सुनसरी । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीले सुरु गरेको आन्दोलन थप पेचिलो बन्दै गएको छ । आपत्कालीन उपचारबाहेक अन्य सेवा ठप्प पारेर उनीहरूले अहिले दिनहुँ प्रदर्शन गरिरहेका छन् । आन्दोलनकै कारण अहिले प्रतिष्ठानले सञ्चालन गरेको चिकित्सकीय तथा पढाइसम्बन्धी कामहरू ठप्पप्रायः छन् । लामो समयदेखि नियमित बढुवा नभएको भन्दै चिकित्सक तथा कर्मचारीहरू आइतबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलन चर्किरहेकै बेला प्रतिष्ठानको कायममुकायम उपकुलपति प्रहृलाद कार्की भने बिदामा बस्नुभएको छ । बढुवा विवाद सुल्झाउन गत २५ पुसमा उपकुलपति आफैँले प्रतिष्ठानको कार्यकारिणी बैठक बोलाउनुभएको थियो । बैठकमा शिक्षक कर्मचारीहरूको बढुवाका लागि अन्तर्वार्ता मिति तोक्ने विषयको कार्यसूची थियो । तर, आफैँ बैठक बोलाएकै दिन उपकुलपति कार्कीले रेक्टर प्राडा. सञ्जीव शर्मालाई निमित्त दिएर बिदामा बस्नुभयो । जबकि उहाँले दोस्रो वरीयतामा रहेका प्रतिष्ठानका रजिष्ट्रारलाई भने बाइपास गर्नुभएको थियो ।
कामु उपकुलपति कार्कीले बैठक छलेपछि आन्दोलनरत चिकित्सक तथा कर्मचारी थप रुष्ट बनेका थिए । विवाद सुल्झाउन लाग्नुभएका धरान उपमहानगरका मेयर हर्क साम्पाङले आन्दोलनरत चिकित्सक तथा कर्मचारीहरूसँग समस्या समाधानका लागि आफूले स्वास्थ्य मन्त्रालयलाई ताकेता गर्दै आएको बताउनुभएको थियो । साम्पाङ आफैँ प्रतिष्ठान पुगेर कामु उपकुलपतिको कार्यकक्षमा तालासमेत लगाउनुभएको थियो । बिपी प्रतिष्ठानमा बढ्दै गएको समस्या र शिक्षक कर्मचारी चिकित्सकका माग सम्बोधन गर्न उपकुलपतिले नसकेको भन्दै मेयर साम्पाङ सोमबार एक्लै प्रतिष्ठानमा पुगेर तालासमेत लगाइदिनुभएको थियो ।
उपकुलपति खोजिदिन स्वास्थ्यमन्त्रीलाई पत्र
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्राडा. प्रल्हाद कार्कीलाई तत्काल उपस्थित गराइदिन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई आग्रह गर्नुभएको छ । मंगलबार मन्त्री बस्नेतलाई पत्र लेखी मेयर साम्पाङले प्रतिष्ठानमा दिनहुँ आन्दोलन भई उपचार सेवा प्रभावित भएको, पठनपाठन र परीक्षासमेत ठप्प भएको भन्दै कायम मुकायम उपकुलपतिलाई उपस्थित गराएर निकासका लागि सहयोग गरिदिन आग्रह गर्नुभएको हो ।
कार्कीले कार्यकारिणी समितको बैठक डाक्न नसकेको, शिक्षक, कर्मचारी, चिकित्सकका माग सम्बोधन गर्नुपर्नेमा लुकिछिपी बसेको मेयर साम्पाङले पत्रमा उल्लेख गर्नुभएको छ । कार्कीले हाल आफू नभएको अवस्थामा प्रतिष्ठानको अख्तियारी पाएका कामु उपकुलपतिको सम्पूर्ण अधिकारी फिर्ता लिएको तथा आफू अनुकूलका व्यक्ति तयार गर्न प्रतिष्ठानका ११ विभागीय प्रमुखलाई पनि जिम्मेवारीबाट हटाउनेजस्ता अराजक गतिविधि गरेको मेयर सम्पाङको भनाइ छ ।
प्रतिष्ठानमा भएको आन्दोलनका कारण ओपिडी सेवा बन्द हुँदा बिरामीको उपचार प्रभावित भएको छ । यस्तै, प्रतिष्ठानमा हुँदै गरेको पठनपाठन र परीक्षासमेत ठप्प भएको छ । मेयर साम्पाङले तत्काल प्रतिष्ठानको कामय मुकायम उपकुलपति प्राडा. कार्कीलाई तुरुन्त उपस्थित गराई समस्या समाधान गर्न भन्दै पत्रमार्फत स्वास्थ्यमन्त्रीलाई आग्रह गर्नुभएको हो ।
प्रतिष्ठानमा बढुवा विवाद चर्किंदै गर्दा बिदामा बसेका कामु उपकुलपतिको विषयमा धरानमा क्रियाशील रहेका राजनीतिक दलहरूले समेत प्रश्न उठाएका छन् । धरानमा क्रियाशील प्रमुख पाँच राजनीतिक दलका प्रतिनिधिहरूले संयुक्त वक्तव्य जारी गर्दै प्रतिष्ठानमा भइरहेको क्रियाकलाप नियालिरहेको बताएका थिए । दलहरूले आफूहरूको समेत उपस्थितिमा भएको बढुवासम्बन्धी सम्झौता कार्यान्वयन गर्न गराउन आग्रहसमेत गरेका छन् । दलहरूले आन्दोलनको कारण दैनिक स्वास्थ्य लगायतको सेवा अवरुद्ध नगर्न चेतावनीसमेत दिएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच