बुर्तिबाङ बजार अब सिसी क्यामराको निगरानीमा

हिमालय टाइम्स
Read Time = 6 mins

बागलुङ । बागलुङको दोस्रो व्यापारीक केन्द्र बुर्तिबाङ बजारलाई ढोरपाटन नगरपालिकाले व्यवस्थित गर्न थालेको छ । साँघुरो बजार त्यसमाथि अस्तव्यस्त हुँदा स्थानीय र यात्रुले सास्ती खेप्नु परेको छ ।

अहिलेसम्म एउटा पनि सार्वजनिक शौचालय थिएन भने बजार क्षेत्रमा सिसी क्यामरा पनि जडान गरिएको थिएन । नगरपालिकाले गत साता बजार क्षेत्रमा सिसी क्यामरा जडान गरिसकेको छ भने सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । दश नमुना सहरमा परे पनि अहिलेसम्म अपेक्षित रुपमा विकास नभएको बुर्तिबाङमा पछिल्लो समय ढोरपाटन नगरपालिकाले तदारुकता देखाउन थालेको हो ।

नगरपालिकाको केन्द्रसमेत रहेको यस बजारमा बढ्दो सहरीकरणसँग शान्ति सुरक्षामा चुनौति बढ्दै गएको थियो । दुर्घटना र चोरीका घटना बढ्न थालेपछि नगरपालिकाले बजार क्षेत्रलाई सिसी क्यामेराको निगरानी थालेको छ । बजारको चोकचोक र गल्लीगल्लीमा सिसी क्यामरा जडान गरेको नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले जानकारी दिनुभयो । बजारको रिभरहेड क्षेत्रदेखि दुलेसम्म ठाउँ ठाउँमा क्यामेरा जडान गरिएको उहाँको भनाइ छ । यसभन्दा पहिले ढल व्यवस्थापन र सडक बत्ति जडानकोकाम नयाँ सहरी आयोजनाले गरि सकेको उहाँले बताउनुभयो । बजारको सौन्दर्यकरणसँग सुरक्षा दिनका लागि नगरपालिकाले यस वर्ष नयाँ काम गरिएको उपप्रमुख कायतको भनाइ छ ।

बजार क्षेत्रमा जोडिएका सिसी क्यामराको कन्टोल इलाका प्रहरी कार्यालय बुर्तिबाङ र ढोरपाटन नगरपालिकामा हुने कार्यवाह नगर प्रमुख धनबहादुर कायतले बताउनुभयो । पछिल्लो समय बजार क्षेत्रमा दुव्र्यसनी बढ्दै गएको र विभिन्न किसिमका घटना बढ्न थालेपछि यसको कन्यूनिकरण गर्न सिसी क्यामरा जाडन गरिएको उहाँको भनाइ छ । बजार क्षेत्रमा १२ थान प्रविधियुक्त सिसी क्यामेरा जडान भएको उहाँको बताउनुहुन्छ । अहिलेसम्म बुर्तिबाङ बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा यात्रु तथा बजारमा आउने नागरिकले समस्या भोग्नु परेको भन्दै अब छिट्टै निर्माण गरिने उहाँको भनाइ छ ।

कायतले भन्नुभयो – “बुर्तिबाङ बजार पश्चिम बागलुङको मात्रै नभएर, पूर्वी रुकुमको पनि व्यापारीक केन्द्र बनेको छ, ढोरपाटन जाने आन्तरिक तथा बाह्य पर्यटक पनि यहीँ हुँदै जान्छन्, दिनप्रति दिन बजारमा आउनेको संख्या बढ्दो छ, जसले गर्दा धेरै थरिका घटनाहरु पनि भइ रहेका छन्, घटना न्यूनिकरण गर्न र नगरपालिकालाई प्रविधिमैत्री बनाउनका लागि सिसी क्यामरा अति आवश्यक भएको हुँदा काम सुरु भएको हो, यही हप्ता जडानको काम सकिएको छ, बजार क्षेत्रलाई अलि व्यवस्थित बनाउन भन्ने हिसाबले काम गरि रहेका छौँ ।”

नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा विनियोजन गरेको नौ लाख ९० हजार रुपैयाँको बजेटले बजार क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । पछिल्लो समय अपराधिक गतिविधि बढेको भन्दै बजारलाई सुरक्षित राख्न र विभिन्न सम्भावित दुर्घटना न्यूनिकरण गर्ने सिसीटिभी क्यामेरा जडान गरिएको उहाँको भनाइ छ । सिसी क्यामरा जडान यही साता गरिएको भन्दै अब बजार सिसी क्यामराको निगरानीमा हुने ज्ञवाली बताउनुहुन्छ ।

“बुर्तिबाङ बजार क्षेत्रमा अहिलेसम्म सिसी क्यामरा जोडिएको थिएन, नगरपालिकाले पहिलो पटक बजार क्षेत्रलाई सिसी क्यामराको निगरानीमा राख्दैछ, दिनदिनै चोरीका घटनाहरु बढ्दै गए, असुरक्षा बढेको थियो, बाइकले मान्छे हानेर भाग्ने गरेका थिए, ताला फोडेर पसल चोरी भए” प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले भन्नुभयो – “सिसी क्यामेरा जडान गरेपछि शान्ति सुरक्षामा प्रवभाकारी हुने छ, बजार अनुगनम प्रभावकारी बनाउन पनि मद्दत पुग्ने छ ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?