूका दिन सक्किन्छन् । दुर्गा प्रसाईलाई यस अवस्थामा पुर्याउने पनि यिनै भ्रष्ट नेताहरू हुन् । हाल उनको अभियानलाई गति दिने यिनीहरूको भ्रष्टाचार र कुशासन हो न कि उनको नेतृत्व क्षमता वा राजाको लोकप्रियता । जतिजति भ्रष्टाचार फैलन्छ त्यति राजा लोकप्रिय हुन्छन् । राजाका कार्यक्रममा जनताको अत्यधिक सहभागिता राजाको लोकप्रियता होइन भ्रष्टहरू अलोकप्रिय भएको प्रमाण हो । एकमात्र उपचार सच्चिने हो ।
इमानदार नेतृत्वको अभावले भ्रष्टहरूविरुद्धको आन्दोलनले गति लिन सकेको छैन । ढिलोचाँडो आन्दोलनको नेतृत्व गर्ने भरपर्दो, इमानदार र बहादुर समयसँगै जन्मन्छ । भ्रष्टहरू कानुनको कठघरामा पक्कै उभिन बाध्य हुन्छन् । भ्रष्टाचारविरुद्धको अभियानले उत्पादन गरेको नयाँ नेतृत्वले निःसन्देह अभाव, गरिबी, बेरोजगारी जस्ता समाधान निकाल्छ । त्यस चरणमा पक्कै भ्रष्टाचारको विरोधलाई नेतृत्वले गणतन्त्रविरुद्धको हमला पक्कै भन्ने छैन । भ्रष्टाचारविरुद्धको खबरदारीले गणतन्त्र कमजोर होइन झन् सशक्त हुन्छ ।
Nepal is the paradise for the political leaders and responsible for defaming the spirit of constitution and democracy. Good surgery on recent political development