इलाम । जिल्ला सदरमुकाममा हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएपछि गाउँ-गाउँमा खेलकुदको ‘क्रेज’ बढेको छ । सदरमुकाम केन्द्रित हुँदै आएको रनिङ शिल्ड जिल्ला खेलकुद विकास समितिको पहलमा गत वर्षदेखि ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएको हो ।
यतिबेला पालिकाको विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्डको छनोट चरणका प्रतिस्पर्धा केही पालिकामा सम्पन्न भएका छन् भने केहीमा हुने तयारी छ । यहाँका १० पालिकामध्ये माई र देउमाई नगरपालिकासहित रोङ र माईजोगमाई गाउँपालिकामा विद्यालयस्तरीय प्रतियोगिता सम्पन्न भइसकेको छ । माङसेबुङ गाउँपालिकामा प्रतियोगिता भइरहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बास्तोलाले जानकारी दिनुभयो ।
सबै पालिकाले खेलकुदमा बजेटको व्यवस्था गरी पालिकास्तरीय प्रतियोगिता आयोजनासँगै विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्डको तयारी थालेका छन् । रनिङ शिल्ड उपाधि चुम्नका लागि वर्षैभरि खेलकुदका विभिन्न प्रतियोगिता पालिकास्तरमा गर्न थालिएको उहाँले बताउनुभयो । उहाँले १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माङसेबुङमा आगामी फागुनको पहिलो साता आयोजना हुने जानकारी दिनुभयो ।
ग्रामीण खेलकुदको विकास गर्ने उद्देश्यले गत वर्ष १३औँ राष्ट्रपति रनिङ शिल्ड फाकफोकथुम गाउँपालिकामा आयोजना गरिएको थियो । उक्त प्रतियोगिताको समापनका अवसरमा यस वर्षको रनिङ शिल्ड आयोजना गर्न अग्रसर माङसेबुङलाई झण्डा हस्तान्तरण गरिएको थियो । यसपटक पनि आगाामी वर्षको रनिङ शिल्ड आफ्नो पालिकामा गराउन माई नगरपालिका, रोङ र चुलाचुली गाउँपालिकाबीच प्रतिस्पर्धा चलिरहेको अध्यक्ष बास्तोलाले बताउनुभयोे ।
गाम्रीण क्षेत्रमा रनिङ शिल्ड आयोजना गर्दा २० देखि २५ लाख खर्च लाग्ने खेलकुद विकास समितिले जनाएको छ । आयोजक पालिकाले अलि बढी आर्थिक दायित्व लिने गरेको छ भने जिल्लाका अन्य सबै पालिकाले प्रतियोगिता सम्पन्न गर्नका लागि आर्थिक सहयोग गर्ने गरेका छन् । माई नगरपालिकाले चालु आर्थिक वर्षमा २२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्दा नगरपालिकाले प्रत्येक विद्यालयलाई १० हजार रुपैयाँ खर्च र खाजा खर्च उपलब्ध गराएको नगरप्रमुख खम्बासिं लिम्बूले जानकारी दिनुभयो ।
उहाँले सरकार परिवर्तनसँगै जिल्लाको खेलकुद नेतृत्व परिवर्तन हुँने क्रमले खेल क्षेत्र ओझेल परेको समेत गुनासो गर्नुभयो । नगरप्रमुख लिम्बूका अनुसार माई नगरपालिकाले राष्ट्रपति रनिङ शिल्डको छनोट चरणमा ६ लाख रुपैयाँ खर्च गरेको छ भने राष्ट्रपति रनिङ शिल्डको जिल्लास्तरीय खेलमा थप ६ लाख बढी खर्च हुनेछ ।
जिल्ला खेलकुद विकास समिति इलामका कार्यालय प्रमुख नारायण भट्टराईले राष्ट्रको खेलकुदको भविष्य तथा विद्यालय खेलकुदलाई एउटा औपचारिकतामा मात्र सीमित नगरी उत्सवका रूपमा प्रतियोगिता आयोजना गरी खेलाडी र खेल क्षेत्रकै हौसला बढाउन माई नगरपालिकाले उल्लेखनीय भूमिका खेलेको बताउनुभयो ।
माईजोगमाई गाउँपालिकाले खेलकुद विकासका लागि अध्यक्ष कप शीर्षकमा चालु आवमा १५ लाख विनियोजन गरेको छ । गाउँपालिका उपाध्यक्ष प्रविना राईले वडाले माग गरेअनुसार थप रकम उपलब्ध गराइने जानकारी दिनुभयो । सूर्योदय नगरपालिकाले चालु आवमा युवा तथा खेलकुद कार्यक्रम शीर्षकमा ८५ लाख विनियोजन गरेको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईले जानकारी दिनुभयो । नगरको आन्तरिक उक्त स्रोतबाहेक प्रत्येक वडाले रकम खेलकुद क्षेत्रमा विनियोजन गरेको जानकारी दिनुभयो ।
यसपटकको आयोजक माङसेबुङ गाउँपालिकाले चालु आवमा खेलकुदका लागि २० लाख बजेट विनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष हेमन्त राईले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माङसेबुङले आयोजना गरे पनि सफल पार्ने दायित्व १० वटै पालिकाको भएको बताउनुभयो ।
यसपटकको राष्ट्रपति रनिङ शिल्ड फागुन पहिलो साता हुँदैछ । प्रतियोगितामा छात्र÷छात्रा भलिबल, हाइजम्प, लङजम्प र मार्सलआर्टका सबै विधाका खेल हुनेछन् । पालिकास्तरबाट छनोट भई जिल्लास्तरमा र जिल्लास्तरमा छनोट भएका खेलाडीले प्रदेशस्तरीय खेलमा सहभागिता जनाउनेछन् । रनिङ शिल्डबाहेक इलामका ग्रामीण क्षेत्रमा विभिन्न प्रतियोगिता आयोजना हुने गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच