राजनीति एउटा व्यवस्था हो । यो नै अव्यवस्थित भयो भने के गर्ने ? भनेका रहेछन् शास्त्रमा शास्त्रकारले भनेर दिनरात गरी खोज्दा राजनीति राज्यव्यवस्था परिचालन गर्ने एउटा खास पद्धति या दर्शन हो भन्ने र राजनीति नेतासापेक्ष असल खराब हुन सक्ने देखियो । असलका कुरा खोज्दा मनु, दानवराज बली, प्रहृलाद, ध्रुव, राम, राजा जनक, रन्तिदेव, राजा शिवी, राजा मोरध्वज, राजा मुद्गल, राजा हरिश्चन्द्र, राजा पृथु, राजा भरतजस्ता राजाहरूको नाम भेटियो भने खराबमा हिरण्यकशीपु, रावण, सहस्रार्जुन, स्त्रैण, राजा दशरथ, कंस, सन्तनु, धृतराष्ट्र, दुर्योधन आदि आदि । राम्रा राजा जनता र देशका पक्षमा उभिँदारहेछन् । नराम्रा राजा भोगविलास, मोजमस्ती, वारुणी र तरुणीका वशवर्ती बनेर अरूलाई सताउने या राज्य बढाउन खोज्दा राज्यै हारेर वनवास जाने आदि पनि भएको देखिँदोरहेछ ।
मैले पूर्व र पश्चिमको राजनीतिक विकास र ‘विश्वका ६ महान् राजनीतिक चिन्तक’ भन्ने पुस्तक पढ्दा संसारको प्रचीन ऐतिहासिक कालखण्डदेखि नै राजा र प्रजाको समधुर सम्बन्ध या राज्यका अजस्र शक्तिका स्रोत जनता र तिनलाई सुखसुविधा दिने प्रतिनिधि पात्रका रूपमा रहेका राजा पाइएका ठाउँको एउटा स्थिति र सबै कुरो म नै हुँ भन्ने लुई १४औं जस्ता शासक या राजा भएका ठाउँको अवस्था भिन्न भएको भेटिँदोरहेछ । मेरा कुरा सुनेर हाम्रा देशका राजनीतिको मखुण्डोधारी शासक र तिनका गुणवगुणको व्याख्या विश्लेषण गर्ने कथित राजनीतिशास्त्रज्ञ हाँस्लान् हाँसुन् केही छैन ।
पृथ्वीनारायण शाहलाई पनि मोजमस्तीका दुनियाँबाट समाज निर्माण र राष्ट्रएकीकरणका लागि झक्झक्याउने बिसे नगर्ची, विराज बखती र कालु पाण्डेजस्ता देशभत्तल दूरदर्शी र केही गरौं भन्ने भावनाले ओतप्रोत भएका मान्छे थिए । बहादुर शाह यदि राजगद्दीनसीन भएर जन्मेका भए यो देशको नापनक्सा शायद आजको भन्दा भिन्न हुनेथियो ।
तिनले त्यस्तै बुझे मैले यस्तै बुझेँ । बुझाई आआफ्नै हुँदारहेछन् । प्रगैतिहासिक काल (पुराणकाल) ऐतिहासिक काल (इतिहास लेखन र राज्यको उदय) दोस्रो विश्वयुद्धपछिको राजनीतिक परिपाटी या पद्धति गरी तीन कालखण्डमा विश्वराजनीतिलाई मोटामोटी मैले विभाजन गरेर अध्ययन गर्दा नेपाल विश्वको समानान्तर अवस्थामा रहेको देखिन्छ । यहाँसम्म कि चीन र भारतका अवस्थामा पनि पुग्न यसलाई महाप्रलय छ । अझै हजारौं वर्ष लाग्न सक्छ र पुग्दै नपुग्न पनि सक्छ ।
हुतीहारा नेता र नीच प्रवृतिको साचिव्य
प्रगैतिहासिक र ऐतिहासिक काललाई पृष्टभूमिमा छाडेर नेपाल राष्ट्रको निर्माणका बेलाको उत्साह, लक्ष्य र लक्ष्यका प्रतिको एकलव्यभाव पृथ्वीनारायण शाहका छोरादेखि नै परिसमाप्त भएर गएको देखिन्छ । त्यस बेलाको साचिव्य र भृत्यतन्त्र पनि त्यति भरपर्दो थिएन किनभने देश सबैको हो भन्ने भावका ठाउँमा देश राजाको हो भन्ने मान्यता स्थिर गर्न खोजिँदै थियो । सिंहप्रताप शाह विलासी राजा थिए । उनको स्वचिन्तन र कुनै प्रकारको संकल्पशक्ति थिएन । राजारणबहादुर शाह स्त्रैण, कामुक र इष्र्यालु भएको कुरो जगजाहेरै छ ।
यसै कारण रानी राजराजेश्वरी र बहादुर शाहका बीचमा भयानक टकराव पनि भयो थुनछेक गर्ने गराउने र देशै निकाला गर्ने गराउनेसम्मका घटना भएका नै हुन् । पाण्डे र थापा खलकका बीचको तँ नाईं कि मनाईं पनि यसै बेला नेपालमा देखापरेको थियो । अहिलेका ओली कमरेड र प्रचण्ड कमरेडजस्तै ।
राजा रणबहादुरका भूमिकामा आज कांग्रेस सभापति पुगेका छन् स्त्रीका वशवर्ती भएर । पृथ्वीनारायण शाहलाई पनि मोजमस्तीका दुनियाँबाट समाज निर्माण र राष्ट्रएकीकरणका लागि झक्झक्याउने बिसे नगर्ची, विराज बखती र कालु पाण्डेजस्ता देशभक्त दूरदर्शी र केही गरौं भन्ने भावनाले ओतप्रोत भएका मान्छे थिए । बहादुर शाह यदि राजगद्दीनसीन भएर जन्मेका भए यो देशको नापनक्सा शायद आजको भन्दा भिन्न हुनेथियो । पशुपतिनाथलाई यो कुरो मन्जुर नभएको हुनाले नै रणबहादुर शाहजस्तो स्त्रैण, इष्र्यालु, षड्यन्त्रकारी बीर्यविहीन चाहिँ राजगद्दीको उत्तराधिकारी बनेर आयो । राजा उग्रसेनलाई थुनेर कंसले राजपाट लिएर के गर्यो भन्ने सबैले बुझेका छन् । हिटलर पनि चुनावबाट आएर संसारलाई र विशेषगरी यहुदीलाई के दियो के भोगायो भन्ने कुरो लाटालाई पनि थाह भएकै कुरो हो ।
नेपोलियन बोनापार्टका सम्बन्धमा र एर्साद, दादा इदि अमिन, खुमेनी ओसामा बिन लादेन, सन्त जर्नेल सिं भिन्दरावाले आदिका सम्बन्धमा पनि खासै वर्णन गर्नु नपर्ला । किनभने, लर्ड मेकालेको पाठ्यक्रम पढेकाले पनि पढेकै कुरा हुन् । पाकिस्तानका जर्नेल, बांगलादेशका जर्नेलपत्नी र नेतृपुत्रीको चक्चकी पनि सबैले बुझेका छन् । बर्मेली सेनालाई त विष्णुको संरक्षण पाएर आफ्नै पिताका विरुद्ध लागेको प्रहृलाद बनाएको छ चीनका समर्थनले भने चीनकै समर्थनले श्रीलंका टाट पल्टेर जे भुक्तान भोग्नु पर्यो त्यो संसारका आँखाबाट छिपेको छैन नै । नेपालका प्रजातन्त्र र साम्यवादतन्त्रको छलपूर्ण खेती गर्ने छोटे तानाशाहरूले पनि इतिहासबाट केही पाठ सिके हुने हो भनेर आज म कलम समाउँदैछु ।
सिक्काका दुई पाटा हुन्छन्
हिमाली भेकतिर पाइने बुलु नामको एउटा विषालु वनस्पतिको फूल, फूलको सुवास, पात, डाँठ सबै विषाक्त हुन्छन् । भनिन्छ त्यो विषको ओखती पनि त्यसै बोटमा रहेको हुन्छ । यो बोट नभएर सानो पुष्पजातिको झार हो । यसको एउटा बिरुवा उखेलेर बगुवा पानीका छेउमा बसेर काट्दै पानीमा बगाउँदै गर्दा जुन चाहिँ टुक्रो पानी भएका खोलाको बहावविपरीत शिरतिर बग्छ हो, त्यो चाहिँ ‘विषमा’ हो । उल्टो शिरतिर बग्ने टुक्रो घोटेर बुलु लागेकालाई खुवाएपछि तुरुन्तै बुलुको विष उत्रन्छ भन्छन् । निर्माणमा ध्वंश पनि लुकेको हुन्छ । पृना शाहले नेपाल राज्यको निर्माणसँगै अनेकौं भारेभुरे राज्यको विनाश पनि त गरेका थिए । ती विनष्ट राजाका लागि पृथ्वीनारायण शाह जस्तै अहिलेका राजाका लागि गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल उस्तै भएनन् र ?
अहिले गिरिजाप्रसादका ठाउँमा शेरबहादुर भएका हुनाले कतिपय मान्छे शेरबहादुरको नाम लिन्छन् तर कमल र भ्यागुतो दुवै हिलामा हुन्छन् भन्दैमा कमल र भ्यागुताको महिमा एकै हुन्छ र ? १७ हजारमध्ये ५ हजारको जिम्मा लिन्छु भन्ने पुष्पकमल दाहालले हतियार उठाए भन्दैमा ‘म नेपाली कांग्रेसको सभापति हुँ, मेरा आहृवानमा ती सबै काम भएका हुनाले तिनका प्रति मेरो नैतिक जिम्मेवारी छ’ भनेर सर्वोच्चमा आफ्ना दृष्टि प्रस्तुत गर्ने विश्वेश्वरप्रसाद कोइरालाको महिमा एकै हुन्छ र ? कोइराला नेपालको एक चिम्टी माटो र एकजना मान्छे पनि समाजमा सुखपूर्वक रहनसकून् र समानता, स्वतन्त्रता, भ्रातृता र विश्वबन्धुताका साथै राष्ट्रियशक्तिका बीचको एकता र मेलमिलापको असली र प्रभावकारी कार्ययोजनाका साथ अघिबढ्नुभएको थियो ।
यसलाई विसर्जन गरेर वर्तमान सभापतिले गठबन्धन रोजेर सत्ता र शक्तिमा रहिरहने इच्छा प्रकट गरेपछि प्रत्येक प्रदेशका मुख्यमन्त्रीलाई श्रीश्रीश्री ३ घोषण गरी (उदाहरणका लागि कोशी प्रदेशका मुख्य मन्त्रीलाई श्री ३ केदारशमशेर जंगबहादुर राणा कार्की र त्यस प्रदेशका शक्तिशाली मान्छेलाई चाहिँ श्री ५ खड्गवीरविक्रम शाह ओली भन्ने उपाधि र पदसमेत निर्धारण गरी नेका सभापतिलाई चाहिँ श्रीश्रीश्रीश्रीश्रीश्री ६ महाराजाधिराज शेरवीरविक्रम शाह देउवा भन्ने उपाधि र तदनुकूलकै पारिवारिक हाय¥यांकी पनि निर्धारण गरेको भए उहाँको इच्छा अलिकति भए पनि तुष्ट हुन्थ्यो कि ? यसो गर्न किन चुके हाम्रा देशका श्री ३ र श्री ५ को उपाधि र सुविधामा तर्तरी ¥याल काढ्ने महान् लायकभन्दा पनि महालायक महामनाहरू बुझ्न सकिएन ।
खुमेनी, एर्साद, हिटलर, नेपोलियन, निरो, गोएवेल्स, किम जोङ, पुटिन, हमास र नेतान्याहु, दादा इदि अमिनभन्दा पनि ठूला शान्तिप्रिय अहिंसक व्रतधारीहरूमध्ये धेरै नेपालमा नै अहिले हामीले पाउनु कम सौभाग्यको कुरो हो ? देशैभरिबाट माग गरौं अब श्री ३ र श्री ५ यिनै महान्तमलाई बनाइयोस् भनेर ।
काम गरेर करनी देखाएपछि खाइसुविधा लिन किन हिच्किचाए यी हुनहार व्यक्तित्वहरू ? पृथ्वीनारायण शाहले राज्य एकीकरण गरेर श्री ५ बडामहाराज र जेठो छोरो राजा हुने विशेष परिस्थितिमा अंशियारमध्येको नजिककाले पाउने निर्धारण गरेर बाटो पनि देखाएका थिए । राज्य पुनर्संरचना भनेर भएका भूभागलाई आली र सीमा कोरेर खण्डखण्ड बनाइसकेपछि किन लजाएका यी महानायक । १७ वर्ष दुलामा बसे पनि यस वर्ष त महानायक सबै नाकाम पृथ्वीनारायण शाहका सालिक वरिपरि भेला भएर थुकका लड्डूमात्रै खाएनन् ‘पृथ्वीनारायण शाह महाको सनके सामन्त हो’ भनेर सिंहदरबार अगाडिको उनको सालिकको हात भाँच्ने महान् पार्टीका महान् क्रान्ति (भ्रान्ति ?) नायक पनि दौराको फुर्को हल्लाउँदै देखापर्न पनि यी महान् झुम्रे सफल भएको देखियो ।
पाण्डवलाई दिएको खाण्डव प्रदेश पनि धृतराष्ट्रले दुर्योधनका करकापबाट लिएकै हुन् । जरासन्धले पनि राज्य एकीकरण गरेकै थियो । यवन र क्रिश्चियनले पनि त उदाहरण देखाएकै थिए । यस्तो अवस्थामा नेपाली कांग्रेस, एमाले र माओवादी या मधेसका जमिन्दारहरू मिलेर अब पनि गरे हुन्छ । विचरा महन्तवीरविक्रम शाह ठाकुर श्री ५ भए के चाहिँ बिग्रन्थ्यो र ? सबैभन्दा पहिले पार्टी फुटाएर प्रादेशिक सोच ल्याएकै हुन् । श्री ३ उपेन्द्रजंबहादुर राणा यादव भन्ने उपाधिमा उहाँ पनि त सुशोभित हुनुहुन्थ्यो । प्रचण्डका छोरीको विरोध गणतन्त्रको विरोध, क्रिश्चियनको विरोध संविधानको विरोध, राज्यसँग रोजगारी माग्दा ज्वालाका गोली र बन्दुकका कुन्दा खाएर जीवन उत्सर्जन गर्नुपर्छ जनताले भने बरु १०४ तिरै नेपाललाई फर्काएर किन नलगेको ?
महान् पाएकामा गौरव गरौं
खुमेनी, एर्साद, हिटलर, नेपोलियन, निरो, गोएवेल्स, किम जोङ, पुतिन, हमास र नेतान्याहु, दादा इदि अमिनभन्दा पनि ठूला शान्तिप्रिय अहिंसक व्रतधारीहरूमध्ये धेरै नेपालमा नै अहिले हामीले पाउनु कम सौभाग्यको कुरो हो ? देशैभरिबाट माग गरौं अब श्री ३ र श्री ५ यिनै महान्तमलाई बनाइयोस् भनेर । यी बेगर देश नबाँच्ने भयो । अतः मह काड्नेले हात चाट्छ भन्ने लोकवेदका ऋचाले संकेत गरेअनुसार पहिलो र दोस्रो संख्याका सांसद भएका दलका नेता नै सातै प्रदेशमा श्री ५ र श्री ३ बन्ने व्यवस्था ल्याएर श्री ३ रेशमशमशेर जंगबहादुर राणा चौधरी र श्री ३ डिल्लीशमशेर जंगबहादुर राणा चौधरी पनि उच्च बन्ने मौका ५ नं प्रदेशले पनि पाउने थियो र गणेशमानजीका औरस पुत्र श्री ५ प्रकाशवीरविक्रम शाह सिंह बन्दा कसैलाई केही हानी त हुने थिएन नि ।
यति राम्रा काम नहुने/नगरिने हो भने फागुनबाट पुराना गाई गोठाला, भैंसी गोठाला, छाते, बगैंचेका शाखा सन्तानले यी महान् युगनायकलाई विस्थापित गरे भने ? अतः फागुन आउँनै नपाउने गरी उपर्युक्त प्रकारको घोषणा गरेर गौंडा गौंडामा पुलिस होइन मेल्ट्री राखेर मोरा ढिँडे ‘जनता’लाई जान्ने भएर सडकमा पुगेका दुई युवकको दशा भोगाउन नहिच्किचाउनुहोला है श्री ३ प्रचण्डप्रतापी महान् क्रान्तिनायक दिनको तीनपटक भ्रान्ति वितरक श्री ५ शेरवीरविक्रम शाह देउवादेवका प्रताप र कोमल कृपादृष्टिले सिंहमाथि चढेर जगर समातेर दुनियाँलाई दिग्भ्रमित बनाउन सफल हुनुहोस् युगयुगान्तर । जय क्रान्ति नायक ! सदा विजयतेतराम !!! भ्रान्ति नायकानाम् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच