पर्यटकीय गाउँ सिरूबारीको बिचमा प्यार्कु कुवा : संरक्षणको उत्तम नमुना

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 8 mins

स्याङ्जा । नेपालको पहिलो पर्यटकीय गाउँ सिरूबारी बस्तीको बिचमा परम्परागत समयदेखि नै कुवा रहँदै आएको छ । सदिओैंदेखिको यो कुवाको संरक्षण प्रयास करिब ३०० बर्ष अगाडि भएको थियो । तत्कालीन अवस्थामा कुवाको संरक्षण विरलै विषय थियो तथापि क्या.रूद्रमान गुरूङका हजुरबुबाले त्यस कुवाको निर्माण गरेर यस कार्यको थालनी गर्नुभएको थियो ।

सम्भवतः यो नेपालकै व्यवस्थित र सफा कुवामध्ये एक हो । यो सफा कुवाले त्यो बेलादेखि नै सिरुबारीको समाज कति सभ्य र सुसंस्कृत थियोे भन्ने चित्रण गर्दछ । यसको विशेषता भनेको जाडोमा तातो र गर्मीमा चिसो हुनु हो । यो कुवा परम्परा र आधुनिकताको सम्मीश्रण हो । यो कुवाको छानो सिरूबारी गाउँकै खानीमा पाइने ढुङ्गाहरूबाट बनाइएको छ ।

यो कुवाको नामका विषयमा दुई थरि मत देखिन्छन् । कुवाको नाम गुरुङ भाषामा 'प्यार्कु' राखिएको छ ।

ङछ 'प्या' भनेको 'प्ह्या' शब्दको अपभ्रंशित रूप हो । गुरूङ मातृभाषामा  'प्ह्या' भनेको पखेँटा हो  । यो 'प्ह्यार्क्यु' शब्द समास हो जो दुई शब्द 'प्ह्या' र 'क्यु' मिलेर बनेको छ, जसको अर्थ खसभाषामा 'पखेंटामा पानी' भन्ने अर्थ हुन्छ । पखेंटा चराचुरूङगीको उड्न प्रयोग हुने एक अङ्ग हो ।

सुरूमा यस्तो ढुङ्गाको छानो र दायँबायाँ सिमेन्ट जडित बिसौनी थिएनन् । हालको छानोको स्थानमा ढिस्को थियो । त्यसका मुनि तीनतिर गारो चिनेर निकै गहिरो चारकुने खाल्डो खनिएको थियो,जसमा भित्रबाट आएको मूल पानी जम्मा हुन्यो । बर्षा याममा कुवामा गाग्री डुबाइन्थ्यो । हिउँदमा पानी कम हुने हुँदा पानी भर्न जाने पँधेर्नीहरूले कुनै भाँउडञडाले पानी उभाएर गाग्री भर्ने गरेको स्थानीय क्या.रत्नबहादुर तमु बताउनुहुन्छ ।

तमु भन्नुहुन्छ, 'सिरूबारीको भूमि चरी जस्तो आकारको छ र झाँक्रीभीर चरीको पुच्छर जस्तो । अनि ढाडजस्तो बन्दै जमिनको भाग पूर्वदिशादेखि पश्चिमतिर हल्का भिरालो पर्दै फैलिएको छ । दुईतिरका ती भाग पखेंटा जस्ता हुन्छन् र पूर्वतिरको पखेंटामा यो कुवा अवस्थित रहेकोले 'प्ह्यर्क्यु' नाम राखिएको हुनुपर्छ ।

सिरूबारीमा पुरानो समयमा पानीको स्रोत भनेकै एकमात्र यो कुवा थियो । त्यसैले गाउँलेहरूले त्यो बेलादेखि नै यो पानीको कुवाको पानी प्रयोग गर्दै आएकोे पाइन्छ । प्रयोग मात्र होइन, संरक्षण र सरसफाइमा समेत ध्यान पुर्याएको देखिन्छ । गाईवस्तुलाइ खुवाउन र तरकारी बारीमा पानी राख्न समेत कुवाको पानी प्रयोग गरिन्थ्यो । त्यतिबेला त्यस कुवाको पानी गाग्रीमा उभाएर डोकोमा बोक्दै घरघरमा लगेर प्रयोग गरिन्थ्यो ।

आधुनिक पाइपहरु प्रयोग प्रचलनमा नआउँदासम्म सबै गाउँबासीको प्राण धान्ने यो कुवाको पानी थियो । बिस्तारै गाउँमा आधुनिक पाइपहरु र धाराहरु निर्माण हुन थालेपछि यो कुवामा बिस्तारै पानी भर्न आउनेको चाप घट्दै गएको स्थानीय प्रदीप गुरूङले बताउनुभयो । उहाँले वर्तमानमा कुवाको उपयोगिताका सम्बन्धमा बताउँदै भन्नुभयो, 'सफा र स्वच्छ मूलको पानी पिउनु स्वास्थ्यको लागि राम्रो हुन्छ भनेर गाउँलेहरूले अझै पनि तामाको गाग्रोमा यही कुवाको पानी लगेर सिरुबारीमा प्रयोग गरिरहन्छन ।' उहाँका अनुसार यो कुवाको पानी दैनिक पिउनाले कब्जियत निको हुन्छ भन्ने विश्वाससमेत गाउँमा रहेको पाइन्छ ।

सुरुवातकालमा यो कुवा खुला थियो । स्वर्गीय भपू सांसद क्या. रुद्रमान गुरूङका बाजेले धुलो, मैलो र फोहोरबाट जोगाउन ढुङ्गाको छानो राखेर कुवाको संरक्षण गरेको पाइन्छ । फ़ेरि रुद्रमान गुरूङका तिन दाजुभाइको परिवार मिलेर कुवाको मर्मत सम्भार गर्दै आएको पाइन्छ । पछि तिनतिरबाट गारो चिनी बिचमा फलामे ग्रीलको ढोका राखिएको हो । यो ढोका राखेपछि बालबच्चा वा गाइवस्तु सिधै कुवामा पस्न सक्दैनन् । पानी सदैव सफा रहिरहन्छ । अर्को कुरा कुवा भरिएर बढी भएर निस्केको पानी ढुङ्गा छापेको बाटो मुनिबाट व्यवस्थित ढलको निर्माण गरी तल खोलामा निकास गरिएको छ । यसरी निकास गरिएको पानी गाउँदेखि तल रहेका खेतहरुमा धान रोप्नका लागि प्रयोग गरिएको पाइन्छ । सिरूबारी होमस्टेका अध्यक्ष जितेन्द्र गुरूङ भन्नुहुन्छ, 'यस्तो पानीको कुवाहरु त नेपालको गाउँ गाउँमा जताततै देखिन्छ तर यति व्यवस्थित कुवा कमै मात्र भेटिन्छन् ।'

गाउँघरमा परम्परागत रूपमा प्रयोग प्रचलनमा रहेका यस्ता कुवाहरू आजभोलि लोप हुँदै गएका र आधुनिक धाराहरूले तिनीहरूलाई विस्थापित गरिरहेका सन्दर्भमा नेपालकै पहिलो होमस्टे गाउँको बिचमा लामो इतिहास बोकेर रहेको प्यार्कु कुवा संरक्षणको कुरा केवल सिरूबारी गाउँको मात्र विषय नभएर सार्वजनिक चासोको विषय हो । यसको संरक्षणबाट कुवा, पधेंरा, इनार आदि प्रकृतिका अमूल्य निधिहरूलाई जोगाएर तिनलाई मानव हितमा प्रयोग गर्नुपर्ने सन्देश प्रवाहित भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?