संसारका दुई सदनात्मक व्यवस्थापिका भएका ठाउँमा माथिल्लो सभा या भारतको जस्तो राज्यसभा र लोकसभा । अथवा बेलायतमा जस्तो हाउस अफ रिप्रिजेन्टेटिभ र हाउस् अफ लर्ड । या अमेरिकामा जस्तो लोअर हाउस र अपर हाउस भन्ने नामका द्विसदनात्मक संसद् भएका ठाउँको चरित्र नेपालको राष्ट्रियसभाले यतिका वर्षपछि पनि ग्रहण गर्न सकेन । यसले आफ्नो चरित्र प्रदर्शन गर्न नसक्नाको कारण भनेको यो देशका राजनीतिक दलका टाउकेको शून्य चिन्तन र निर्लज्ज व्यवहार नै हो । नेपालका नेता चिट चोरेर डिग्री लिएर राजनीतिक दलमा देखिएका रहेछन् भन्ने यस कुराले पनि पुष्टि गर्दछ ।
बाहिरबाट हेर्दा बेलायत, अमेरिका र भारतको जस्तो व्यवस्थापिकाको व्यवस्था गरेर हामीले देशलाई प्रजातन्त्रको जननी देश बेलायत, कानुन र मानव अधिकारको पनि सर्वोच्चता पालन गर्ने देशका रूपमा विश्वविख्यात अमेरिका । संसारको सबैभन्दा ठूलो र विविधता पनि त्यत्तिकै भएको देशका रूपमा विश्वविख्यात देश भारतको जस्तै हाम्रो पनि राजनीतिक प्रतिनिधिका कर्मस्थालको व्यवस्था गर्यौँ भनेर घोक्रो फुलाएर भाषण र गफ गर्ने आधार तयार गरे पनि यी सदनलाई यिनले कुनै मान्छेको पाषाणको सालिकजस्ता निस्प्राण बनाएर विश्व ठगेका छन् । नपढ्ने विद्यार्थीले चिट चोरेर मेडल पड्काएको समाचार पनि हाम्रै देशको इतिहास हो ।
मझेरीमा बिष्ट्याएर पछि दैलो देख्ने हाम्रा विश्वविद्यालयका पदाधिकारी पनि राजनीतिक दलका नेताजस्तै रहेछन् । यसोभएकाले नै त आज देश भ्रष्ट र ठगको वैकुण्ठ भनेर चिनिन थालेको छ । हो, त्यो विद्यार्थी र नेपालका राजनीतिक दलका नेता उस्तै हुन् । उसले ज्ञान, प्रविधि र इमानलाई चिटिङ गर्यो भने यिनले विश्वविरादरी, जनता, प्रातस्मरणीय हुतात्मालाई मात्रै होइन आफ्नै देउपितृलाई पनि ठगे । स्वास्नी र सन्तान तथा पिछलग्गु खुशी पार्न । सत्ता र शक्तिका निमित्त आमालाई रूपाजीवाका कोठीमा पनि पुर्याए । नेपालीलाई भुटानी शरणार्थी बनाउनु भनेको आमाको सतीत्वलाई कोठीमा पुर्याउनु बराबरै हो ।
विकार देशको आर्थिक, शैक्षिक, प्रशासनिक क्षेत्रमा मात्रै सीमित रहेन यो महामरी झै फैलेर राजनीतिलाई पनि यसले विकलांग बनायो । उद्योग कलकारखाना खोलिएनन् किनभने युवा जनशक्ति देशमा नबसोस् भनेर । पञ्चायतकालमा खोलिएका एकाध उद्योग पनि बन्द गरिए साजिसपूर्वक ।
गरिबीका कारणले छोरो खाडीमा र छोरी बम्बैमा बेच्ने असचेत निरीह नागरिकजस्तै काम गरेर थुनामा परेका देशको उपप्रधानमन्त्री र गृहमन्त्री नेपाली चरित्रका मानक मूर्ति हुन् । यिनका क्रियाकलापमा अहिलेका तिन ठूला राजनीतिक दलका टाउकेको अनुहार काटीकुटी मिलेको देखिन्छ । हाम्रा गाउँघरमा पहिले पहिले वनारसतिर गएर पढेर पण्डित बनेर आएर पुराण भन्ने पण्डितलाई पात्र बनाएर भन्ने एउटा भनाइ थियो : ‘पढे पण्डितले कसरी घुँडा धसी धसी भइन् बज्यै पण्डितिनी घरै बसी बसी ।’
यसका ठाउँमा अहिले नेपाली जनता र वल्लोपल्लो देशका छिमेकी पनि हामीलाई भन्न थाले :
‘गरे पतिले कसरी लडाइँ ठूला भए ती गरी लोक् रिझ्याँइँ
लुट्ने ती पत्नी सबको कमाई पत्नी ठूलाकी हुँ भनी रमाई’ ।।
तस्कर छ पुत्र सुनको बेपारी
उस्का छन् साथी झन तस्करै ती ।
स्वास्नी र छोरी पनि भार नै छन् उत्कोचमा नै सब सान देख्छन् ।।
यसरी विकार देशको आर्थिक, शैक्षिक, प्रशासनिक क्षेत्रमा मात्रै सीमित रहेन यो महामरी झै फेलेर राजनीतिलाई पनि यसले विकलांग बनायो । उद्योग कलकारखाना खोलिएनन् किनभने युवाजनशक्ति देशमा नबसोस् भनेर । पञ्चायतकालमा खोलिएका एकाध उद्योग पनि बन्द गरिए साजिसपूर्वक । उद्योग कलकारखाना खोलेर राज्यलाई सहयोग गर्ने र महिनाको छ/सात करोड बिजुलीको बिल तिर्ने अर्बाैं राजस्व राज्यका ढिकुटीमा जम्मा गर्ने उद्योगका विरुद्ध बिजुलीको लाइन काटिन्छ र देशका कम्युनिष्ट बास बस्ने बेलाका रूपीले कोकोहोलो मच्चाए झैँ सडक, होटल गल्लीमा कोकोहोलो मच्चाएर राष्ट्रियताको जगेर्ना गर्नथालेका छन् ।
मुखले समृद्धिको नारा घोकाएर पुँजी र प्रविधि ल्याउने बाटो बन्द गरेका छन् अन्याय, अत्याचार, विभेद र मानव अधिकार तथा मानवका आधारभूत स्वतन्त्रताका पक्षमा आबाज उठाउने र समानता, स्वतन्त्रता र भ्रातृताका लागि काम गर्ने कांग्रेस सत्ताको पानी भरिएको एउटा चम्चा मुखमा राखेर उग्रवादी कम्युनिष्टकै चम्चागिरी गर्नमा गौरव गर्दैछ । रोजगारी दे सरकार कि हामीलाई विदेश जाने योग्यता परीक्षामा सम्मिलित हुन दे सरकार भन्ने युवाका भिडमा राष्ट्रिय झण्डा हल्लाउँदै बहालवाला मन्त्री पुगेर वातावरणलाई उत्तेजित पार्छन्, दुईजना युवकलाई गोली र बन्दुकका कुन्दाले हानेर मारिन्छ अनि त्यही हत्यारालाई सबै मिलेर संरक्षण गर्छन् भने यो मत्स्यन्याय हो कि होइन बिपीको पाइला पछ्याउने कांग्रेसी हो ?
मान्छे मारेर न्यायप्रेमी बनेर देखिने कम्युन हो छातीमा हात राखेर भन त तिमीहरू हत्यारा, आतंगकारी, अन्यायी कि आफैंलाई आफैंले न्यायप्रेमी भनेर घोषणा गर्ने छद्मभेषी हौ ? लाज नामको चिज पनि छ कतै तिमीहरूसँग ? बाबुराम र माकुने ठूला र ज्ञानी पल्टने लाजै पचाएर जसले ललिता निवास बेच्ने नीति बनाएर पहिलो सही गर्यो तिनलाई अहिलेसम्म किन नकोचेको ओ महान् क्रान्तिानायक सन्ततिप्रिय प्रमजी ? पुकदाका सत्तापाले शेवदेजी तपाईंलाई चेत छ ? बाघको डमरु भेडाका बथानमा भुलेर घाँस खाए झैँ तपाईं पनि सत्ताका लोभले घाँसै खान त लाग्नुभएन ? फुर्सदका बेला छातीमा हात राखेर सोच्नुस् त तपाईंले यो देश र जनताका लागि सम्झन लायक के के काम गर्नुभयो लेखेर सार्वजनिक गर्नसक्नुहुन्छ ?
तपाईं र तपाईंसँग सम्बद्धले कांग्रेसको इतिहासै धुमिल पारेको जस्तो लाग्छ कि लाग्दैन ? फुर्सदका बेला स्वमूल्यांकन गरिहेर्नुस् त ‘धुँवाएर नजिकका जनहरूलाई पिरोल्ने भए, देखाएर छटा भसक्क हुनु नै कल्याण मित्र ए’ । तपाईं त धेरै झ्वाँक चलायौ भने फेरि विधान संशोधन गरेर अर्को पटक पनि सभापति बनेर राणादेउवा तन्त्र चलाउँछु पो भन्नुहुन्छ रे हो ? हो भने एक पटक प्रयत्न गरिहेर्नुस् न ल ?
डा.खगेन्द्र अधिकारी ‘पान्डव’ जस्तो उम्मेदवार पाउँदा गुमाउने झापाली र हेलिकोप्टर चढेर आउने र खल्ती भर्ने उम्मेदवार खोजेर सागर ढकाल हराउने डडेल्धुरेली पनि जनता हुन् जस्तो नै लागेन ती जमिनदारले दिएको कठबाँसको लट्ठी लिएर गरिब किसान कुट्ने मात्र हुन् ।
मान्छेको उमेर पाको बन्दाबन्दै सिङ, जुरो र पुच्छर उम्रन्छन् र ? मान्छे अनुभवको मूल्यांकन गरेर परिपक्व बन्ने हो जस्तो लाग्छ मलाई । बीपीले पनि २०१५/०१६ सालका कतिपय आफ्ना चिन्तन र क्रियाकलापलाई २०३०-०३३ को दशकमा आएपछि परिवर्तन गर्नुभएको थियो । गिरिजाप्रसाद कोइरालाले पनि २०५५/०५६ पछि आफूलाई परिवर्तन गरेर प्रस्तुत हुनुभएको हुनाले नै रक्तकुण्डमा परिणत भएको देशलाई शान्तिका मार्गमा हिँडाउनुभएको थियो । तपाईंले नयाँ गरेको भनेको गठबन्धन, ग्रुपिजम र पत्नी, पुत्र, कलत्रादिलाई राजनीतिमा स्थापित गर्ने काम होइनन् त ? तपाईंका कतिपय क्रियाकलाप गिरिजाप्रसाद कोइरालसँग मिल्छन् र तपाईं नै मेरा राजनीतिक गुरु गिरिजाप्रसाद कोइराला भनेर उच्च स्वरमा बोल्नु पनि हुन्थ्यो ।
संसदीय व्यवस्थामा कालिमा ल्याउने काम (जुन नगरेको भए हुनेथियो) गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराई दुवैले धेरथोर नगरेका पनि होइनन् तर उनीहरूमा विवेक, करुणा र सुधार्ने चेत थियो तपाईंमा देखिएन । संगको रंग लाग्छ भन्थे हो कि क्या हो ? ओली र माधव नेपाल अनि प्रचण्डका महत्वकांक्षाका वैशाखीमा तपाईंको सत्ता, सुन, परिवार, शक्ति हात पार्ने आकांक्षाले अन्धतातिर नलगोस् ।
राजाको सर्वोच्चता भएका बेलाभन्दा चर्को लाग्नेगरी वर्तमान सरकारले मान्छे मार्दा पनि तपाईं न बोल्नु, जुन संस्थाको जे काम र महिमा हो त्यसमा पनि उनीहरूकै लहैलहैमा लागेर जनताले अस्वीकार गरेको अस्वीकृतिको स्वर बस्न नपाउँदै राष्ट्र, राष्ट्रियता, विश्वबन्धुता, आन्तरिक दीर्घकालीन हितका सम्बन्धमा विविधप्रकारले सोच्नसक्नेका बदला आफ्नो आरती गाउँने जनताबाट तिरष्कृत आसेपासेको हुल पठाएर कंसइतिहास रच्न लागेको देख्दा नपढे पनि त्रिविबाट एमएको प्रमाणपत्र लिएका तपाईंप्रति दया लागेर यी शब्द कोरेको हुँ है शेरबहादुर दाइ !
तपाईंले जति नै पुकदाको चाकरी गरेर सत्ता जोगाइदिए पनि तपाईं प्रधानमन्त्री हुने बेला ओली र पुकदा मिलेर तपाईंलाई चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भन्ने उखानको पात्र बनाएनछन् भने हेर्नुहोला । यिनले गिरिजाप्रसादलाई ठगेकै हुन् । तपाईंलाई पनि दुई-दुई पटक यिनले थाङ्नामा सुताएकै हुन् । अब तेस्रोपल्ट पनि तपाईलाई चिसा थाङ्नामा जाडाका लामा रातमा सुताउनेवाला छन् । ओलीलाई र तपाईंलाई तीन तीनपल्ट चिसा थाङ्नामा नसुताइकन पुकदाको रिस मर्दा पनि मर्दैन । बाघ र उग्रवादी कम्युनिष्टको चरित्र एकै प्रकारको हुन्छ ।
यिनका टाउकाको मोल तोक्ने तपाईं र बयलगाडामा चढेर अमेरिका पुग्नखोज्ने ? भनेर व्यङ्ग्यबाण प्रहार गर्ने ओलीलाई घुमाई घुमाई तीन बल्ढ्याङ नख्वाइकन पुकदा शान्त भएर बस्दैनन् । अतः ‘लोभः पापस्य कारणम्’ भन्ने नीतिको वचन बिहान बेलुकै जप्न सुरु गर्नुहोला । म कहिलेकाहिँ दुई–चार जिल्ला पनि घुम्छु । त्यहाँ गएका बेला ती निरीह जनता यी तीनजना राजनीतिबाट कहिले पर जालान् भनेर मलाई सोध्थे । म भन्थेँ जिताएर पठाउने तपाईंहरू अनि सोध्ने मलाई ? गोरखाली, झापाली र डडेलधुरेली चाहिँ ‘जनता’ हुन् । यी हलोकोदालो गर्ने इमानदार होइनन् । यी त जमिनदारका गोडैंता हुन् मालिकको निर्देश मान्ने ।
बाँकी जिल्लाका चाहिँ स्वतन्त्र विवेकशील ‘जनता’ हुन् जस्तो लाग्यो मलाई भनेपछि केही त रिसाए पनि तर कुरो सही यही नै हो । डा.खगेन्द्र अधिकारी ‘पान्डव’ जस्तो उम्मेदवार पाउँदा गुमाउने झापाली र हेलिकोप्टर चढेर आउने र खल्ती भर्ने उम्मेदवार खोजेर सागर ढकाल हराउने डडेल्धुरेली पनि जनता हुन् जस्तो नै लागेन ती जमिनदारले दिएको कठबाँसको लट्ठी लिएर गरिब किसान कुट्ने लठैत हुन् । गोर्खाली त इतिहासदेखि नै मारकाटमा लागेका उनीहरूसँग मिल्ने चरित्रको मार्न काट्न सक्ने भेटेपछि लठ्ठ पर्ने नै भए । यसरी ठगाधिराजका पछि लाग्ने र जनाधार नभएका ल्याएर आफ्नो उल्लुसिद्ध गर्न पल्केकालाई नै देवाधिदेव मान्नेका लागि ‘ताभ्यां जनतामतपरिवर्जिताभ्यांन्नुकारीमतसम्पोषिताभ्यां नमोनमः ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच