मोटरेवल पुल बनेपछि सहरसँग जोडियो गाउँ

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 4 mins

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका-६ का दोगाडीघाटमा मोटरेवल पुल निर्माण भएपछि स्थानीयलाई यात्रा गर्न सहज भएको छ । पुल निर्माण नहुँदा पालिकाको केन्द्र बुर्तिबाङ बजारसम्म सिधा यात्रा गर्नबा वञ्चित रहेका गाडीखोला क्षेत्र नागरिकलाई पुल बनेपछि सहज हुन थालेको हो ।

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ मा विनियोजन गरेको रकमबाट पुल निर्माण भएको हो । पुल निर्माणका लागि वि.सं. २०७७ असार १६ गते महादेव/खिम्ती/क्याराभान जेबीले निर्माण जिम्मा लिएको थियो । दुई वर्षमा सक्ने गरि पूर्वधार विकास कार्यालय बागलुङसँग सम्झौता भएको पुलको पहिलो पटक वि.सं. २०७९ असार १० गते म्याद सकिएको थियो । समयमै काम नसकेपछि म्याद थप भएको थियो । निर्माण कम्पनीले वि.सं. २०८० असार १० गतेसम्म सक्ने गरि म्याद थपे पनि गत मंसिरमा मात्रै निर्माण सम्पन्न भएको इन्जिनियर प्रकाश श्रीसले जानकारी दिनुभयो ।

मंसिरमा पुल सम्पन्न भएपछि यही पुस पहिलो सातादेखि संचालनमा आएको छ । पुल चार करोड ८२ लाखमा निर्माण भएको हो । पुल संचालनमा आएपछि ढोरपाटन नगरपालिका-६ को ओखरेनी, गाडीखोला, कुदुम, चामीद्वार लगायत ढोरपाटन क्षेत्रका हजारौँ नागरिकलाई सहज हुने वडा अध्यक्ष उमेश बुढा मगरले बताउनुभयो । सडक खुलेको वर्षौँ बिति सक्दा पनि स्थानीयले सहज रुपमा यात्रा गर्न नपाएको भन्दै अब पहिलेको जस्तो समस्या भोग्न नपर्ने उहाँको भनाइ छ । सडक पनि कच्ची हुँदा बर्खाको चार महिना जोखिम मोलेर यात्रा गर्नु पर्ने बाध्यता रहेको भन्दै बर्खाको समय गाउँमा कोही बिरामी परे अस्पताल पुर्‍याउन निकै समस्या भोगेको स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो - “यो पुल नबन्दा यो क्षेत्रका धेरै जनताले दुःख पाएका थिए, पालिकाको केन्द्रसम्म पुग्न पनि निकै गाह्रो हुन्थ्यो, हिउँदमा त जसोतसो खोला तर्न सकिन्थ्यो, बर्खामा बढी समस्या थियो, असारदेखि कार्तिकसम्म बढी समस्या थियो, अहिले पुल बन्यो, गाउँ-गाउँमा मोटरबाटो पुगेको छ, यात्रा गर्न र सामान ढुवानीमा सहज हुन थालेको छ, वर्षौँदेखि भारी भोक्ने जनता अब गाडीमा चढेर गाउँ-बजार गर्न सक्ने छन् ।”

बजार बुर्तिबाङ पालिकाको केन्द्र हो । बजारदेखि गाउँमा पुग्न दुई वर्ष अगाडिसम्म दुई वटा पुल तर्नु पथ्र्यो । बुर्तिबाङको लक्ष्मीकुण्ड घाटमा पुल बनेपछि अहिले दोगाडीसम्म समस्या छैन । दोगाडीसम्म गाडीमा पुगेपछि अर्को परिवर्तन गर्नु पर्ने समस्या थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?