नेतामाथिको अराजक प्रहार झनझन् डरलाग्दो, जनताबाट जुत्ता र मुक्का पाउने यी हुन् शीर्ष नेताहरू

हिमालय टाइम्स
Read Time = 11 mins

काठमाडौं । बिहीबार दुर्गा प्रसाईँमाथि बागलुङमा मुक्का प्रहार भयो । ‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ नामक कार्यक्रमका लागि बागलुङ पुगेका प्रसाईँमाथि बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमले मुक्का हानेका हुन् । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार प्रसाईँ मञ्चमा उक्लने क्रममा गौतमले मुक्का प्रहार गरेका हुन् ।

प्रसाईँमाथि जुत्ता प्रहार गर्ने गौतम बागलुङमा जुत्ता पसल चलाउँदै छन् । उनले प्रसाईँमाथि आक्रमण गर्नुको कारण भने खुलेको छैन ।

प्रसाईँ आम जनताबाट जुत्ता वा मुक्का पाउने पहिलो व्यक्ति (अभियन्ता वा नेता) भने होइनन् । अहिलेका राष्ट्रपति रामचन्द्र पौडेलदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसम्मले आम कार्यकर्ता (जनताको) जुत्ता वा मुक्का उपहार पाइसकेका छन् । यसमा पूर्व प्रधानमन्त्रीहरू समेत अछुताे छैनन् ।

केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरामा मकैकाे खोया प्रहार भयो । उहाँलाई लमजुङको राइनास गाउँपालिका स्थायी ठेगाना भएका सन्तोष रानाभाटले रविलाई लक्षित गर्दै मकैको खोया प्रहार गरेका थिए । यी दुई पात्र मात्रै होइनन् । अहिले राष्ट्रपतिदेखि प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले समेत यसअघि आफ्नो कार्यकर्ताबाट केही न केही असन्तुष्टिको उपहार पाइसकेका छन् ।

आउनुहोस् ती घटनाको बारेमा चर्चा गरौँ ।

राष्ट्रपति रामचन्द्र पौडेल

वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलमाथि २०५१ सालमा नै जुत्ता प्रहार भएको थियो । भनिन्छ, उहाँकै पालाबाट नेपालका नेताहरूमाथि कार्यकर्ताहरूले भौतिक रूपमा आक्रमण गर्न सुरु गरेका हुन् ।

पौडेलको काण्ड गोल्छे सार्की नामले पनि परिचित छ । पाैडेललाई तत्कालीन एमालेका तर्फबाट राष्ट्रिय सभामा सदस्य रहेका गोल्छे सार्कीले जुत्ता प्रहार गरेका थिए । उहाँ राष्ट्रपति हुनुअघि नेपाली कांग्रेसका वरिष्ठ नेता हुनुहुन्थ्यो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'

वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि आफ्नै कार्यकर्ताबाट झापड खाइसक्नुभएको छ । उहाँले विसं २०६९ साल मंसिर २ गते आफ्नै नेतृत्वमा भएको सशस्त्र युद्धमा सहभागी एक लडाकुको परिवार सदस्य समेत रहेका बागलुङका पदम कुँवरबाट झापड खानुपरेको हो ।

कुँवरले प्रचण्डलाई काठमाडौंको भृकुटीमण्डपमा आयोजित एक चियापन समारोहमा झापड हानेका थिए । त्यती बेला कुँवरले प्रचण्डलाई झापड हानेपछि आक्रोशित बनेका माओवादी कार्यकर्ताले कुँवरमाथि हातपात गरेका थिए । त्यसपछि प्रहरीले पक्राउ गरेको कुँवरलाई प्रचण्डले नै धरौटी वापतको रकम उपलब्ध गराई हिरासतमुक्त गरेका थिए।

प्रचण्डलाई जुत्ता प्रहार पनि भएको थियो 

प्रधानमन्त्री प्रचण्डलाई झापड मात्रै होइन २०७६ सालमा जुत्ता समेत प्रहार भएको थियो । २०७६ फागुन १८ गते तत्कालीन नेकपा पार्टीको अध्यक्षको हैसियतले भरतमोहन अधिकारीको प्रथम स्मृतिसभालाई सम्बोधन गरेपश्चात उहाँमाथि राष्ट्रियसभा गृहमा जुत्ता प्रहार भएको थियो।

प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्ति जुम्लाका २२ वर्षीय रतन तिरुवा थिए। उनका बाबु मनु तिरुवाले सशस्त्र द्वन्द्वमा ज्यान गुमाएकाले त्यही आवेशमा उनले प्रचण्डलाई जुत्ता प्रहार गरेको रतनले प्रहरीसँगको बयानमा बताएका थिए ।

पूर्व प्रधानमन्त्री झलनाथ खनाल

पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि पनि कार्यकर्ताबाटै सार्वजनिक रूपमा झापड भेटिसक्नुभएको छ । तत्कालीन समयमा नेकपा एमालेमा रहँदा उहाँले २०६७ माघको पहिलो हप्ता सुनसरीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता खनालले स्थानीय देवीप्रसाद रेग्मीको झापड खानुभएको थियो ।

पार्टी प्रवेश गर्न लामबद्ध बनेका कार्यकर्ताहरूसँगै लामबद्ध भएर रेग्मी खनाल भएको ठाउँमा पुगेर उहाँसँग हात मिलाइसकेका थिए । खनालले रेग्मीसँग हात मिलाएर टीका लगाइदिन खोज्दा उनले इन्कार गरेका थिए र खनाललाई झापड हानेका थिए ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई 

पूर्व प्रधानमन्त्री मध्ये झापड पाउनेहरुको सूचीमा डा. बाबुराम भट्टराईको नाम पनि आउँछ । उहाँलाई २०७३ साल मंसिर २२ गते पोखरामा आयोजित एक कार्यक्रममा जुत्ता प्रहार भएको थियो ।

साविकको नयाँ शक्ति पार्टीका संयोजक रहँदा पोखराको पृथ्वीनारायण क्याम्पसमा आफूनिकट विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रमलाई भट्टराईले सम्बोधन गर्दै हुनुहुन्थ्यो सम्बोधनका क्रममा कार्यक्रममा उपस्थित कैलालीका ३४ वर्षीय सञ्जिव भट्टराईले डाक्टर भट्टराईलाई कालोझण्डा देखाउनुका साथै जुत्ता प्रहार पनि गरेका थिए ।

यद्यपि सञ्जिवले प्रहार गरेको जुत्ता मञ्चसम्म भने पुगेन। त्यसपछि जुत्ता प्रहार गर्ने भट्टराईलाई पार्टीका विद्यार्थी संगठनका कार्यकर्ताहरूले आक्रमण गरेका थिए । तर, प्रहरीले भट्टराईलाई नियन्त्रणमा लिएपछि जोगिएका थिए ।

माओवादीका नेता तथा राष्ट्रियसभा उम्मेदवार झक्कु सुवेदी

माओवादी केन्द्रका नेता झक्कुप्रसाद सुवेदीले २०६९ जेठ २ गते झापड खानुपरेको थियो । संविधानसभाको बैठक सकेर घर फर्कंदै गर्दा तीनकुने स्थित एक चिया पसलेले चिया खुवाइसकेपछि २ झापड हानेका थिए । सोही समय गोर्खाको गाईखुर–८ का प्रेमराज देवकोटाले सुवेदीलाई बोलाएर संविधान कहिले बनाउँछौ, भनेर सोधेका थिए। सुवेदीले ‘हामी संविधान बनाउँदै छौं भनेपछि देवकोटाले पनि सुवेदीको गालामा दुई झापड हानेका थिए।

पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइराला

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय सुशील कोइरालाले पनि आफ्नै कार्यकर्ताबाट २०६९ साल असोज १३ गते काठमाडौंको कपनमा आयोजित पार्टीको कार्यक्रममा प्रवेश बस्नेतले आक्रमणको प्रयास गर्नुभएको थियो ।

कोइरालाले ‘आक्रमणकारी’लाई आफ्नै पहलमा रिहा गराउनु भयाे। त्यसबेला सुशील कोइरालामाथिको आक्रमणका विषयमा कांग्रेसले छानविन समिति गठन गरे पनि पछि आक्रमणकारी बस्नेतलाई कोइरालाले माफी दिनुभएको थियो । तर बस्नेतलाई भने कांग्रेस कार्यकर्ताले आक्रमण गरी घाइते बनाएका थिए।

उपप्रधानमन्त्री पूर्णबहादुर खड्का

पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्कालाई २०६५ जेठ १५ गते एमालेकी सभासद् कमला शर्माले खड्कामाथि चप्पल प्रहार गर्नुभएकाे थियो । उहाँले पहिलो संविधानसभाको निर्वाचनताका एमाले उम्मेदवार ऋषिराज अधिकारीको हत्याको रिस पोख्दै खड्कालाई चप्पल हान्नुभएको थियो ।

पूर्व अर्थमन्त्री, रामशरण महत 

पूर्व अर्थमन्त्री डा रामशरण महतमाथि पनि बोटल प्रहार भएको थियो । दुप्चेश्वर र तादी गाउँपालिका जोड्ने भुतखोल्चीमा २०७४ चैत १ गते बिहीबार पक्की पुलको शिलान्यास कार्यक्रममा पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य महतलाई पानीको बोटल प्रहार भएको थियो।

सो घटनामा संलग्न दुप्चेश्वर–३ का रामहरि खड्कालाई प्रहरीले तत्काल पक्राउ गरेको थियो।

पछिल्लो समय जनताका देखिएको आक्रोस झनझन् डरलाग्दो हुँदै गएको छ । आक्रोशित जनता अराजक बन्दै भौतिक रुपमै नेतामाथि उत्रिनु पक्कै पनि राम्रो होइन । आशातित परिवर्तन नपाएका जनता भौतिक रुपमा नेतामाथि जाइलाग्नुका पछाडि धेरै कारण हुन सक्छन् । यी घटनालाई नेपालमा त्यो हदको अराजकता वा अव्यवस्थाको अवस्थामा पुग्ने लक्षणका रुपमा लिन सकिन्छ । सरकार र सम्बन्धित पक्षले बेलैमा यस्ता अराजक र उच्छृंखल गतिविधिप्रति सजक रहनु पर्दछ । सच्चिनु पर्दछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?