काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)ले पनि राष्ट्रियसभा अध्यक्ष दाबी गर्ने भएको छ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने चर्चा चलिरहँदा माओवादीले पनि दाबी गर्ने भएको हो । प्रधानमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभा अध्यक्षमा पार्टीको दाबी रहने बताउनुभयो । मंगलबारको माओवादी संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले राष्ट्रियसभा अध्यक्षमा पार्टीको दाबी रहने बताउनुभएको एक सांसदले जानकारी दिनुभयोे । तर, सत्ता गठबन्धनभित्र हुने सहमतिअनुसार नै अघि बढ्ने उहाँको भनाइ थियो । ‘केही समयपछि संवैधानिक प्रमुखहरूमा पद रिक्त हुने हुनाले राष्ट्रियसभा अध्यक्षमा हाम्रो दाबी स्वाभाविक रहन्छ,’ अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै ती सांसदले भन्नुभयो, ‘तर, साझेदार दलको सहमतिकै आधारमा गरिन्छ । गठबन्धनमा जे निर्णय हुन्छ, त्यसलाई स्वीकार गर्नुपर्छ ।’ राष्ट्रिय सभामा माओवादी पहिलो दल भएकोले पनि दाबी स्वाभाविक हुने उहाँको भनाइ थियो । गठबन्धनका अन्य दलहरूसँग पनि यस विषयमा छलफल भइरहेको उहाँले बैठकमा बताउनुभएको थियो । सांसदहरूले माओवादीलाई कांग्रेसले पटक-पटक धोका दिएको भन्दै राष्ट्रियसभा अध्यक्ष छोड्न नहुने धारणा राखेका थिए ।
अहिले राष्ट्रिय सभाको उपाध्यक्षमा माओवादीबाट उपाध्यक्ष उर्मिला हुनुहुन्छ । फरक दल र लिंगका आधारमा अध्यक्ष÷उपाध्यक्ष चयन हुने भएकाले माओवादीले अध्यक्ष अर्यालले राजीनामा दिनुपर्ने हुन्छ । राष्ट्रियसभा अध्यक्षको निर्वाचन आउँदो फागुन २९ गते गर्ने कार्यतालिका छ । माओवादीका तर्फबाट वर्तमान उपाध्यक्ष उर्मिला अर्याल र नारायण दाहालले अध्यक्षमा आकांक्षा देखाउनुभएको छ । हाल राष्ट्रियसभा उपाध्यक्ष रहनुभएकी अर्याल र मनोनीत सांसद दाहालले अध्यक्षका लागि आन्तरिक लबिङ गरिरहेको माओवादीकै नेताहरू बताउँछन् । माओवादीले पाएको खण्डमा अर्याललाई अध्यक्ष बनाउन नेताहरूसमेत सकारात्मक रहेको नेताहरू बताउँछन् ।
माओवादीले पनि दाबी गरेपछि राष्ट्रियसभा अध्यक्षका लागि गठबन्धनमा तानातान हुने देखिएको छ । कांग्रेसले पहिलेदेखि नै अध्यक्षमा दाबी गरेको छ । कांग्रेसबाट नेता सिटौला अध्यक्षका लागि चर्चामा हुनुहुन्छ । यस्तै, गठबन्धनकै अर्को दल एकीकृत समाजवादीले पनि अध्यक्षमा दाबी गर्दै आएको छ । राष्ट्रियसभा अध्यक्ष संवैधानिक परिषद्को सदस्यसमेत रहने हुँदा मुख्य दलको ध्यान यसमै केन्द्रित भएको हो । अहिले राष्ट्रियसभा अध्यक्ष र प्रतिनिधि सभाका सभामुख एमालेबाट छन् । उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको छ ।
आगामी फागुन २० गते राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र १९ जना सदस्य ६ वर्षे कार्यकाल पूरा गरी बहिरिँदै छन् । आगामी फागुन २० गते राष्ट्रपतिबाट मनोनीतसमेत एमालेका नौ, कांग्रेसका चार माओवादीका तीन, एकीकृत समाजवादीका दुई, जसपाका एक र स्वतन्त्र सांसद एकजना गरी राष्ट्रिय सभाका २० सदस्यको पदावधि सकिँदै छ । यद्यपि, यसबारे गठबन्धनमा औपचारिक छलफल सुरु भएको छैन ।
माओवादीलाई संवैधानिक परिषद्मा शून्य हुने चिन्ता
माओवादीले राष्ट्रियसभा अध्यक्ष दाबी गर्नुको पछाडि संवैधानिक परिषद्मा शून्य हुने चिन्ता पनि हो । गत राष्ट्रियसभा चुनावमा कोशीमा भएको ‘अन्तर्घात’ले पनि माओवादीलाई दाबी गर्न बल पुगेको हो । यसअघि सिटौलालाई नै राष्ट्रियसभा अध्यक्ष बनाउने चर्चा थियो । माओवादीले संवैधानिक परिषद्सम्बन्धी शून्यता देखाएर अध्यक्षमा दाबी गरिरहेको छ । संवैधानिक परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी, सभामुख र उपसभामुख हुने व्यवस्था छ । प्रधानमन्त्री ‘प्रचण्ड’ले सत्ता छाड्दा संवैधानिक परिषद्मा उपस्थिति शून्य हुने माओवादीको भनाइ छ ।
कोशीमा कांग्रेसकै कारण माओवादीले सभामुख, मुख्यमन्त्रीदेखि राष्ट्रियसभा सदस्यसमेत गुमाएको छ । कांग्रेसबाट मुख्यमन्त्री बन्नुभएका उद्धव थापालाई विश्वासको मत दिन माओवादीबाट सभामुख बन्नुभएका बाबुराम गौतमले पदबाट राजीनामा दिनुभएको थियो । अहिले कोशीमा सभामुख राप्रपाको हातमा गएको छ । मुख्यमन्त्रीमा पनि माओवादीले पाउने गरी सत्ता गठबन्धनमा सहमति थियो । कांग्रेसको शेखर कोइराला पक्षधर नेता केदार कार्कीले प्रतिपक्षी एमालेसँग मिलेर मुख्यमन्त्रीमा दाबी गरेपछि माओवादी खाली हात रहृयो । पछिल्लो समय राष्ट्रियसभा सदस्यमा पनि माओवादी केन्द्रकी चम्पा कार्कीलाई नेकपा एमालेकी रुक्मिणी कोइरालाले हराउनुभयो ।
कांग्रेसबिनै माओवादीको बहुमत
राष्ट्रिय सभामा अध्यक्ष चयन गर्दा चाहिने मत माओवादीले कांग्रेसबिनै पनि पु¥याउने देखिएको छ । ५९ सिट रहेको राष्ट्रिय सभामा अध्यक्षका लागि ३० सांसद चाहिन्छ । जसमा माओवादी, नेकपा एस, जसपा र जनमोर्चा मिले ३० सांसद संख्या पुग्छ । राष्ट्रिय सभामा पहिलो बनेको माओवादीको उपाध्यक्षसहित १७ सांसद छन् । माओवादीका १७, नेकपा एसका आठ, जसपाका तीन र जनमोर्चाका दुई (मनोनीतसहित) हुँदा सांसद संख्या ३० पुग्छ । जुन राष्ट्रिय सभामा अध्यक्ष लिन पर्याप्त छ । राष्ट्रिय सभामा कांग्रेसको १६ र एमालेका १० सांसद छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमोर्चा तथा स्वतन्त्रको एक-एकजना छन् । राष्ट्रपतिबाट मनोनीत हुने एक सिटमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई ल्याउने सहमति बनिसकेको छ ।
सिटौलालाई मन्त्री बनाएर मिलाउने प्रयास
राष्ट्रियसभा अध्यक्षमा दाबी गरेको माओवादीले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई मन्त्री बनाएर मनाउने प्रयासमा छ । अब मन्त्रिपरिषद् विस्तार गर्दा सिटौलालाई कहीँ व्यवस्थापन गर्ने र राष्ट्रियसभा अध्यक्ष आफूले लिने माओवादी नेताहरूको आन्तरिक तयारी छ । यसअघि नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुट्नुभएका प्रधानमन्त्री प्रचण्ड कांग्रेसकै सुझावअनुसार रोकिनुभएको थियो । अनौपचारिक रूपमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई सिटौलालाई मन्त्री बनाउनेबारे प्रस्तावसमेत गरिसक्नु भएको छ ।
बालुवाटारनिकट स्रोतका अनुसार सिटौलालाई कुनै मन्त्रालय दिएर अघि बढ्दा कसो हुन्छ ? भनेर प्रधानमन्त्री प्रचण्डले देउवालाई सोध्नुभएको थियो । देउवाले पार्टीमा छलफल गर्ने र थप कुरा भन्ने जवाफ फर्काउनुभएको छ । सिटौलाको नाम गृहमन्त्रीका रूपमा पनि चर्चामा छ । यसअघि नै एकपटक गृह मन्त्रालयको जिम्मेवारी सम्हालिसक्नु भएका उहाँलाई उपप्रधानसहित गृह दिने र आफूले राष्ट्रियसभा लिने सोचमा प्रधानमन्त्री प्रचण्ड पुगेको स्रोत बताउँछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच