रोशनकुमार चौधरी/हिटा
रौतहट । रौतहटको मौलापुर नगरपालिका-५ मा रहेको मौलापुर बहुप्राविधिक शिक्षालयको लापरबाहीले गर्दा तीन विद्यार्थीको जीवन बर्बाद भएको छ । मौलापुर बहुप्राविधिक शिक्षालयमा अध्ययनरत शेषनाथ पण्डित, रोहितकुमार साह र निराजनकुमार साहको जीवन बर्बाद भएको उहाँहरूका अभिभावकले बताएका छन् । शेषनाथ पण्डित र निराजन साहले शिक्षालय र सिटिभिटी धाउँदाधाउँदै पढाइ नै छाड्नुभएको छ ।
पछिल्लो समय प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढ्न थालेको छ । शिक्षा हासिल गरेपछि सहजरूपमा रोजगार पाइने तथा जीवनोपयोगी सीप हासिल हुने भएसँगै विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा परेको हो । तर, अहिले शिक्षालयमा भइरहेको राजनीतिकरणले गर्दा विद्यार्थीको जीवन नै धरापमा पुगेको देखिन्छ ।
रौतहटको मौलापुर नगरपालिका-५ बस्ने रोहित साहले सिटिभिटी र शिक्षालयमा भौंतारिँदै दैनिकी बितिरहेको बताउनुभएको छ । पाँचौँ सेमेस्टरमा अध्ययन गरिरहेको समय शिक्षालयमा भइरहेको लापरबाही र नियमित पठनपाठन अवरुद्धबारे सो शिक्षालयका तत्कालीन प्रमुख मुकेश यादव तथा नगरपालिकालाई जानकारी गराई सो विषय सामाजिक सञ्जाल फेसबुकमा राख्दा शेषनाथ पण्डित, रोहितकुमार साह र निराजनकुमार साहलाई २०७९ असार २२ गतेका दिन सो शिक्षालयबाट अनिश्चितकालका लागि निलम्बन गरिएको थियो ।
सो निलम्बनका विरुद्धमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा रिट दायर गर्दा २०७९ भदौ १७ र चैत ३० गते हुने परीक्षामा सहभागी गराउन उच्च अदालतले अन्तरिम आदेश दिएको थियो । अदालतको सम्मान गर्दै शिक्षालयले बिना सिम्बोल नम्बरको परीक्षामा सहभागी गराएको थियो तर बिना सिम्बल नम्बरको परीक्षा दिएका कारण सिटिभिटीले परीक्षाफल नै सार्वजनिक गरेन ।
विद्यार्थी साहले सो परीक्षाफल किन सार्वजनिक भएन भन्ने सम्बन्धमा सिटिभिटीको प्रदेश कार्यालय जनकपुर तथा सिटिभिटी कार्यालय सानोठिमी भक्तपुरलाई समेत निवेदन दिनुभएको थियो तर, कुनै कारण नदेखाई शिक्षालयमा सोध्न जवाफ फर्काएको उहाँले बताउनुभयो । प्रथमदेखि तेस्रो सेमेस्टरसम्म नियमित परीक्षा दिँदासमेत सिटिभिटीले सो सेमेस्टरसम्मको समेत परीक्षाफल रोक्का गरेको उहाँले दुखेसो पोख्नुभयो ।
उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले अध्ययनरत विद्यार्थीले दिएको परीक्षाको नतिजा प्रकाशन गर्नुपर्ने कानुनी दायित्व विपक्षीहरूको रहेकाले निवेदकको हकमा नतिजा प्रकाशन गर्नू, गराउनू भनी विपक्षीहरूको नाउँमा परमादेशको आदेश जारी हुने ठहर्छ भनी यस अदालतले अन्तिम आदेश दियो । सिटिभिटीले सो आदेशको पनि अवज्ञा गरेको देखिन्छ ।
सिटिभिटीले कापी जाँचमा गरेको लापरबाहीले गर्दा भरतपुरमा अध्ययनरत छात्रा प्रिया जैसवालले गरेको आत्महत्यालाई सम्झिँदै उहाँले भन्नुभयो, ‘सिटिभिटीसँग प्रश्न गरे, के मैले पनि आत्महत्या गरेमात्रै मेरो नतिजा सार्वजनिक हुन्छ ?’ उहाँले आफू भविष्यको चिन्ताले गर्दा डिप्रेसनमा जान थालेको सुनाउनुभयो ।
सो विषयमा शिक्षालय प्रमुख रमेश साहसँग बुझ्दा मैले गर्नुपर्ने काम गरिसकेको र बाँकी सिटिभिटीको जिम्मेवारी रहेको बताउनुभयो । छैटौँ सेमेस्टरमा एनक्यु कसरी आयो भन्ने प्रश्नमा उहाँले अदालतको अन्तरिम आदेश आउँदासम्म थेउरीको माक्र्स सिटिभिटीमा पठाइसकेका कारण उनको छैटौँ सेमेस्टरमा समेत एनक्यु आएको जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच