काठमाडौं । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप २०२४ मा नेपाल एपिएफ क्लबलाई चार विकेटले पराजित गरेको छ । एपिएफले दिएको १२२ रनको लक्ष्य आर्मीले २४ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । आर्मीले यससँगै पाँच खेलमा तीन जित र दुई हारका साथ ६ अंक जोडेको छ । यता एपिएफ भने पाँच खेलमा दुई जित र तीन हारका साथ सातौँ स्थानमा छ । आर्मीका लागि कप्तान विनोद भण्डारीले नट आउट ३४ रन जोड्दै जितसम्म पुर्याउनुभयो । उहाँले ४० बलमा चार चौका र एक छक्का प्रहार गर्नुभयो ।
यस्तै, कुशल मल्लले १९ र बसिर अहमदले १८ रन जोड्नुभयो । एपिएफका लागि रमेश कुर्मीले दुई विकेट लिँदा मौसम ढकाल र रोहित पौडेलले एक-एक विकेट लिनुभयो ।
त्यसअघि एपिएफले ३२.१ ओभरमा सबै विकेट गुमाएर १२१ रनको जोडेको थियो । एपिएफका लागि रोहित पौडेलले १०३ बलको सामना गर्दै ५९ रन जोड्नुभयो । उहाँले दुई चौका र दुई छक्का प्रहार गर्नुभयो । एपिएफका लागि सुमित महर्जनले १४ र भुवन कार्कीले १६ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सक्नुभएन ।
आर्मीका लागि सोमपाल कामीले तीन विकेट लिँदा अभिनाश कर्णले दुई तथा विवेक यादव, साहब आलम र बसिर अहमदले एक-एक विकेट लिनुभयो ।
यस्तै, अर्को खेलमा गण्डकी प्रदेशले बागमती प्रदेशमाथि तीन विकेटको जित हात पा¥यो । यो हारसँगै बागमतीले पहिलो स्थानमा उक्लने मौका गुमाएको छ । बागमतीको सात खेलमा आठ अंक रहेको छ । पहिलो स्थानमा रहेको नेपाल पुलिस क्लबको पनि चार खेलमा आठ अंक नै रहेको छ । विजयी गण्डकी पाँच खेलमा दुई जितसहित आठौँ स्थानमा यथावत् नै छ ।
जितका लागि १९९ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले तीन बल बाँकी रहँदा सात विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । गण्डकीका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आउनुभएका करण पंगेनीले सर्वाधिक ९८ बलमा ६ चौका र तीन छक्कासहित ७९ रन बनाउनुभयो । गण्डकीका समिर कँडेलले १९, ईश्वर क्षेत्रीले ३६ रन जोड्नुभयो ।
बागमतीका आशुतोष घिरैयाले ४४ र इशान पाण्डेले ४३ रन जोड्नुभयो । रित गौतमले १३, अशोक पौडेलले ४७ बलमा एक चौका र एक छक्काको मद्दतले ३० रन जोड्नुभयो ।
यस्तै, मंगलबार नै भएको अर्को खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशलाई ६ विकेटले हरायो । यससँगै तेस्रो जित हासिल गरेको कर्णालीले छ खेलपछि छ अंक जोडेको छ । सात खेल खेलेको कोशी प्रदेश अंकविहीन छ । कोशीले प्रस्तुत गरेको १५२ रनको लक्ष्य कर्णालीले २८ दशमलब तीन ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।
कर्णालीका लागि अर्जुन घर्तीले ४८ बलमा छ चौका र दुई छक्काको मद्दतमा अविजित ५० रन बनाउनुभयो । यसैगरी विपिन शाहीले २८, हिमांशु शाहीले अविजित २४, निश्चल रावलले २१ तथा कप्तान रविन्द्र शाहीले १२ रन बनाउनुभयो । कोशीका लागि हेमन्त राईले तीन विकेट लिनुभयो भने कमल खत्रीले एक विकेट झार्नुभयो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोशीले ३४ दशमलब तीन ओभरमा सबै विकेट गुमाउँदै एक सय ५१ रन बनाएको थियो । उसका लागि सुजन थपलियाले ७३ बलमा आठ चौका र चार छक्काको मद्दतले ७३ रन बनाउनुभयो । सौजन घिमिरेले १२ तथा आइश भट्टराईले ११ रन बनाउनुभयो । कर्णालीका लागि दिनेश अधिकारीले चार विकेट लिनुभयो भने प्रकाश जैसीले तीन तथा दिवान पुनले दुई विकेट लिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच