माधव र ‘प्रचण्ड’ वामपन्थी राष्ट्रपति भए देश खत्तम हुन्छ भन्दै हिँडे : ओली

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू जसले जे मागे पनि दिने बलिराजा जस्तो भएको टिप्पणी गर्नुभएको छ । शनिबार पार्टीको महिला संगठनको कार्यक्रममा उहाँले प्रचण्डले प्रधानमन्त्री माग्दा दिएको र माधव नेपालले पनि राष्ट्रपति मागेको बताउनुभएको हो । ‘म बलिराजा जस्तो मान्छे हो, जसले जे मागे पनि दिने, प्रचण्ड आए प्रधानमन्त्री मागे दिएँ, माधवजीले राष्ट्रपति माग्दै हुनुहुन्थ्यो खाने भए खाऊ भनेको हो’ उहाँले भन्नुभयोे, ‘तर पहिले पार्टीमा त आउनुप¥यो नि, पार्टी मिलाउनुपर्‍यो, पार्टीमा प्रतिबद्धता हुनुपर्‍यो । सप्रिने भए विचार गर्नुपर्‍यो भनेको हो ।’

तर, माधव नेपालले प्रचण्डले राष्ट्रपति प्रस्ताव गर्दा अस्वीकार गरेको र कांग्रेसकै राष्ट्रपति हुनुपर्ने भनी सार्वजनिक अभिव्यक्ति दिएको ओलीले टिप्पणी गर्नुभयो । प्रचण्ड र माधव नेपाल वामपन्थी राष्ट्रपति भए देश खत्तम हुन्छ भनेर लागेको ओलीले बताउनुभयो । ‘प्रचण्ड त डाँको छोडेर रोएका थिए वामपन्थी राष्ट्रपति हुनै हुँदैन देश खत्तम हुन्छ भनेर’ उहाँले भन्नुभयो ।

‘नेपालको इतिहासलाई लुकाउन खोजियो’
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्वान्हरूको भूमि भएको तर यसको इतिहास लुकाउन खोजिएको बताउनुभएको छ । काठमाडौंस्थित एक कलेजको भवन शिलान्यासका क्रममा अध्यक्ष ओलीले नेपालमै उत्पत्ति भएका मौलिक ज्ञान पाश्चात्य शिक्षाको प्रभावले ओझेलमा परेको बताउनुभयो । नेपाललाई बहादुरहरूको मात्रै देश भनेर व्याख्या गरिएको भन्दै त्यसप्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । ‘यो इतिहासमा पनि विद्वान्हरूको भूमि हो । भविष्यमा पनि विद्वान्हरूको भूमि हुनेछ,’ अध्यक्ष ओलीले भन्नुभयो । नेपाल भूमिबाटै विभिन्न ज्ञानको उत्पत्ति भए पनि त्यसलाई लुकाउन खोजिएको भन्दै उहाँले त्यसप्रति आपत्ति जनाउनुभएको छ । यस क्रममा उनले नेपालका पुर्खाहरू जति विद्वान् अन्य कतै नरहेको पनि दाबी गर्नुभयोे । वेदव्यास, ऋषि विश्वामित्र, कपिलमुनी गौतम बुद्ध, पाणिनीको उदाहरण दिँदै उनीहरूका बारेमा नेपालीहरूलाई बुझाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।

‘नेपालीहरूलाई बहादुर मात्रै भनिएको छ, तर बहादुर मात्रै होइन, नेपालीहरू विद्वान् पनि छन् । हाम्रा पुर्खाजस्ता विद्वान् कोही छैनन् । वेदव्यास तनहुँका थिए, ऋषि विश्वामित्र शिवभन्दा पछाडि दर्शनशास्त्रका प्रणेता विश्वामित्र कोशी किनारमा बस्थे । कपिलमुनी कपिलवस्तुका थिए, उनी सांख्य दर्शन र शिवयोगका अध्येता थिए । २६ सय वर्षअघि बुद्ध रुपन्देहीमा थिए । पाणिनी अर्घाखाँचीका थिए । यस्ता अनेक विद्वान् यहाँका छन् तर छोप्न खोजिएको छ,’ अध्यक्ष ओलीले भन्नुभयो । नेपाल पवित्र भूमि र ज्ञानको प्रारम्भ भएकाले ऐतिहासिक भूमि पनि भएको उहाँको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?