जिरीको अनुवांशिक स्रोत केन्दबाट गाई बिक्रीबाटै साँढे आठलाख आम्दानी

नबराज सिवाकोटी
Read Time = 4 mins

दोलखा । दोलखाको पर्यटकीय नगरी जिरीमा अवस्थित गाई अनुबांशिक स्रोत केन्द्र चालु आर्थिक वर्षमा केन्द्रमा रहेका गाई तथा साँढे बहरको लिलाम विक्रीबाट करिब साँढे आठ लाख राजश्व संकलन गर्न सफल भएको छ । केन्द्रले हालै गरेको गाई तथा साँढेको लिलाम बिक्रीबाट सो आम्दानी गर्न सफल भएको हो ।

संघीय सरकार अन्तर्गतको सो केन्द्रले हालै गरेको गाई तथा साँढेको लिलामीबाट कुल ८ लाख ४४ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको केन्द्रका प्रमुख वरिष्ठ पशुविकास अधिकृत गोपाल गिरीले जानकारी दिनुभयो । लिलामीमा राखिएका अठार वटा गाई तथा उन्नाईस सांढेबहरको बडाबड प्रकृयाको आधारमा विक्री गर्दा उक्त आम्दानी भएको प्रमुख गिरीको भनाई रहेको छ ।

हाल केन्द्रमा माउ गाई ६० वटा कोरली २० वटा तथा दुहुना ३५ वटागरी जम्मा १०५ वटा गाई रहेका छन् । दुहुना गाईहरुबाट दैनिक करिब चारसय लिटर दूध उत्पादन हुने गरेको केन्द्र प्रमुख गिरीको भनाई रहेको छ । उत्पादित दूध सदरमुकाम चरिकोट स्थित गौरिशंकर डेरीले खरिद गर्ने गरेको छ । केन्द्रमा होलिस्टिन तथा जर्शी जातका गाईका अतिरिक्त कोरियाबाट ल्याइएको चारवटा उन्नत जातका कोरली गाईहरु समेत रहेका छन् ।

गाईका अतिरिक्त केन्द्रले उन्नत जातका बंगुरका पाठा–पाठी समेत उत्पादन गर्ने गरेको अनुवांशिक स्रोत केन्द्रले जनाएको छ । ल्यान्डरेर तथा योर्क सायर जातका बंगुरका पाठा–पाठी उत्पादन गरी केन्द्रले विक्री वितरण गर्ने गरेको केन्द्र प्रमुख गिरीले जानकारी दिनुभयो ।
गाई, बाच्छा, बंगुरका पाठाहरुको विक्री लगायतबाट गत आर्थिक वर्षमा केन्द्रले ९० लाख आमदानी गर्न सफल भएकोमा यो वर्ष १ करोड आमदानी लक्ष्य रहेको केन्द्र प्रमुख गिरीको भनाई छ ।

चालु आर्थिक वर्ष लक्ष्य भन्दा बढी राजश्व उठ्ने सम्भावन रहेको गाई आनुवांशिक स्रोत केन्द्र जिरीले बताएको छ । २०१४ सालमा स्वीस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा जिरी एकीकृत कृषि फमको रुपमा स्थापना भएकोे यो फार्म २०७५ सालदेखि गाई अनुबांसिक स्रोत केन्द्रको रुपमा सञ्चालन हुँदै आएको छ । फर्मकाे नाममा जिरीमा ८४ हेक्टर र रामेछापको गर्जाङमा १२५ हेक्टर जग्गा रहेको छ । फर्मले जिरीमा गाई तथा गर्जाङमा बाछाबाछी र साँढे पाल्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?