✍️ निर्मलकुमार आचार्य
अलिअलि सिकेको भाषाले पनि यत्रो काम गर्ला भन्ने सोचिएको थिएन । कोलकाता जानुअघि कतिपयले भनेका थिए, कालीघाटमा पण्डाले हत्तु पार्छन् । बडाबजारस्थित होटलका प्रबन्धक मिथिलेश उपाध्याय पनि त्यसै भन्दै थिए-‘तपाईंलाई त्यहाँ कत्ति मुड्ने होलान् खै ! बंगाली बोल्नेबाहेक सबैजसो मुडाइमा पर्छन् ।’ ‘आमी बेसी तो जानी ना किन्तु अल्प, अल्प बाङ्ग्ला बोलते पारी’ मुखबाट जेनतेन जसै निस्कियो, ‘यत्ति भए त निकै जानिहालियो नि, केही फरक नपर्ला !’ प्रबन्धक उपाध्यायले हौसला बढाए ।
साँच्चै, कालीघाटमा पण्डाको चर्तिकला ज्यास्तै रहेछ । चीलले चल्ला छोप्न पखेँटा फिँजाए झैँ जाल हाल्न तम्तयार पण्डाको भेउ पाउनासाथ ‘इदिके आसुन, इदिके’ (यताबाट आउनु, यताबाट) भनी धर्मपत्नीलाई लामतिर लगाउँदै अगाडि बसेकालाई ‘आपनार बाडी कोथाय ?’ (यहाँको घर कहाँ हो ?) सोधिएको मात्र के थियो, नजिकिँदो पण्डा निन्याउरिँदै फर्र्कियो । ओहो, ‘पण्डाराज’ त वैजनाथधाम (बाबाधाम) को पो चर्को । गया, बनारसका पण्डा कम्ताका छन् र ? कत्तिलाई लाग्दो हो । झट्ट हेर्दा हो पनि त्यताका पण्डा त नामुदै भए । ‘मसँग अरू केही छैन, केवल यही कट्टु बाँकी छ’ जजमान गिडगिडाउँदा पण्डाले नरम हुँदै ‘ल भैगो, त्यही भए पनि दे’ भनेको कथा चर्चितै छ ।
कोलाकातामा ज्येष्ठ नागरिकलाई प्रवीण व्यक्ति भनिँदोरहेछ भन्ने ज्ञानका साथै यहाँ ज्येष्ठ नागरिकलाई व्यावहारिक रूपमै सम्मान पनि गरिँदोरहेछ भन्ने थाहा भयो । यो थाहाले खुशी त दियो तर तत्क्षणै आफ्नोतिर ज्येष्ठ नागरिकले सार्वजनिक स्थलमा बेहोर्नुपरेका अथाहा ग्लानि र पीडा सम्झँदा सकस अनुभूति भयो ।
तर अहिले देवघर (वैजनाथधाम) का पण्डा अन्य पण्डालाई फिका बनाउन उद्यत् छन् । जजमानी गरेर हुने मोलमोलाई मात्र यहाँ छैन, ‘टिकट ब्ल्याकिङ’ मा पनि यहाँका पण्डालाई महारथ हासिल भइरहेको छ । खासै चाडपर्व नभएको पुस महिनामा त्यत्रो लाम देख्दा नवागन्तुक श्रद्धालु छक्कमात्र पर्दैनन्, सुलभ दर्शनको वैकल्पिक उपायको खोजीमा पनि लाग्छन् । यसका लागि मन्दिर व्यवस्थापनबाट ‘भिआइपी’ दर्शनको व्यवस्था गरिएको रहेछ । दुई सय पचास रुपैयाँको टिकट किने जोकोही ‘भिआइपी’ बन्न पाउने भएपछि छ, सात घण्टा लाम लाग्नुसट्टा टिकट लिएर तीनघण्टा जतिमा दर्शनलाभ लिन जोकोही आतुर हुने नै भए । तर टिकटका लागि पण्डाबाहेक कक्षमा कुनै माइकालाल टिम्किन नपाउने र पछि तिनै पण्डाले दोब्बर, तेब्बर दाममा टिकट बेचिरहेको देख्नुपर्दा उहिले सिनेमा हलका ‘टिकट ब्ल्याकी’ झलझलती सम्झना आउनु अस्वाभाविक होइन ।
तीर्थादिको महत्व नै ओझेलमा पार्ने गरी वितृष्णा फैलाइरहेका पण्डा-प्रवृत्तिले दुःखी तुल्याए पनि सन्तोष र गौरव गर्ने कुरो चाहिँ हाम्रा हकमा एउटै रहृयो, हामीकहाँ कम्तीमा त्यस्तो पण्डाराज चाहिँ पटक्कै छैन । ‘कोलकातामा ‘मेट्रो रेल’ चढ्न नभुल्नुहोला है !’ साथी सरोज अधिकारीको सुझाव निकै काम लाग्यो । कालीघाट जान होस् वा दक्षिणेश्वर, वा एम.जी.रोड वा एस्प्लेनेड, थोरै दिनको बसाइमा पनि सरल, सहज, सुपथ र सुरक्षित यात्राको सुखद् अनुभव गरियो । बडो किफायती, बीस/पच्चीस रुपैयाँमै यात्रा गर्नसकिने ‘मेट्रो रेल’ हाम्रो यहाँ त सपनाको विषय न हो ।
पैसो बुझाएपछि पाइने ‘क्वाइन’ (सिक्का) नदेखाएसम्म प्रवेश-बार नउघ्रने र ओर्लिएपछि बाहिर निस्कने बेलामा तोकिएको स्थानमा सिक्का नछिराएसम्म प्रस्थान-बार नखुल्ने प्रक्रिया रहेछ । रेलमा बस्न महिलाका लागि छुट्टै स्थान तोकिएको छ, तैपनि उभिएका महिलालाई ससम्मान आफ्नो स्थान दिने चलन गर्विलो छ । केश रङ्गाइएको भए पनि कन्चटबाट चियाइरहेका सेता रौं देखेर हो वा मुहारमा उत्रिएको बुढ्यौलीको लक्षणले गर्दा हो, एक ‘बाबु मोशाय’ जुरुक्क उठी आफ्नो स्थानमा बस्न आग्रह गर्दै बोले, ‘आपनी प्रोविन व्याक्ति’ ।
कोलाकातामा ज्येष्ठ नागरिकलाई प्रवीण व्यक्ति भनिँदोरहेछ भन्ने ज्ञानका साथै यहाँ ज्येष्ठ नागरिकलाई व्यावहारिक रूपमै सम्मान पनि गरिँदोरहेछ भन्ने थाहा भयो । यो थाहाले खुशी त दियो तर तत्क्षणै आफ्नोतिर ज्येष्ठ नागरिकले सार्वजनिक स्थलमा बेहोर्नुपरेका अथाहा ग्लानि र पीडा सम्झँदा सकस अनुभूति भयो ।
बङ्गाली मिठो भाषा, संस्कृत शब्द अधिक रहेकाले थोरै संस्कृत जान्नेलाई पनि बुझ्न सजिलो । चोख÷चोखटा अर्थात् आँखा, संस्कृत भाषाको चक्षुबाट बनेको शब्द हो । यस्ता शब्द अत्यधिक छन् । उच्चारण चाहिँ बडो गोलित छ, प्रवीणलाई प्रोविन, रबिनलाई रोबिन, निर्मललाई निर्मोल, जललाई जोल, कमललाई कोमल भन्छन् । हामीकहाँ जस्तो क्षलाई क्ष भनिँदैन, ख्य भनिन्छ । लक्ष्यलाई लक्ख्य हुन्छ । विशेषणको फुर्को लगाउने चलन पनि अनौठो छ । ज्यादै सुन्दर भन्नुपर्दा भीषण सुन्दर वा दारुण सुन्दर भनिन्छ । भीषण परिष्कारको तात्पर्य हुन्छ-निकै सफा ।
टुट्याफुट्या’ बङ्गाली सिक्ने अवसर २०३७/०३८ ताका ब्रिज एन्ड रूफ कम्पनीमा काम गर्दा जुरेको हो । हेटौंडा सिमेन्ट उद्योग निर्माणका लागि सक्रिय उक्त भारतीय कम्पनीमा काम गर्दा सबैजसो बङ्गाली थिए । यतिखेर नढाँटी भन्नुपर्दा दुई, चारवटा गाली सिकेर यसमा चञ्चुप्रवेश गराइएको हो । आजभन्दा झण्डै पचास वर्षअघि २०३१ सालताका डिब्रुगढ, लखीपथारका साथी चतुर्भुज उपाध्यायले हरिद्वारमा सिकाएको असमी लिपिले बङ्गाली लेख्न, पढ्न मद्दत गर्यो । ‘र’ तथा ‘व’ मात्रै अलिकति फरक हो, नत्र समान । नेवारी (नेपाल) भाषा लेखिने रञ्जना लिपि पनि उस्तै रहेको पाउँदा हर्ष झन् बढ्यो ।
बिरालोलाई ‘मेकुरी’ र मुसालाई ‘इन्दुर’ भन्छन् भन्दै ‘असमिया भाषा’ प्रति रुचि जगाउने, मभन्दा एक÷दुई वर्ष जेठा १४ वर्षे साथी चतुर्भुज यतिखेर कहाँ होलान् ?, त्यसपछि कहिले भेटघाट भएन तर उनले भाषाप्रति जगाएको उत्प्रेरणा अविस्मरणीय बनेको छ । कोलाकाताबाट जगन्नाथपुरीतिर रेल हुइँकिँदा म नजिकै एउटी छात्रा बसेकी थिइन्- तानिया सरकार । आमाबाबु, भाइसहित पुरी घुम्न हिँडेकी थिइन् । सिटको तारतम्य नमिल्नाले मसँगै परिन् । उनीसित बाङ्लामा खूब बात मारियो । जान्नेसुन्नेसित त धक फुकाउन पनि गाह्रो हुन्छ नि !
नेपाली र बाङ्ला भाषाबीचको समानता दर्शाउँदा छक्क परेकी तानियाले ‘आमी तोमाके भालोबाशी’ (म तिमीलाई माया गर्छु’ को नेपाली रूपान्तरणको अपेक्षा गर्दा मैले भनेर टुङ्ग्याएको मात्र के थिएँ, कसलाई हो, उनले ‘सेन्ड’ गर्न भ्याइहालिन् । कलकत्तालाई कोलकाता भनिए झैं उडिसालाई १२ वर्षयता ओडिसा भन्न थालिएको छ । कलिङ्ग, उत्कल, ओड्र आदि नामबाट चिनिँदै आएको उडिसालाई ओड राजा वा ओड्र राज्यका हिसाबमा पछिल्लो नाम ओडिसा जुराइएको रहेछ । आफ्नै ओडिया भाषा छ । केही शब्द बङ्गालीसित मिल्दाजुल्दा छन् । नजिकको भएर हो वा पश्चिम बङ्गालको प्रभाव बढी भएर हो, जगन्नाथ पुरी, भुवनेश्वर आदि स्थानमा धेरैजसो बङ्गाली बोलिरहेका भेटिन्छन् ।
आफ्ना साथीलाई लङ्गूर देखाउँदै एक युवकले मुस्काउँदै भन्यो- ‘ठ्याक्कै हाम्रो नेतो जस्तो छैन त ?’ सबैले हाँस्दै नामै किटेर सहमति जनाउँदै भने-‘तर यो लङ्गूर हाम्रो लङ्गूरभन्दा ठीक हो, कम्तीमा दिनेलाई त दुःख दिँदैन ।’
होटलवाला, अटोवाला, फलफूलवाला, मिठाईवाला सबै बङ्गालीमै आहृवान गरिरहेका हुन्छन् । अधिकांश यात्रु/पर्यटक बङ्गाली भएकाले हुनसक्छ, आगन्तुक सारा बङ्गाली ठानिन्छन् । हिन्दी बोलिएको अवस्थामा मात्र उनीहरू सच्चिन थाल्छन् । डिसेम्बरको अन्तिम सातादेखि जनवरीको पहिलो हप्तासम्म घुमन्तेको घुइँचो लाग्नेभएकाले होला, यो समय तर्काउनसके बुद्धिमानी हुनेरहेछ । यसो हुन नसके त उही जसोजसो पर्ला, उसैउसै टर्ला न हो ।
जगन्नाथ पुरीमा आनन्द बजारको अर्कै रौनक ! भगवान्लाई भोग लगाइएको ५६ परिकार यहाँ वितरणको व्यवस्था गरिएको रहेछ । सशुल्क भए पनि प्रसाद (भोजन) लिने र दिनेको हस्याङ्फस्याङ अधिक । हाँडीमा पकाई चढाइएका प्रसाद पत्तेथालीमा थोरै, थोरै हाल्दा पनि धेरै हुँदोरहेछ । हेर्दा कस्तो, कस्तो भए पनि खाँदा ज्यादै स्वादिलो र अमृतमय लाग्दोरहेछ । ‘तपाईंको पशुपतिनाथमै पनि त यसैगरी भोग-प्रसाद वितरण गरिँदो हो ?’ महाराष्ट्रबाट आएका हरिहरनाथ गोखलेले जिज्ञासा राख्दा यो मनुवा बोल्नसक्ने हैसियतमा थिएन ।
मुखभरि बुजो भएर होइन, मनभरि झिजो भएर बोल्न नसकिएको हो । के भन्नु ! आफ्नातिर यस्तो व्यवस्था छैन । जगन्नाथ पुरीमा मात्र होइन, लिङ्गराजमा पनि आनन्द बजार छ भने उता कोलकाताको बेलुर मठ र आद्यामठ आदिमा पनि प्रसादी वितरणको अनुपम व्यवस्था रहेछ । गोखले बाबुले खरिएर ‘त्यो प्रसाद कहाँ जान्छ त ?’ सोधेका भए झन् अप्ठ्यारामा परिने डर थियो । आफूले सुनेको कुरो हो, लानेले जाँड बनाउन प्रयोग गर्छन् रे ! अनि, ‘जय जगन्नाथ’ भन्दै छिटछिटो उम्कनुमै आफ्नो कल्याण देखियो ।
‘कोणार्क’ को कलाकारितामा भुतुक्किई धौली शान्तिस्तूपमा ठहरिएको यो मनलाई खण्डगिरि र उदयगिरिले लोभ्यायो । यहाँ लङ्गूर थप आकर्षण रहेछन् । लङ्गूरले कोट्याउँदै हात पसार्दा सबै छक्क परे, खानेकुरो दिनेलाई केही नगर्ने नत्र झापड कस्ने तिनको बानी रहेछ । त्यसैले त यिनका चाला बुझेकाहरू छाला जोगाई हिँड्दारहेछन् । आफ्ना साथीलाई लङ्गूर देखाउँदै एक युवकले मुस्काउँदै भन्यो- ‘ठ्याक्कै हाम्रो नेतो जस्तो छैन त ?’ सबैले हाँस्दै नामै किटेर सहमति जनाउँदै भने- ‘तर यो लङ्गूर हाम्रो लङ्गूरभन्दा ठीक हो, कम्तीमा दिनेलाई त दुःख दिँदैन ।’
तिनले औंल्याएको लङ्गूर हेर्दा त्यसका अनुहारमा आफ्ना पनि कहिल्यै नसुध्रिएका पिराहा नेता झझल्किए । एक, एकगरी ती सबैका नाउँ लिएर यहाँ आफ्नो आङ कन्याई छारो उडाउनु थिएन । त्यसैले पारिका सिंहमुखे, सर्पमुखे, घोडमुखे थरीथरीका गुफा हेर्दै लागियो सिँढी उक्लन । परबाट सहयात्री मुखर्जी दा हात हल्लाई सोध्दै रहेछन्, ‘भालो तो ?’ (राम्रो छ नि ?) ‘भीषण भालो’ प्रत्युत्तरसँगै वातावरण झन् रमाइलो हुनपुग्यो । acharya.nik@gmail.com
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच