रेसुंगा नगरपालिकाको १४औं नगरसभा सम्पन्न

Read Time = 6 mins

गुल्मी । गुल्मीको रेसुंगा नगरपालिकाको १४ औं नगरसभा सम्पन्न भएको छ । यस नगरपालिकाले दुईवटा विधेयक पारित गर्दै १४औं नगरसभा सम्पन्न भएको हो । नगरसभामा विधायन समितिका संयोजक कृष्णप्रसाद पाण्डेले रेसुंगा नगरपालिकाको संस्था दर्ता विधेयक, २०८० र रेसुंगा नगरपालिकाको जनस्वास्थ्य विधेयक २०८० सभामा पेश गर्नुभएको हो । उहाँले सभामा पेश गर्नुभएका दुईवटा विधेयकहरु सभासदस्यहरुले पारित गर्नुभयो ।

नगरसभाका अध्यक्ष तथा रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले आर्थिक वर्ष २०८०/०८१ मा नगरपालिकाबाट भएका अर्धवार्षिक प्रगतिको बारेमा जानकारी गराउनुभयो । उहाँले नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ मा आन्तरिक राजश्वतर्फ हालसम्म ७२ लाख ७९ हजार रुपियाँ संकलन भएको, भौतिक प्रगति करिब ४० प्रतिशत र वित्तीय प्रगति चालुतर्फ २५ प्रतिशत र पुँजिगततर्फ २६ प्रतिशत वित्तीय प्रगति भएको बताउनुभयो ।

उहाँले सार्वजनिक सेवा प्रवाहलाई अझ चुस्तदुरुस्त पारिएकोदेखि सदरमुकाम तम्घासको सडक रि–पिच, जिल्लालाई हवाई यातयातसँग जोडिएको र हालैमात्र गुल्मी अस्पतालमा मृगौलाको डायलासिस सेवा सञ्चालनसहित दजर्नौ विकाससँग सम्बन्धित कार्यक्रमहरु प्रस्तुत गर्नुभयो ।

मेयर पन्थीले गुल्मीको समुन्नतिको आधारको रुपमा रहेको सालझण्डी–पटौती–दुर्गाफाँट–खज्र्याङ्ग–राङ्बास –सिमिचौर–तम्घास सडक कालोपत्रे गरि छिटो सञ्चालनमा ल्याउन बजेट सुनिश्चितको लागि निरन्तर पहलसंगै निर्माण कार्यको पनि अनुगमन गरिएको बताउनुभयो ।

एक दशकसम्म निर्माण व्यवसायले काम नगरेर अलपत्र परेको तम्घास–खाम्सेपानी सडक निर्माणका लागि पटक–पटकको ताकेताबाट निर्माण व्यवसायीलाई ल्याएर कार्य सुरु गरेको, लामो समयसम्म पनि निर्माण कार्य सम्पन्न हुन नसकेको तम्घास–नेटा सडक सम्पन्न गर्नका लागि निर्माण व्यवसायीलाई पटक पटक ताकेता गरिएको कारण निर्माण व्यवसायीले निर्माण कार्य सुरु गरेको भन्दै यहि आर्थिक वर्षमा सम्पन्न गर्ने प्रतिवद्धता जनाएको बताउनुभयो । रेसुंगा गर्जुरा पार्कको निर्माण कार्य समयमै सम्पन्न भएपनि निर्माण व्यवसायीलाई भुक्तानी गर्न रकम अभाव भएकाले पटकपटकको पहलमा सो रकम अहिले निकासा भएर सम्बन्धित निर्माण व्यवसायीले प्राप्त समेत गरेको भन्दै आवश्यक प्रकृया पूरा गरी पार्क सञ्चालन गर्ने तयारीमा लागेको बताउनुभयो ।

अहिले तम्घास बजार सुन्दर बजारको रुपमा परिणत भएको भन्दै मेयर पन्थीले तम्घास बजारलाई उज्यालो शहर बनाउन स्मार्ट स्ट्रीट लाइट राख्ने प्रक्रिया अगाडि बढेको बताउनुभयो ।

आर्थिक वर्ष २०८०–०८१ लाई रेसुंगा भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरिएअनुसार जाउँ हिँड रेसुंगा अभियान सञ्चालन गरिएको र गत श्रावणदेखि हालसम्म ३० हजार पर्यटकले रेसुंगा भ्रमण गरिसक्नुभएको बताउनुभयो । उहाँले तम्घासमा स्थानीय रैथाने सडक खाना महोत्सव सञ्चालन गरिने र पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाका होटल व्यवसायीहरुका लागि तम्घासमा वृहत् क्षमता विकास तालिम सञ्चालन गरिने समेत जानकारी दिनुभयो । गाई र भैँसीमा निःशुल्क कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालन भइरहेको, नगरपालिकाको पहलमा तम्घास हाटबजारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालय सञ्चालनमा ल्याई यहाँका नागरिकहरुलाई सुलभ दर रेटमा खाद्यान्न सामग्री उपलब्ध भइरहेको जानकारी गराउनुभयो ।

मोतिया बिन्दुको निःशुल्क अप्रेशन सेवालाई निरन्तरता दिइएको, रेसुंगा नगरपालिका –१४ नम्बर को रातामाटाका जनतालाई भौगोलिक विकटताका कारण वडा कार्यालयमा पुग्न टाढा भएकोले रातामाटामै वडाको सेवा केन्द्र र शहरी स्वास्थ्य सेवा केन्द्र सञ्चालन गरि सेवा प्रवाह भइरहेको बताउनुभयो ।

मेयर पन्थीले छिमेकी मुलुक भारत र दक्षिण कोरियाको भ्रमण गरेको भन्दै दुवै भ्रमण फलदायी भएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?