स्याङ्जा कारागारमा क्षमताभन्दा बढी कैदी, व्यवस्थापनमा कठिनाइ

हिमालय टाइम्स
Read Time = 4 mins

-युवराज पौडेल

स्याङ्जा । जिल्ला कारागार स्याङ्जामा क्षमताभन्दा अत्यधिकमात्रामा थुनुवा र कैदीको संख्या बढ्दै जाँदा व्यवस्थापनमा समस्या देखिएको छ । पुरुष ३५ जना र महिला १५ जना गरी कुल ५० जना बराबरको क्षमता रहेको उक्त कारागारमा हाल साउन १८ सम्म पुरुष १४० र दुई महिला गरी १४२ को संख्यामा थुनुवा र कैदी रहेका छन् ।

जिल्ला कारागार स्याङ्जामा हालका कैदीहरूमध्ये अधिकांश जबरजस्ती करणी, लागूऔषध, कर्तव्य ज्यान, चोरीलगायत भएको कारागार प्रमुख चूडामणि भण्डारीले बताउनुभयो । हाल यस कारागारमा १४२ कैदी र विभिन्न श्रेणी र तहका गरी १० जना कर्मचारीहरू रहेका छन् । प्रमुख भण्डारीले भन्नुभयो, ‘क्षमताभन्दा बढी कैदी राख्नुपर्दा बसाइ तथा खानपान र अन्य कुरामा समस्या भइरहेको छ । कोभिड संक्रमण तथा अन्य भाइरल संक्रमणका बेलामा झनै गाह्रो हुन्छ ।’

‘गत वर्ष यहाँ खानेपानीको समस्या थियो । हाल त्यो समाधान भयो । बायो ग्याँस प्लान्टको काम विगतदेखि सुरु भएर हाल पनि सम्पन्न नभएको अधुरो अवस्थामा छ । यसको निर्माणका लागि सरोकारवालाले ध्यान दिए राम्रो हुन्थ्यो ।’ कारागारका खरिदार पूर्णचन्द्र रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले थोरै स्रोतबाट बल्लतल्ल कैदीहरूको व्यवस्थापन गरेका छौँ । सानो क्षमताको भवन तर कैदी संख्या झण्डै तेब्बर गुना बढी छ । यस्तो अवस्थामा सबै कुरा मिलाउन गाह्रो भएको छ ।’ उहाँले संघीयतामा गएपछि संघसंस्थाहरूले पनि कैदीहरूका लागि पहिले जस्तो सहयोग गर्न छाडेको बताउनुभयो ।

कारागारका कैदीहरूले सीपमूलक रोजगारअन्तर्गत मुडा बुन्ने कामबाट राम्रो रहेको र पैसा बचाई घरसमेत पठाएको कारागार नाइके ख्यामनारायण पौडेलले बताउनुभयो, ‘यहाँका कैदीहरूले बुनेका मुडा बजारमा १३००, १५०० र १८०० गरी तीन प्रकारमा बिक्छन् । कैदीहरूले मुडा बुनेर पनि राम्रै कमाउँछन् । बचाउनेले घर पनि पठाउँछन् ।’

कारागारका नायब सुब्बा मीनप्रसाद लामिछानेले भन्नुभयो, ‘अँध्यारा कोठा, साँघुरो क्षेत्रफल, कैदीको ठूलो संख्याका कारण बसाइ व्यवस्थापनका लागि समस्या भइरहेको छ । यो भौगोलिकरूपले पहिरोको उच्च जोखिममा पनि छ । स्रोतको पनि अभाव छ ।’ उहाँले स्थानीय सरकारले पनि कारागारको व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको समेत बताउनुभयो ।

विसं २०३७ सालमा निर्माण भएको उक्त कारागारको भौतिक अवस्था पनि जीर्ण भएको छ । २०७८ सालमा कोरोना संक्रमणका कारण कारागारमा कामचलाउ प्रशासनिक भवन बनाइएको भए तापनि त्यसभन्दा अघि र पछि यहाँ अन्य नयाँ संरचना बन्न सकेका छैनन् । कारागारभन्दा माथिबाट गत वर्ष पहिरो गई कारागारमा क्षति भएको थियो । सो पहिरोको जोखिम अहिले पनि कायमै रहेकाले कतिबेला के हुन्छ भन्न नसकिने स्थिति रहेको कारागारका कर्मचारी तथा कैदीहरूले गुनासो गरेका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?