१५ औं योजनालाई उपेक्षा गरी १६ औं योजना निर्माण गर्नु हुँदैन : उपाध्यक्ष पौडेल

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले योजना आयोगले राष्ट्रिय आवश्यकता सम्बोधन हुनेगरी योजना निर्माण गर्ने आश गर्न नसकिने बताउनुभएको छ ।

उपाध्यक्ष पौडेलले योजना आयोगले मुलुकको वर्तमान राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने,विगतका अनुभवहरुको जगमा उभिएर योजनावद्ध प्रयासलाई सार्थक रुपमा गति दिनेगरी योजना निर्माण गर्ने अवस्था नदेखिएको बताउनुभएको हो ।

उहाँले वर्तमान सरकारको मातहतमा बनेको योजना आयोगले अघिल्लो सरकारले बनाएको १५ औं योजनालाई उपेक्षा गर्नेगरी योजना निर्माण गरिरहेको आरोप लगाउनु भयो । उपाध्यक्ष पौडेलले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै योजना आयोग १६ औं योजनाको निर्माणमा अलमलिरहेको बताउनु भयो । उहाँले १६ औं योजना निर्माण गर्दा अहिलेसम्म योजनावद्ध विकासका अभ्यास, प्रयासहरु र तिनले दिएका अनुभवहरुको जगमा उभिएर वर्तमान र दीर्घकालिन आवश्यकतालाई सम्बोधन गरी योजना निर्माणको काममा सरकार लाग्नुपर्नेमा राजनीतिक पूर्वाग्रहका आधारमा आयोग अलमलिरहेको दाबी गर्नुभयो ।

योजना आयोग आगामी १६ औं योजना बनाउने विषयमा कुहिरोभित्रको काग जस्तै भइरहेको टिप्पणी गर्नुभयो । नेकपा एमाले अध्यक्षका केपी शर्मा ओली नेतृत्वको सरकारले निर्माण गरेको १५ औं योजना धेरै दृष्टिकोणले महत्वपूर्ण रहेको पौडलको भनाई छ ।

उहाँले १५ औं योजनाले नेपालको योजनावद्ध विकासमा डिपाचर हुने गरी नयाँ दिशाबोध दिएर विकासका परम्परागत अभ्यासहरुलाई ब्रेक थु्र गरेको उल्लेख गर्नुभयो । उहाँले वर्तमान सरकारले १६ औं योजना निर्माण गरिरहँदा १५ औं योजनाले संस्थागत गरेका निस्कर्षहरुलाई आत्मासाथ गर्ने र आवश्यक विषयलाई निरन्तरता दिने भन्दा पनि तिरस्कार र उपेक्षा गर्नेगरी अगाडि बढेको पाइएको दाबी गर्नुभयो ।

योजना आयोग १५ औं योजनाका सकारात्मक योगदानहरुलाई निरन्तरता दिने मान्यताबाट विचलित भएको आरोप पौडेलको छ । १५ औं योजनाले राष्ट्रिय दीर्घकालिन र आवधिक लक्ष्य निश्चित गर्नेगरी लिएको समृद्ध नेपाल सुखी नेपाली दीर्घकालिन लक्ष्यलाई हटाइएको भन्दै असन्तुष्टि जनाउनु भयो ।

उहाँले भन्नुभयो, “मुलुक आगामी १६ औं योजना निर्माणको चरणमा छ । १६ औं योजना निर्माण गर्दा अहिलेसम्म योजनावद्ध विकासका अभ्यास, प्रयासहरु र तिनले दिएका अनुभवहरुको जगमा उभिएर आज र भोलिको आवश्यकतालाई ठिक ढङ्गले पहिचान गरेर योजना निर्माणको काममा सरकार लाग्नुपर्ने हो । तर वर्तमान सरकार र सरकारको मातहतमा बनेको योजना आयोग १६ औं योजनाको निर्माणमा अलमलिएको छ । कुहिराको काग जस्तो भएको छ । उडान भरेको छ तर कता जाने हो थाहा छैन । यो सरकारको नेतृत्वमा रहेको योजना आयोगले कुनै गतिलो राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने,विगतका अनुभवहरुको जगमा उभिएर योजनावद्ध प्रयासलाई सार्थक रुपमा गति दिनेगरी योजना निर्माण गर्छ भनेर आशा गर्नसक्ने अवस्था छैन ।”

पूर्वअर्थमन्त्री समेत रहनुभएका पौडेलले योजना आयोगको १६ औं योजना निर्माणको तयारी गतिलो योजना आउने अवस्था नदेखिएको उल्लेख गर्नुभयो । उहाँले १६ औं योजनाले संविधानले नागरिकलाई प्रदान गरेका अधिकारलाई व्यवहारिक रुपमा उपलब्ध कसरी गराउने भन्ने विषयमा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

योजना आयोग १५ औं योजनालाई अस्वीकार गर्ने तर अहिलेको अवस्थाअनुसार नयाँ योजना दिन पनि नसक्ने दुविधामा १६ औं योजनाको तयारी गरिरहेको पौडेलको भनाई छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले १५ औं योजनाले अघि सारेका योजनाहरुलाई निरन्तरता दिँदै थप आवश्यकताहरुलाई पहिचान गरेर आयोगले योजना निर्माण गरिनु पर्ने बताउनु भयोे । उहाँले सरकारले १५ औं योजनाप्रति पूर्वाआग्रह राखेर १६ औं योजना बनाउन नहुने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रिय योजना आयोगको तयारी हेर्दा १६ औं योजना गतिलो हिसावमा आउने अवस्था छैन । १६ औं योजनाले संविधाने नागरिकलाई प्रदान गरेका अधिकारलाई व्यवहारिक रुपमा उपलब्ध गराउने कसरी भन्ने विषयमा योजनाले प्राथमिकता दिनुपर्ने हो । तर योजना आयोगले यो विषयमा तयारी गरेको पाइदैन । १५ औं योजनालाई अस्वीकार गर्ने र अहिलेको अवस्था अनुसार नयाँ योजना दिन नसक्ने खालको दुविधामा १६ औं जनाको तयारी अगाडि बढेको देखिन्छ । १५ औं योजनाले अघि सारेका योजनाहरुलाई निरन्तरता दिँदै थप आवश्यकताहरुलाई पहिचान गरेर योजना निर्माण गरिनुपर्छ ।”

उपाध्यक्ष पौडेलले समृद्धि नेपाल सुखी नेपालीको नारा एमालेको सरकारले ल्याएपनि समग्र नेपालीको साझा नारा भएको दाबी गर्नुभयो । उहाँले समृद्धि नेपाल सुखी नेपालीको नारामा कसैले विमती राख्नुपर्ने विषय नभएको बताउनु भयो। उहाँले अहिलेको सरकार र योजना आयोग समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्यलाई करेक्शन गर्न चाहेको दाबी गर्नुभयो ।

उहाँले १६ औं योजनामा मानवीय विकासका आवश्यकताका विषयमा बढी ध्यान दिन सुझाव दिनुभयो । उहाँले १६ औं योजनाले शिक्षालाई मुलुकको आवश्यकताअनुसार बनाउने गरी योजना निर्माण गरी सीप विकास,रोजगारी र आत्मनिर्भरताको विकास गर्नेमा केन्द्रित हुनुपर्ने बताउनु भयो। उहाँले विद्यार्थीले देशभित्र गुणस्तरीय शिक्षा आर्जन गर्न सकिन्छ भन्ने विषयमा विश्वासको आधार निर्माण गर्नेमा योजना केन्द्रित हुनुपर्ने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?