गाउँपालिका अध्यक्षको नेतृत्वमा सिमकोट बजार क्षेत्रका ढलको सरसफाई

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 4 mins

हुम्ला । हुम्लाको मुटु मानिएको सदरमुकाम सिमकोट बजार क्षेत्र बुधबार सरसफाई गरिएको छ । जिल्लाको सदरमुकामसमेत रहेको सिमकोट बजारलाई सफा राख्न गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध) को नेतृत्वमा बुधबार बजार क्षेत्रका ढलहरुको सरसफाई गरिएको हो ।

सिमकोट क्षेत्रको सडक तथा ढलको सरसफाईमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुवास आले, अन्य कर्मचारी खटिएका थिए ।
बजारको कालिन्चोक, एकताचोक, लोकतान्त्रिक चोक र एर्पोट चोकमा बढी फोहोर हुनुका साथै यहाँका ढलहरु दुर्गन्धित हुने गरेकाले ढल सरसफाईमा जुटेको गाउँपालिका अध्यक्ष विजय भण्डारी प्रतिरोधले बताउनुभयो । जिल्ला सदरमुकाम रहेको सिमकोट बजार क्षेत्रलाई सुन्दर र स्वच्छ राख्न पालिकाले सरसफाईमा जोड दिएको हो ।

सिमकोट गाउँपालिकाले यसअघि गरेको निर्णय अनुसार बजार क्षेत्रलाई सफा राख्न हरेक मङ्गलबार र शुक्रबार गरी साताको दुई पटक ट्रयाक्टरबाट फोहोर उठाउने कार्य हुँदै आएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

जिल्लामा चिसो अत्याधिक हुनुका साथै बजार क्षेत्रमा जडान गरिएका पाइप बरफ जमेर जताजतै भाँचिने (फुट्ने) भएका कारण ढल दुर्गन्धित हुँदै आएका हुन् । बरफ जमेर ढलबाट फोहोर पानी जान नसकेर सडक माथि आउँद बजार क्षेत्र फोहोर देखिने गरेको छ । भने सिमकोट बजार जति नै सरसफाई गरेपनि यहाँका बजारवासिले मनपरी फोहोर फाल्ने कार्य गर्नाले ढलहरु थप दुर्गन्धित हुने गरेको भण्डारीको भनाई थियो ।
उनका अनुसार जताततै फोहोर बढेर दुर्गन्धित हुन थालेपछि सरसफाइ गर्ने कार्य भएको हो । बजारलाई स्वच्छ र सफा राख्न नियमित रुपमा सरसफाई अभियानमा आफुहरु जुट्ने गरेको जानकारी दिए ।

यस्तै गएको शुक्रबार सिमकोट बजारको शान्ति टोलका बासिन्दा मिलेर बालमन्दिर चोक नजिक विद्युत कार्यालय जाने गेट अगाडीको ढलको सफाइ गरिएको हो । सम्बन्धित कार्यालयले कुनै वास्ता नगरेपनि ढल फोहोर भएर टोल नै दुर्गन्धित हुन थालेपछि सम्पूर्ण टोलीवासी मिलेर शुक्रवार ढलको सफाइ गरेका हुन् । ढलमा फोहोर जम्मा भएर फोहोर पानी बग्नै थालेपछि बालमन्दिर चोक आसपास बस्ने सबै बजारवासी मिलेर ढलको सफाइ गरेका थिए ।

सिमकोट बजार क्षेत्रको सरसफाई गर्न यहाँका बजारवासीले यसअघि सधै सुरक्षाकर्मी र कर्मचारीको मुख ताक्ने गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?