पन्ध्र शैय्याको अस्पताल भवन अलपत्र

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 5 mins

सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिकामा निर्माण भएको पन्ध्र शैय्याको अस्पताल भवन प्रयोगमा नल्याउँदा अलपत्र परेको छ ।

तत्कालिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री राजेन्द्र महतोले २०६९ साल जेठ २ गते शिलान्यास गर्नुभएको यो अस्पतालको डेढ वर्षअघि निर्माण कार्य सम्पन्न भएको थियो । नगरपालिकाका जनप्रतिनिधिबीच बढ्दो टकराबले गर्दा हरिपूर्वा नगरपालिका-२ मा निर्माण भएको सुविधा सम्पन्न अस्पताल भवन सञ्चालनमा आउन नसकेको हो ।

१० वर्ष लगाएर निर्माण भएको अस्पताल भवन सञ्चालनमा नआउँदा स्थानीय चिन्तित बनेका छन् । हरिपूर्वा नगरपालिका-२, का बेचु साहले आफ्नै ठाउँमा पन्ध्र शैय्याको अस्पताल निर्माण भएपनि सामान्य बिरामी पर्दा समेत उपचारका लागि मलङ्गवा, जनकपुर वा काठमाडौँ जानुपर्ने बाध्यता रहेको गुनासो गर्नुभयो ।

अस्पताल सञ्चालनमा जनप्रतिनिधिले चासो नदिएको साहले गुनासो गर्नुभयो । “गाउँमै यति ठूलो अस्पताल भवन बनेको छ तर सञ्चालन गर्न जनप्रतिनिधिले चासो देखाएका छैनन्,” साहले भन्नुभयो, “आम नागरिक सामान्य बिरामी पर्दा खर्च बढाएर अन्यत्र गई उपचार गराउनुपर्ने बाध्यता छ ।”

अस्पताल भवन निर्माणका लागि हरिपूर्वा नगरपालिका-२ का स्थानीय विनोद साहले १० कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो । निर्माण भएको अस्पताल भवन भने अहिले अलपत्र परेपछि जग्गादाता साह पनि चिन्तित हुनुहुन्छ ।

नगरमा निर्माण भएको अस्पताल सञ्चालन नहुँदा स्थानीयले सास्ती खेपिरहेका साहले बताउनुभयो । “गाउँमा धेरैको अकालमा मृत्यु भएको र महिलालाई प्रसुति गराउन जनकपुर वा काठमाडौं धाउनुपर्छ, बाध्यता देखेर गाउँमै अस्पताल निर्माण होस् भनेर जग्गा दिएँ,” साहले भन्नुभयो, “तर राजनीतिक विवादले अस्पताल भवन बन्न नै १० वर्ष लाग्यो, बनेपछि पनि सञ्चालन आउन सकेको छैन् ।”

जग्गादाता साहले यो अस्पतालप्रति यसै क्षेत्रका निर्वाचित सङ्घीय सांसदसमेत रहनुभएका खानेपानी मन्त्री महिन्द्र राय यादव कहिले पनि सकारात्मक नभएको आरोप लगाउनुभएको छ । राजनीतिक खिचातानीका कारण अस्पताल यसरी अलपत्र परेको जग्गादाता साहले बताउनुभयो ।

अस्पताल निर्माण भएको हरिपूर्वा वडा नं. २ का वडाध्यक्ष दिनेश राय यादवले अस्पताल सञ्चालन नहुँदा गाउँका गरिब तथा विपन्न परिवारका मानिस बिरामी पर्दा महँगो एम्बुलेन्स भाडा तिरेर अन्यत्र जान बाध्य रहेका बताउनुभयो । “यहाँ कुनै प्रकारको आकस्मिक बिरामी परेर उपचार गर्न एम्बुलेन्समा जनकपुर जानुपर्दा पाँच हजार, काठमाडौं जाँदा १६ हजार र मलङ्गवा जाँदा तीन हजार भाडा लाग्छ,” वडाध्ययक्ष यादवले भन्नुभयो, “डाक्टर राखेर यो अस्पताल सञ्चालन गर्न पाए स्थानीयलाई ठूलो राहत मिल्थ्यो, कोही पनि महँगीमा पर्नु पर्दैनथ्यो ।”

हरिपूर्वा नगरपालिकाका प्रमुख विनोद कुमार साह तेलीले अस्पताल सञ्चालनका लागि आफूले गत आर्थिक वर्ष २०७९/०८० मै एक करोड रुपियाँ बजेट विनियोजना गरे पनि नगरका जनप्रतिनिधिले सो बजेट चलाउन खोज्दा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेलाई दुर्व्यवहार नै गरेको बताउनुभयो । उहाँले चालू आर्थिक वर्ष २०८०/०८१ मा नगर सभा नै नभएर बजेट पारित नभएकाले अस्पताल सञ्चालन गर्न नसकिएको स्वीकार गर्नुभयो ।

नगरप्रमुख साहले नगरपालिकामा बजेट सञ्चालन हुनासाथ अस्पताल भवन प्रयोगमा ल्याउने बताउनुभयो । “बजेट चल्नासाथ डाक्टरको व्यवस्थापन गरी अस्पताल सञ्चालन गर्ने उद्देश्य छ,” नगरप्रमुख साहले भन्नुभयो, “प्रमुख प्रशासकीय अधिकृत नभएर नगरसभा गर्न नपाएकै कारण अस्पताल अलपत्र परेको हो ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?