काठमाडौं । नेपाल डेरी एसोसिएसनले माघ ७ गते रजत जयन्ती एवं वार्षिक साधारणसभा मनाउने भएको छ । २०५५ सालमा स्थापना भएको एसोसिएसनले २४औँ स्थापना दिवस मनाउन लागेको हो । एसोसिएसनका अध्यक्ष प्रहृलाद दाहालले एसोसिएसन स्थापना हुनुको मुख्य उद्देश्य दुग्ध प्रशोधन व्यवसायीको सामूहिक व्यावसायिक हक हित सुरक्षा र उन्नतिका लागि भएको भन्दै आगामी दिनमा समेत उद्योगीको सुझावका आधारमा अघि बढ्ने बताउनुभयो ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘स्वच्छ तरिकाबाट दूध तथा दुग्ध पदार्थ प्रशोधन, उत्पादन बजार व्यवस्थापन र व्यापारीकरण गर्ने व्यवसायीको ज्ञान अभिवृद्धि गर्नेदेखि वातावरण संरक्षणमा एसोसिएसनले काम गर्दै आएको छ र आगामी दिनमा त्यसलाई निरन्तरता दिनेछ ।’
बाहिरबाट आयात हुँदा देशमा दूध तथा दुग्ध पदार्थ व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको भन्दै अध्यक्ष दाहालले हाल डेरी उद्योगहरूसँग करिब पाँच अर्ब बराबरको धुलो दूध र बटर स्टकमा रहेको जानकारी गराउनुभयो । समस्या समाधानका लागि सरकारले उपभोग बढाउने कार्यक्रम ल्याउनुपर्ने उहाँको भनाइ थियो । अध्यक्ष दाहालले विद्यार्थी, सुरक्षा निकाय, खेलाडीलाई दूधको महत्व बुझाई दूध तथा दुग्धजन्य पदार्थप्रति आकर्षित गर्नुपर्र्ने आवश्यकता आंैल्याउनुभयो ।
एसोसिएसनका पूर्वअध्यक्ष सुमित केडियाले स्टक बढ्दै जाँदा दूधजन्य पदार्थ भण्डारणमा समस्या भएको गुनासो गर्दै सरकारले कोल्डस्टोरको व्यवस्था गरिदिएर सहजीकरण गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘उत्पादन बिक्री नहुँदा उद्योगमा राख्ने ठाउँ छैन । प्रतिकेजी १० रुपैयाँ कोल्डस्टोरमा भाडा तिरेर बटर राख्नुपरेको छ, एकातिर बिक्री नहुने अनि अर्कोतिर भाडा तिर्दा उद्योगी दोहोरो मारमा परेका छन्, जसको असर किसानमा पनि परिरहेको छ । यस्तै अवस्था रहेमा किसानको भुक्तानीमा पनि समस्या आउनेछ ।’ समस्या समाधानका लागि सरकारले डेरी उद्योगलाई पनि सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्नुपर्ने केडियाको माग रहेको छ । साथै उहाँले नेपालमा दूध तथा दुग्ध पदार्थको प्याकेजिङ लागतका कारण पनि उत्पादन महँगो हुन गएकाले सरकारले प्याकेजिङ सामग्रीको भन्सारदरमा सहुलियत दिनुपर्ने बताउनुभयो ।
एसोसिएसनले रजत जयन्तीका अवसरमा पाँच दिनसम्म देशभर विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । साथै आगामी दिनमा एसोसिएसनको आफ्नै भवन निर्माण गर्ने, सदस्यहरूको हितका लागि स्थापित राहत कोषमा रकम बढाउने, सामूहिक कोल्डस्टोर स्थापना गर्ने, नेपालको डेरी स्तरोन्नति गर्न एसोसिएसनका सदस्यलाई स्वदेश तथा विदेशमा डेरी, फार्म र मेला अवलोकन गराउन पहल गर्ने, दूध तथा दुग्ध पदार्थको स्वच्छतासम्बन्धी निर्देशिका पालना गर्न लागिपर्ने जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच