पाल्पामा अन्तर सहकारी बैंकिङ्ग सेवा, विचौलियाको अन्त्य हुने विश्वास

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 9 mins

पाल्पा । तरकारी तथा फलफूल बजारमा विचौलियाको बिगबिगी छ । किसानले उचित मूल्य पाउन सकेका छैनन् । उपभोक्ताले चर्को मूल्यमा तरकारी तथा फलफूल किन्न बाध्य छन् । त्यति मात्र होइन किसानले उत्पादन गरेका कृषिजन्य वस्तुले बजार नपाएर नष्ट भएका खबरहरु समेत सार्वजनिक भइरहेका बेला जिल्लाका केही सहकारीहरुले भने उत्पादन, बजारीकरण र बिचौलिया अन्त्यका लागि सहकारी बजार नै स्थापना गरेर काम गर्दै आएका छन् ।

जिल्लाको रामपुर नगरपालिका–५ बेझाड बजारमा रहेको सूर्योदय कृषि सहकारी संस्थाले २०७७ देखि बजारीकरणका क्षेत्रमा उल्लेखनिय रुपमा काम गर्दै आएको छ । उसले किसान कृषि पेसाबाट विमुख नहुन भनेर सहकारीमार्फत कृषिको व्यवसायिक उत्पादन, प्रशोधन, भण्डारण, बजारीकरणमा सघाउदै आएको छ । सहकारीले कृषकहरुको उत्पादन वृद्धि गर्न सहुलियत रुपमा मौसम अनुसारका तरकारी, फलफूलहरुका विउविजन, रासायनिक मल, किटनासक औषधि उपलब्ध गराउनुको साथै उत्पादित कृषिजन्य वस्तुहरुको बजारीकरणमा सहयोग गर्दै आएको छ ।

सहकारी आफैँले उत्पादित बस्तु खरिद गरी विक्री गर्दै आएको छ भने जिल्लामा खपत हुन नसकेको उत्पादित वस्तु बाहिरी ठूला शहरहरुमा विक्रीका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने गरेको छ । जसका कारण विचौलियाहरुले मौलाउन पाएका छैनन् । विशेष गरी समूहमा उत्पादन गरेर ल्याउने कृषकहरुको ठूलो परिमाणको कृषिजन्यवस्तु बुटवल, पोखरा, काठमाडौं, नेपालगञ्ज लगायतका शहरहरुमा विक्रीका लागि पहल गरिदिने काम सू्र्येदय सहकारीले गर्दै आएको छ । किसानले उत्पादन गरेको उत्पादित वस्तुले बजार नपाउने र किसानले अत्यन्तै कम मूल्यमा बिक्री गरेको वस्तु उपभोक्तले चर्को मूल्यमा किन्नुपर्ने वाध्यताको अन्त्य गर्न सहकारी बजार निर्माण गरी काम गर्दै आएको सहकारीका सल्लाहकार तथा बजार संयोजक भूपति पाण्डेले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हामीले कृषकहरुले उत्पादन गरेका उत्पादित वस्तुको बजारीकरण, विचौलियाको अन्त्य र उपभोक्ताले गुणस्तरीय वस्तुको उपभोग गर्न सकुन भनेर नै सहकारी बजार स्थापना गरेर काम गर्दै आएका हौं ।’ अहिले किसानले पाउने मूल्य र उपभोक्ताले खरिद गर्ने बजार मूल्यबीच ठूलो अन्तर नरहेको पाण्डेको भनाई छ । यसबाट किसान र उपभोक्ता दुवै उत्तिकै लाभान्वित भएको उहाँले बताउनुभयो ।

सहकारीमा ५ सय ८ जना सदस्य रहेका छन् । जहाँ उनीहरुले उत्पादन गरेका वस्तुहरु सहकारी आफैले विक्री गर्दै आएको छ । सहकारीले शेयर सदस्यहरुको मात्र नभई अन्य कृषकहरुको उत्पादित वस्तु खरिद गर्नुको साथै बजारीकरणमा सहयोग गर्ने गरेको छ । सहकारीमार्फत तरकारी, गेडागुडी जन्यवस्तु, खाद्यान्न, गाई, भैसी, कुखुराका लागि चाहिने दाना, उच्च गुणस्तरका चल्ला जस्ता कृषिजन्यवस्तुहरुको सहुलियत दरमा विक्री , वितरण गरिर्दै आइएको सहकारीका अध्यक्ष बुद्धिराज गौतमले बताउनुभयो । यहाँ बाहिरी बजारमा भन्दा ४ देखि ३० प्रतिशतसम्म छुट पाइने गर्दछ ।

सहकारीमै बैंकिङ्ग सेवा

यस्तै सूर्योदय सहकारीले आम नागरिकहरुको सेवालाई मध्यनजर गरी नेपाल एसबीआइ बैंकको शाखारहित बैंकिङ्ग सेवा समेत सञ्चालन गरेको छ । विशेष गरी पेन्सन लिनका लागि जिल्ला सदरमुकाम जानु पर्ने बाध्यताको अत्यन्त गर्न सहकारीले बैंकसँगको सहकार्यमा सेवा दिएको हो । यहाँ सेवा सञ्चालन भएसँगै बाहिर जानुपर्ने झन्झटबाट नागरिकमुक्त भएका छन् । पेन्सन बापतको रकम लिन सहकारी पुग्नुभएकी रामपुर नगरपालिका विजपुरकी ७२ वर्षीया ज्ञानकुमारी मल्ल र स्याङ्जा डिसिङकोटका ८० वर्षीय टेक बहादुर थापाले सहकारीबाटै पैसा लिन पाउँदा उत्साहित हुनुभयो । उहाँहरुले सहजै रुपमा पैसा झिक्न पाउनुको साथै समय, पैसाको बचत समेत भएको बताउनुभयो । सहकारीमा पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासीबाट सेवा लिन आउने गरेको सहकारी व्यवस्थापक सावित्री शाहीले बताउनुभयो । उहाँका अनुसार दैनिक २० देखि ३० जनाले बैंकिङ्ग सेवा लिने गरेका छन् ।

बजारीकरणमा अन्य सहकारीहरु

पछिल्लो समय कृषि उत्पादन र बजारीकरणमा सहकारीले लगानी बढाएका छन् । बचत र ऋणमा मात्रै केन्द्रित हुँदै आएका सहकारी पछिल्लो समय कृषिजन्य उत्पादन र बजारीकरणमा लागेका हुन् । जिल्ला सहकारी संघ पाल्पाका अनुसार पाल्पामा ३ सय ९ सहकारी छन् । त्यसमध्ये झण्डै ७०÷८० वटा कृषि सहकारी छन् । जसमा करिब १५ वटा सहकारीले बजारीकरणलाई उच्च प्राथमिकतामा राखेर काम गर्दै आएका छन् । अन्य प्रकृतिका सहकारीहरुले पनि आफ्ना सदस्यलाई कृषि क्षेत्रमै लगानी गरेको दाबी गरेका छन् । सहकारीको वास्तविक तथ्यांक आउन नसके पनि पछिल्लो समय कृषिजन्य उत्पादन र बजारीकरणमा भने लगानी बढ्दै गएको देखिन्छ ।

यहाँका दोभान कृषि सहकारी, डुम्रे दूग्ध सहकारी, बगनासकाली कृषि सहकारी, माडी कृषि सहकारी, भैरवस्थान कृषि सहकारी, और्व कृषि सहकारी, साना किसान कृषि सहकारी, सामाजिक उद्यमी आधारशीला कृषि सहकारी, देउराली सामुदायिक बहुउद्देश्यीय सहकारी, गल्धा सामाजिक उद्यमी सहकारी लगायतका दर्जन बढी सहकारीहरुले कृषिका क्षेत्रमा काम गर्न थालेका छन् । तीनै तहका सरकारले कृषिजन्य वस्तु, दूध, मासुमा आत्मनिर्भर बन्ने योजना बनाइरहँदा सहकारीले आफुलाई वस्तुको उत्पादन तथा बजारीकरणमा केन्द्रीत गर्न थालेका हुन् । कृषि सहकारीले तरकारी, खाद्यान्न, पशु सुरक्षा कार्यक्रम, गाईभैंसीपालन, धान, अदुवा, तरकारी खेतीमा लगानी गरेर उत्पादन गर्दै आएका छन् । जिल्ला बचत तथा ऋण सहकारी संघ पाल्पाका अध्यक्ष जगदीश भट्टराईका अनुसार कृषि क्षेत्रमा सहकारीको लगानी तुलनात्मकरूपमा बढ्दै गएको बताउनुभयो । सहकारीको मुख्य काम कृषिको उत्पादन र बजारीकरण हुनुपर्ने भए पनि सरकारी नीतिका कारण धेरै सहकारी बचत र ऋणमै केन्द्रित हुनु परेको उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?