काठमाडौं । विभिन्न ब्राण्डका नक्कली मदिरा बनाई बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । स्वदेशी र विदेशी ब्राण्डका नक्कली मदिरा बनाई बिक्री भइरहेको भन्ने सूचनाका आधारमा काठमाडौंको थलीस्थित एक घरमा छापा मार्दा प्रहरीले विभिन्न ब्राण्डका नक्कली मदिरासहित उनीहरूलाई पक्राउ गरेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीस्थित एक घरभित्र नक्कली मदिराको कारखानामा छापा हानेको थियो । भरत थापाको दुई तले पक्की घरमा विनोदकुमार कार्कीले भाडामा लिएर नक्कली मदिराको कारखाना चलाएको भेटिएको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका व्यक्तिहरूलाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा रामेछापका २८ वर्षीय मनोज खत्री, ३६ वर्षीय विनोदकुमार कार्की, २० वर्षीय मनीष खत्री र २३ वर्षीय महेश खत्री छन् । यस्तै, सिन्धुपाल्चोकका २७ वर्षीय मोहन खड्का, १८ वर्षीय रोशन कार्की, सिन्धुलीका २८ वर्षीय गौरव तामाङ, ४० वर्षीय लेखविक्रम थापा र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकाका ३६ वर्षीय सुमन नगरकोटी छन् । उनीहरूको साथबाट नक्कली मदिराको बिक्री वितरणमा प्रयोग हुने गरेको आन्तरिक राजस्व विभागको नक्कली अन्तःशुल्क स्टिकर पनि भारी मात्रामा बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूले नक्कली मदिरा उत्पादन गरी बजार मूल्यभन्दा कम मूल्यमा बिक्री वितरण गर्ने गरेको प्रहरी नायव उपरीक्षक (डिएसपी) अनिल घिमिरेले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । डिएसपी घिमिरेले नक्कली मदिराहरू बिक्री वितरण गर्ने ठाउँको पनि अनुसन्धान भइरहेकाले उनीहरूलाई पनि छिट्टै पक्राउ गरी कारबाहीको दायरामा ल्याइने जानकारी दिनुभयो । डिएसपी घिमिरेले भन्नुभयो, ‘भारी मात्रामा मदिराका बिर्कोहरू पनि त्यहाँबाट हामीले बरामद गरेका छौँ । र, यो गुणस्तरहीन नक्कली मदिराहरू प्रचलित बजारको दरभाउभन्दा कम मूल्यमा बिक्री गर्ने । र, यो मान्छेको हेल्थलाई पनि असर गर्ने खालको कुराहरू पनि पाइएको छ । त्यो ठाउँबाट हामीले बरामद गरेको खुकुरी रम २८८ बोतल, पाइटर नौ सय बोतल पनि बरामद गरिएको छ ।’
उक्त घरमा खानतलासी गर्दा नक्कली खुकुरी रम, गोल्डेन ओक, फाइटर, सिग्नेचर, ३६५ ब्ल्याक बनाइरहेको अवस्थामा भेटिएको थियो । उनीहरूले चिनी पानीलाई कालो हुनेगरी पकाएर रक्सीको रङ दिने गरेको पाइएको डिएसपी घिमिरेको भनाइ छ । प्रहरीले उक्त घरबाट मदिरा बनाउन प्रयोग गर्ने समानहरू, सगुन ब्राण्डको मदिरा, चिनी-पानी मिश्रित तरल पदार्थ, विभिन्न रक्सीहरूको खाली बोतल, आन्तरिक राजस्व विभागको अन्तशुल्कका स्टिकर, लेवलिङ र प्याकेजिङ गर्न प्रयोग गरिने सामान पनि बरामद गरेको छ ।
पक्राउ पर्ने व्यक्तिहरूमा मनोज खत्री योसहित तेस्रोपटक पक्राउ परेको प्रहरीले जनाएको छ । उनी पहिलोपटक ५० हजार धरौटीमा छुटेका थिए भने दास्रोपटक फरार भएका थिए । यस्तै, विनोद कार्की, मोहन खड्का, गौरव तामाङ पनि यसअघि पटक-पटक पक्राउ परिसकेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लिमा-३ अपरेसनअन्तर्गत उनीहरूलाई पक्राउ गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच