काठमाडौं महानगरको श्रम बैंकमा दुई हजार आवेदन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाको श्रम बैंकमा दुई हजार आवेदन परेका छन् । गत भदौ पहिलो साता महानगरले बेरोजगार जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन गरेको मागअनुसार हालसम्म दुई हजार आवेदन आएको महानगरको प्रशासन महाशाखा प्रमुख सरिता राईले जानकारी दिनुभयो ।

प्रमुख राईका अनुसार महानगरले आर्थिक वर्ष २०८०र८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैंक सञ्चालन गर्ने नीति लिएको थियो । यसरी आवेदन आएका र दक्ष कामदारलाई महानगरले नियमितरूपमा काममा खटाइरहेको प्रमुख राईले जानकारी दिनुभयो ।

अहिले काममा खटाइएका कामदार सम्पदा क्षेत्रको सरसफाइ र सम्पदाकै अन्य कामका लागि खटिएको उहाँले जानकारी दिनुभयो । अहिले दैनिक एक सय ५० कामदार महानगरकै विभिन्न काममा खटिएको उहाँको भनाइ छ । आवेदनमध्ये कुनै सीप नभएकालाई सीप सिकाएरै काममा लगाउने तयारी भइरेको उहाँले जानकारी दिनुभयो ।

“यसबाट सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मतसम्भार, सम्पदा संरक्षण र सरसफाइ, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउनेलगायत क्षेत्रमा काम गर्न चाहिने जनशक्तिको सूचीकरण हुनेछ”, प्रमुख राईले भन्नुभयो, “बेरोजगारका लागि एउटा आधार तयार गरिदिने उद्देश्यले श्रम बैंकमा श्रमिकलाई आबद्ध गराइएको हो ।” उहाँका अनुसार महानगरले तयार गरेको श्रम बैंकमा श्रमिकको नाम, ज्यालादर, कामको प्रकार, फोन नं र श्रमिकको ठेगानालगायतका विवरण उल्लेख गरिएको हुन्छ ।

यसरी सूचीकृत भएका श्रमिकलाई आवश्यकतानुसार जोसुकैले पनि सीप क्षमताका आधारमा काममा लगाई उचित पारिश्रमिकको व्यवस्था गर्न सक्नेछन् । चालु आवका लागि काम गर्न इच्छुक व्यक्तिले आवेदनमा काम गर्न चाहेको कामको विवरण, आफूले काम गरेको भए अनुभवको क्षेत्रलगायत विवरण भर्नुपर्ने हुन्छ ।

आवेदन फारममा विभिन्न ६४ प्रकारका काम उल्लेख गरिएका छन् । श्रमिकले फारम भर्दा उक्त फारम आफू बसेको वडामा अथवा महानगरको रोजगार सेवा केन्द्रमा बुझाउनुपर्छ । श्रम बैंकमा आबद्ध हुन स्थायी ठेगाना जहाँ भए पनि काठमाडौँमा बसोबास भने भएको हुनुपर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?