हेर्नुहोस् आज दिनभरका प्रमुख समाचार

हिमालय टाइम्स
Read Time = 13 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज) परित्याग गर्ने कुरालाई किमार्थ स्वीकार गर्न नसकिने बताउनुभएको छ ।

पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति संकेत गर्दै उहाँले जनताको विश्वास कसरी जित्ने ? भन्ने नाममा जबजको विचारलाई परित्याग गर्ने कुरालाई आफूहरुले कुनैपनि अर्थमा ठिक भन्न नसकिने तर्क गर्नुभएको हो ।

पार्टीका उपाध्यक्ष डा. वेदुराम भुसालद्वारा लिखित पुस्तक ‘जनताको बहुदलीय जनवादको विकासक्रम’ को आईतवार काठमाडौंमा एक कार्यक्रमका बीच विमोचन गर्दै अध्यक्ष नेपालले हिजो जनताको बहुदलीय जनवादीलाई दक्षप्रजापतिको टाउको भन्नेहरुले आज आएर पनि त्यो विचारलाई समाप्त पार्ने षड्यन्त्र गरिरहेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राज्यलाई आवश्यक परेका धेरैभन्दा धेरै विधेयक पारित गरी कार्यान्वयन गर्न जरुरी भएको बताउनुभएको छ । साथै उहाँले भोलिदेखि हुने संसद् बैठकको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभएको छ ।

भोलिदेखि हुने सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन तयारीबारे जानकारी लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले हिँउदे अधिवेशनलाई प्रभावकारी तुल्याउन नयाँ समयसारिणी बनाएर काम गर्ने अठोट गरिएको बताउनुभयो । सभामुख घिमिरेले भन्नुभयो, “त्यो अठोटलाई कार्यान्वयन गर्न अहिले १५ दिनको समयसारिणी बनाएर कार्यान्वयन गर्दै अघि बढ्ने प्रयत्न हुनेछ । त्यसपछि पनि सोहीअनुसार नै जाआँै भन्ने तयारीका साथ अघि बढ्ने सोच छ । बजेट प्रस्तुति अघिको छलफलका लागि कानुनी प्रबन्धसहित अध्यादेश आएको छ । त्यसअनुसार कार्यतालिका मिलाइने छ । ” उहाँले आफूहरुले दिएका सुझावलाई सरकारले सकारात्मक ढङ्गले लिएको बताउनुभयो ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजातिको ज्ञान र सीपलाई संरक्षण एवं प्रवद्र्धधन गरी राष्ट्रिय आय वृद्धि गर्न पहल गरिने बताउनुभएको छ । आदिवासी जनजाति आयोगको तेस्रो स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आदिवासी जनजातिको साँस्कृतिक सम्पदालाई ‘युनेस्को’मा अभिलेखन एवं आदिवासी जनजातिको अन्तर्राष्ट्रिय श्रमसम्बन्धी महासन्धि कार्यान्वयन गर्नका लागि सरकारले यथासम्भव पहल लिने स्पष्ट पार्नुभयो ।

आदिवासी जनजाति आयोगमा साधनस्रोतको कमी रहेको, ऐनमा व्यवस्था भएबमोजिम प्रादेशिक कार्यालय स्थापनामा ढिलाइ भएको भन्ने विषयमा आफू जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जनसङ्ख्याको अनुपातमा नीति निर्माणको तहमा आदिवासी जनजातिहरूको प्रतिनिधित्व हुन नसकेका विषयमा नेपाल सरकारको तर्फबाट आवश्यक पहल हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीले आदिवासी जनजाति समुदायमाथि तत्कालिन राज्यसत्ताले गरेको विभेद र उत्पीडनविरूद्ध आदिवासी जनजाति समुदायले आफ्नो पहिचान र प्रतिनिधित्वका लागि गरेको सङ्घर्ष र बलिदानको परिणाम आदिवासी जनजाति आयोगको व्यवस्था भएको उल्लेख गर्नुभयो ।

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्व सांसद इच्छाराज तामाङलाई ३ वर्ष कैद तथा १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ जरिवाना तोकिएको छ ।

विशेष अदालतले पूर्वसांसद एवं सिभिल सहकारीका सञ्चालक तामाङलाई सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर गर्दै ३ वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ बिगो भराउने आदेश गरेको हाे।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदको रेकर्डबाट ‘शब्द हटाईयोस्’ भन्ने माग नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

अध्यक्ष ओलीले संसदमा गल्ती बोल्नेहरुका शब्दले उसको परिचय दिने भएको भन्दै यस्ता शब्द हटाउन लगाउनु जरुरी नभएकोतर्फ पनि पार्टीका सांसदहरुलाई सचेत गराउनु भयो । आईतवार पार्टी संसदीय दलको बैठक समापन गर्दै उहाँले संसदमा गलत कुराको सख्त आलोचना र बिरोध गर्न पनि पार्टीका सांसदहरुको ध्यानाकर्षण गराउनु भयो । गल्ती बोल्नेका कुरा संसदमा बिरोध गरे पुग्ने भएकाले यसलाई रेकर्डबाट हटाउन माग गर्न आवश्यक नभएको ओलीको भनाई थियो । अध्यक्ष ओलीले संसदमा गल्ती बोल्नेले त्यसलाई रेकर्डबाट हटाईपाउँ भन्नु स्वभाविक हुने भएपनि अरुले उसको गल्ती सच्याईदिने काम गरिरहन नपर्ने बताउनु भयो ।

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले आराध्यदेव पशुपतिनाथ क्षेत्रमा रहेको सरकारी जग्गा हडपेर निर्माण गरिएका भौतिक संरचना हटाउने भएको छ ।

कोषको यही माघ १६ गते बसेको बोर्ड बैठकले पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका भौतिक संरचना हटाउने निर्णय गरेसँगै अहिले विकास कोषसहित काठमाडौं महानगरको प्राविधिक टोली जग्गाको सिमाङ्कनसहित खोजी कार्यमा जुटेको हो ।

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले क्यान्सर रोग न्युनिकरणका लागि सरकारले कुनै कसर बाँकि नराख्ने बताउनुभएको छ ।

आईतवार विश्व क्यान्सर रोग दिवसको अवसर पारेर मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले क्यान्सर रोग तत्काल उन्मुलन गर्नसक्ने अवस्था नभएको उल्लेख गर्दै त्यसको न्युनिकरणका लागि सरकारले कुनैपनि कसर बाँकि नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

उहाँले क्यान्सर न्युनिकरणका लागि आ-आफ्नो ठाउँबाट सकेको योगदान पुर्‍याउन पनि सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभयो । मन्त्री बस्नेतले क्यान्सर रोग बिरुद्ध लडने आधार तत्काल पार्न पनि मातहतका निकायलाई सचेत गराउनु भयो । उहाँले सम्बन्धित निकायले सचेत भएर काम गरे क्यान्सर रोग नियन्त्रण गर्न कुनै कठिनाई नहुनेसमेत स्पष्ट पार्नुभयो ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पहिचान सहितको संघीयताको नारा लिएर चुनावमा जाँदा पनि जनताका साथ नपाउनु दुर्भाग्यपूर्ण रहेको बताउनुभएको छ ।

आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वि.सं. २०७० सालको चुनावमा आफूहरु पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान भन्ने मुल नारा लिएर निर्वाचनमा गएको भएपनि आदिवासी जनजातिकै साथ नपाएको बताउनु भयो ।

काठमाडाैं । दक्षिण क्यारोलिना डेमोक्रेटिक राष्ट्रिपतिको प्राइमरी चुनावमा अमेरिकी राष्ट्रपति जो बाइडेन विजयी हुनुभएको छ । बाइडेनले दक्षिण क्यारोलिनामा सहज जिता हाँसिल गर्नुभएको हो ।

दक्षिण क्यारोलिनामा बलियो मत प्राप्त गरेसँगै बाइडेनले २०२० राष्ट्रपति अभियानलाई पुनरुत्थान गर्नुभयो । जहाँ अफ्रिकी अमेरिकी मतदाताहरु उल्लेख्य छन् ।

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–१९ महिला च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा नेपाल भुटानलाई पराजित गर्दै विजयी भएको छ ।

बङ्गलादेशको ढाकास्थित बिएसएसएस मोस्ताफा कमल रङ्गशालामा भएको खेलमा नेपालले भूटानमाथि १–० गोलको जित निकालेको हो । यस जितसँगै नेपालले प्रतियोगितामा शीर्ष तीन अङ्क जोडेको छ ।

रुपन्देही । लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा आइतवार लुम्बिनी प्रदेश खेलकुद परिषदले देउखुरी दौड–२०८० (५किमि) प्रतियोगिता सम्पन्न गरेको छ । प्रदेश राजधानी देउखुरीमा आयोजित ५ किलोमिटर दौड प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले एक समारोहकावीच गरेका थिए ।

पहिलो पटक आयोजित दौड प्रतियोगिताको पुरुषतर्फको उपाधि आर्मीका टंक कार्कीले र महिलातर्फको उपाधि एपीएफकी सिमा चौधरीले हात पारेका छन् । प्रतियोगितामा ३ सय बढी राष्ट्रिय तथा स्थानिय धावकहरु सहभागी भएका थिए । प्रतियोगिता प्रदेशसभा भवनबाट सुरु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?