राष्ट्रियसभा निर्वाचन : बागमतीमा चार सदस्यका लागि निर्वाचन हुने

तस्बिरः सामाजिक सञ्जाल

रासस
Read Time = 3 mins

मकवानपुर  । बागमती प्रदेशमा राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारी पूरा भएको छ । बागमती प्रदेशमा चार राष्ट्रियसभा सदस्यका लागि बिहीबार मतदान हुनेछ ।

निर्वाचन आयोग प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश, हेटौँडाका निमित्त प्रमुख ताराप्रसाद आचार्यका अनुसार हेटौँडा–४ स्थित भुटनदेवी माविको प्राविधिक भवनमा मतदानको व्यवस्था गरिएको छ । प्रदेशसभा सदस्य, प्रदेशका स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षले मतदान गर्ने छन् । मतदानका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

प्रत्येक मतदान केन्द्रमा १० कर्मचारी खटाइने छन् । मतदान सकिएलगत्तै मतगणना सुरु गरिने र नतिजा साँझसम्म सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले बताउनुभयो । उक्त निर्वाचनमा १५ जनाको उम्मेदवारी परेको छ ।

नेपाली कांग्रेसबाट महिलातर्फ विष्णुकुमारी पुडासैनी र अन्यतर्फ जितजङ्ग बस्नेत, माओवादी केन्द्रबाट अपाङ्गतर्फ श्रीकृष्ण अधिकारी तथा नेकपा (एकीकृत समाजवादी)बाट दलिततर्फ घनश्याम रिजाल विश्वकर्मा उम्मेदवार हुनुहुन्छ ।

त्यसैगरी नेकपा (एमाले)बाट महिलातर्फ रोजकुमारी चौलागाई, अन्यतर्फ त्रिलोचन निर्मल पौडेल, अपाङ्गता/अल्पसङ्ख्यकतर्फ विवेक देवकोटा र दलिततर्फ ध्रुवराज विश्वकर्मा उम्मेदवार रहेका छन् । राप्रपाबाट अन्यतर्फ हेमजङ्ग गुरुङ, महिलातर्फ नानु नगरकोटी, अपाङ्गता/अल्पसङ्ख्यकतर्फ भरतमणि भट्ट र दलिततर्फ पूर्णबहादुर विश्वकर्मा उम्मेदवार छन् ।

यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट महिलातर्फ कृष्णलक्ष्मी दुवाल, अपाङ्गतर्फ हिमालयश्वर मुल, अन्यतर्फ श्रीकृष्ण महर्जन र दलिततर्फ सङ्गीता नेपाली उम्मेदवार छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?