नेपाली चलचित्र वृत्तमा निर्देशकका रूपमा चिरपरिचित नाम हो सुदर्शन थापा । सन् २००९ मा ‘मेरो एउटा साथी छ’ चलचित्रमार्फत् निर्देशनमा पाइला चाल्नुभएका सुदर्शनले त्यसयता कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । उहाँले ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’, ‘राम कहानी’, ‘म यस्तो गीत गाउँछु २’ जस्ता सफल चलचित्रको कमाण्ड सम्हाल्नुभयो । सुदर्शनले नेपाली चलचित्र क्षेत्रमा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, पल शाह, प्रदीप खड्का, आकाश श्रेष्ठ, पूजा शर्मा जस्ता स्टार अनुहारलाई स्थापित गराउनुभएको छ । उहाँले चलचित्र विकास बोर्डले आयोजना गरेको एक कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट ‘विशेष योगदान सम्मान-२०८०’ र चलचित्र ‘प्रसाद २’ बाट ‘विशेष चलचित्र पुरस्कार’ प्राप्त गर्नुभएको छ । सुदर्शनले पहिलो चलचित्रबाटै नवनिर्देशक विधामा ‘नेफ्टा अवार्ड’ र ‘बक्स अफिस अवार्ड’ आफ्नो पोल्टामा पार्नुभएको थियो । सन् २०१४ मा हङकङमा भएको ‘नेफ्टा फिल्म अवार्ड’ मा ‘उत्कृष्ट निर्देशक’, सन् २०१८ मा जापानमा भएको ‘सूर्य इन्टरनेशनल अवार्ड’मा चलचित्र ‘म यस्तो गीत गाउँछु’बाट ‘उत्कृष्ट निर्देशक’ अवार्ड उहाँले प्राप्त गर्नुभयो । सन् २०१२ मा प्रेमकथाभन्दा फरक कथाको चलचित्र ‘धन्दा’ निर्देशन गरेर ‘नेफ्टा अवार्ड’मा ‘उत्कृष्ट निर्देशक’को अवार्ड प्राप्त गर्नुभएका सुदर्शनले सन् २०२२ मा सञ्चारमन्त्री रेखा शर्माबाट ‘विशेष सम्मान’ पाउनुभयो । त्यस्तै चलचित्र ‘म यस्तो गीत गाउँछु २’का लागि उहाँले सन् २०२२ मा भएको ‘डि सिने अवार्ड २०२२’मा ‘उत्कृष्ट निर्देशक’को अवार्ड जित्न सफल हुनुभयो । यतिबेला आफ्नो करियरकै महत्वपूर्ण प्रोजेक्ट ‘रावायण’को प्रि-प्रोडक्सनमा रहेको बताउनुहुन्छ । राम्रो कन्टेन्टलाई बलियो मेकिङबाट देखाउने प्रयास गरेमा उत्कृष्ट चलचित्र निर्माण हुने बताउनुहुने निर्देशक सुदर्शन थापासँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अंश:-
पछिल्लो समय के गर्दै हुनुहुन्छ ?
म मेरो करियरकै महत्वपूर्ण प्रोजेक्ट ‘रावायण’को प्रि–प्रोडक्सनमा छु । मेरो चरित्रलाई अहिलेको परिस्थितिअनुसार बलियो र अहिलेका दर्शकको हेराइमा उत्कृष्ट बनाउन मिहिनेत गरिरहेको छु । कोभिडपछिका चलचित्रका कथा फेरिएका छन् र दर्शकको चलचित्रप्रतिको दृष्टिकोण फेरिएको छ । ती चिजहरूलाई मध्यनजर गर्दै चलचित्र ‘रावायण’को छिट्टै एउटा बलियो टिम बनाएर छायांकनमा जाने तयारी गर्दैछु ।
एउटा राम्रो चलचित्र बन्न उत्कृष्ट मेकिङ हुनुपर्छ कि कन्टेन्ट ?
चलचित्रको मूल पाटो कन्टेन्ट नै हो । दर्शकले हेर्न खोजेको, नभनिएका कथा अथवा हेर्न नपाएका कथालाई खोजेर बलियो कथा बनाई त्यसलाई उत्कृष्ट मेकिङबाट चलचित्र बनाइनुपर्छ । किनभने कतिपय कन्टेन्टहरू पढ्नका लागि हुन्छन् र चलचित्र हेर्नका लागि बनाइएका हुन्छन् । एउटा राम्रो कन्टेन्टलाई हेर्नलायक बनाउन सकियो भने त्यो नै राम्रो चलचित्र हुन्छ । त्यही भएर चलचित्रमा कन्टेन्ट र मेकिङ पर्याय हुन् । राम्रो कन्टेन्टलाई बलियो मेकिङबाट देखाउने प्रयास गरेमा राम्रो चलचित्र उत्पादन हुन्छ ।
तपाईं क्लास कि मास डिरेक्टर ?
म आफूलाई क्लासको मास डिरेक्टर भन्न रुचाउँछु । हामीले भनिएका कन्टेन्ट अथवा बनाइएका चलचित्र अधिकतम् मासमा जान जरुरी छ । त्यो मासमा जान हामी क्लासको पोइन्ट अफ भ्युबाट पाउन सक्छौँ । त्यही भएर क्लासको मास डिरेक्टर भनेर आफूलाई भन्न रुचाउँछु ।
तपाईंले चलचित्र क्षेत्रमा आफ्नो प्रतिस्पर्धी कसलाई मान्नुहुन्छ ?
चलचित्रमात्र नभई कसैको प्रतिस्पर्धी कोही पनि हुँदैनन् । आफूले बनाएको पछिल्लो चलचित्र नै आफूलाई प्रतिस्पर्धी लाग्छ । किनभने मैले पछिल्लो चलचित्र कस्तो बनाएँ र त्यहाँ के कमीकमजोरी थिए । त्यसलाई सुधारेर नयाँ चलचित्रमा कमीकमजोरी हुन दिन्नँ भन्ने नै ध्यान हुन्छ । नयाँलाई अझै मजबुत बनाउँछु भन्ने योजना हुन्छ ।
तपाईंले हलिउड तथा बलिउडको अवलोकन गरिसक्नुभएको छ । उता र यतामा के फरक रहेछ ?
मैले बलिउडमा चलचित्रहरू कसरी छायांकन हुन्छन् भनेर त्यहाँका स्टुडियोहरू घुम्ने मौका पाएँ । आफ्ना केही चलचित्रका गीतहरू बलिउडका राम्रा स्टुडियोमा रेकर्डिङ गराएँ । त्यहाँ मैले धेरै कुरा सिकेँ । उनीहरूको काम गर्ने शैलीलाई नजिकबाट बुझेँ । मैले हलिउडका स्टुडियोको पनि निरीक्षण गर्ने मौका पाएँ । नेपालबाट म अमेरिकन फिल्म मार्केटमा गएर त्यहाँका फिल्म मेकरलाई भेटेँ, अन्तरक्रिया गरेँ । नाममात्र सुनिरहेको र चलचित्रमा नाममात्र देखिरहेको मान्छेलाई प्रत्यक्ष भेट्दा धेरै कुरा सिकेँ । उनीहरूको चलचित्र निर्माणको सोच हाम्रोभन्दा धेरै माथि छ । उनीहरूको चलचित्रको इतिहास नै हाम्रोभन्दा लामो छ । हामी विस्तारै आफ्नो चलचित्रको एउटा परिचय बनाउँदैछौँ । उनीहरू चलचित्रको ठूलो शक्ति आफ्नोपन, आफ्नो कथा र आफ्नो शैलीलाई मान्छन् । तपाईंले रोजेको कथा र तपाईंले भन्न खोजेको शैली उत्कृष्ट छ भने संसारभर तपाईंको चलचित्रलाई कसैले रोक्न सक्दैन भन्ने हौसला दिइरहन्छन् । हामी एउटा कन्टेन्टमा खेल्न सक्छौँ, राम्रो निर्माण शैलीमा पुग्न धेरै समय लाग्छ । बलिउड र हलिउड पुग्दा सोच र मिहिनेतका आधारमा हामी पनि कम छैनौँ भन्ने अनुभव भयो । त्यहाँ पुग्दा चलचित्रका लागि आफ्नोपन र आफ्नो देशको कथा, कला र संस्कृति नै ठूलो हतियार हो भन्ने लाग्यो ।
चलचित्र र जीवनलाई कसरी लिनुहुन्छ ?
चलचित्र र जीवन करिब–करिब उस्तै हो । यदि जीवन नरहेको भए चलचित्र बनाउँदिन थिएँ । जीवनमा हामी आफ्नो धरातलमा बाँचिरहेका हुन्छौँ भने चलचित्रमा हामी एउटा लेन्सका माध्यमबाट बाँचिरहेका हुन्छौँ । दुईवटै जीवन हो । एउटा काँचको पर्दाभित्रको जीवन र अर्को काँचको पर्दाबाहिरको जीवन । दुइटै जीवनले तपाईंलाई केही न केही सिकाइरहेको हुन्छ ।
चलचित्रमा संघर्ष गरेर स्थापित हुनुभएको छ । यसको श्रेय कसलाई जान्छ ?
हरेक क्षेत्रमा मानिसहरूको आ-आफ्नो इतिहास र संघर्ष हुन्छ । म पनि आफ्नो पढाइलगायत संघर्षमा आज जे छु, जति सफल वा असफल छु, जतिको मनमा र दिमागमा छु, त्यति नै सफलताका रूपमा लिन्छु । आफूले रोजेको क्षेत्रमा काम गर्न पाउनु नै मान्छेको ठूलो सफलता हो । कति सफल भएँ वा भइनँ भन्ने कुरा दर्शक र पत्रकार साथीहरूले मूल्यांकन गर्ने कुरा हो । तर, जे-जति पाएँ, त्यसमा म खुसी छु, यसको श्रेय आफूप्रतिको विश्वास, यो क्षेत्रप्रतिको अनुशासन र लगाव तथा मिहिनेतलाई नै दिन्छु ।
यहाँको विचारमा चलचित्र कला कि व्यापार ?
चलचित्र कला वा व्यापार भन्ने विषयमा विवाद र बहस भइरहेका छन् । मेरो बुझाइमा कलात्मक मान्छेहरूले गर्ने व्यापार नै चलचित्र हो । तर, कलामात्र चलचित्र र व्यापारमात्र चलचित्र होइन । कलात्मक कलै कलाले भरिएको व्यापार मान्छु ।
तपाईंलाई सिंगल थिएटरबाट मल्टिप्लेक्समा नेपाली दर्शकलाई तान्न कत्तिको चुनौतीपूर्ण लाग्यो ?
मैले जुन समयमा चलचित्र करियर सुरु गरेको थिएँ, त्यस समयमा थोरै मल्टिप्लेक्स र धेरै सिंगल थिएटर थिए । चलचित्र बन्ने र हेर्ने शैली फरक थियो । पुरानै शैलीका एक्सन चलचित्र, प्रेम र पारिवारिक कथा रुचाइन्थ्यो । मैले युवा अनुहारलाई लिएर कोरियन हलिउड शैलीको प्रेमकथाको चलचित्र ‘मेरो एउटा साथी छ’ बनाएँ । जुन आफैंमा चुनौती थियो । म कतिसम्म सफल हुन्छु भन्ने थाहा थिएन । मलाई थाहा थियो कि हामी जानुपर्ने बाटो यही थियो । हामीले चलचित्र बनाइरहँदा कतिपय अग्रजले ‘बच्चाहरूले के चलचित्र बनाउँछन्’ भन्ने आरोप नलागेको होइन । चलचित्र बनाएर टिजर छोडेपछि मानिसहरूले केही नयाँपन पाउनुभयो । ‘नेपाली चलचित्रको टिजर हो र ?’ भन्नेसम्मको चर्चा सुनिएको थियो । नेपाली चलचित्र नहेर्ने युवापुस्ताको मनमा ‘मेरो एउटा साथी छ’ पुगिसकेको रहेछ । दशैँको समयमा चलचित्र चल्दैनन् भन्ने मान्यतालाई हामीले तोड्यौँ । त्यो पहिलो प्रयासमा बेजोड व्यापार गरेको थियो । त्यसपछि नेपाली चलचित्र नहेर्ने दर्शक र मल्टिप्लेक्सलाई नेपाली चलचित्रप्रति विश्वास बढ्यो । त्यतिबेला डिजिटलको सुरुवात विस्तारै भइरहँदा डिजिटलले मात्र राम्रो देखिएको हो कि के हो भन्ने थियो । नेपाली चलचित्र मल्टिप्लेक्समा जाने समयमा मेरो चलचित्रले काम ग¥यो ।
आगामी योजना ?
मेरो हरेक चलचित्र रिलिजपछि अर्को चलचित्र एउटा नयाँ योजनामै बनिरहेको हुन्छ । कुनै न कुनै कोणबाट चलचित्रको कथालाई भन्ने तरिकामा विश्वव्यापी परिवर्तन भइरहेका छन्, त्यो परिवर्तनलाई चाहे त्यो प्राविधिकरूपमा होस्, चाहे निर्माणमा होस्, त्यसलाई स्वीकार्दै नेपाली कथालाई जतिसक्दो विश्वभरका दर्शकको हेराइ वा हेर्न चाहेको दृष्टिकोणबाट चलचित्र बनाउने मेरो प्रयास जारी रहनेछ । मेरा हरेक आगामी चलचित्रलाई मजबुत बनाउन सकूँ अथवा त्यसलाई राम्रोसँग भन्न खोज्नु नै मेरो योजना रहनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच