कर्णाली राजमार्गको बाढीपहिरो पन्छाउन स्थानीय सरकारदेखि सुरक्षा निकायसम्मको सक्रियता

हिमालय टाइम्स
Read Time = 6 mins

विजय रावत/हिटा
जुम्ला । गत असोज १९ गतेदेखि अविरलरूपमा परेको वर्षापछिको बाढी र पहिरोले कर्णाली राजमार्गको जुम्ला–कालिकोट खण्ड एक हप्तादेखि पूर्णरूपमा बन्द छ । राजमार्ग अवरुद्ध भएका कारण आवागमन पनि ठप्प भएको छ । राजमार्गको अवरोध हटाएर आवागमन सहज बनाउन शनिबार जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरी नेतृत्वको टोली र स्थानीय सरकारका प्रमुखहरूसमेत जुटेका छन् ।

नेपाली सेना नन्दा बक्स गण जुम्लाका गणपति रविन थापाले जुम्लाको तिला गाउँपालिका रारालिहीमा तीन किलोमिटर खण्डमा गएको पहिरो पन्छाउन सुरु गरिएको बताउनुभयो । क्षतिग्रस्त स्थल पुगेर सडक डिभिजन कार्यालयले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको निगरानीमा राजमार्ग खुलाउने काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी केसरीले जानकारी दिनुभयो ।

राजमार्ग खुलाउन प्रजिअ केसरी, गणपति थापा, सशस्त्र प्रहरी ३३ नं. गणका प्रहरी उपरीक्षक चित्रांगत दाहाल, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख नरेन्द्र चन्द स्थलगतरूपमा आफैं खटिनुभएको छ । अवरोध हटाउनका लागि प्रयोग गरिएका ‘स्काभेटर’ सहित प्रहरीसमेत खटाइएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार कर्णाली राजमार्गको जुम्ला खण्डको रारालिहीमा तीनवटा ‘स्काभेटर’ ले लगातार काम गरिरहेका छन् ।

यसका साथै ‘ब्रेकर’ ले समेत काम गरे पनि ठूला ढुंगाहरू खसेकाले ‘ब्लाष्टिङ’ गर्नुपर्ने अवस्था आएको छ । गणपति थापाले भन्नुभयो, ‘ब्लाष्टिङ गर्नका लागि माथिल्लो निकायसँग अनुमति मागिसकिएकाले काम छिट्टै सुरु गर्दैछौँ । यो काम अझै दुई-तीन दिन लाग्ने देखिएको छ ।’ जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार नाग्म-गमगढी राजमार्गको भूगोलपाटा, बाँजागाड, बड्की, देवारगाउँ, आचार्य लिही सडकखण्डमा पहिरो जाँदा आठ-दश स्थानमा सड्क अवरुद्ध भएको छ । हिमा गाउँपालिकामा पर्ने त्यस क्षेत्रमा स्थानीय तहको सक्रियतामा सडक सञ्चालनका लागि काम सुरु गरिएको छ ।

नाग्म-गमगढी राजमार्ग खुलाउन जुटे स्थानीय सरकार
नाग्म–गमगढी राजमार्गदेखि ग्रामीण सडक खुलाउन स्थानीय सरकारका प्रमुखहरू जुटेका छन् । सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले सिंजामा सडक सञ्चालन गर्न ‘स्काभेटर’ बाट काम भइरहेको जानकारी दिनुभयो । हिमा क्षेत्रमा बाढीपहिरो गएकाले त्यस क्षेत्रमा चाँडै पहिरो पन्छाए सिंजा गाउँपालिकाको अवरोध हटाउन सहज हुने उहाँले बताउनुभयो ।

कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यका अनुसार कनकासुन्दरी क्षेत्रको राजमार्गमा स्थानीय तहले ‘स्काभेटर’ लगाएर पहिरो पन्छाउने काम भइरहेको छ । उहाँका अनुसार जुम्लामा सबैभन्दा बढी मानवीय क्षति कनकासुन्दरीमा भएको छ । उक्त गाउँपालिकामा पहिरो र बाढीबाट नौजनाले ज्यान गुमाएका छन । सो गाउँपालिकामा सात घर पूर्णरूपले क्षति भएको उहाँले जानकारी दिनुभयो ।

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार हिमा गाउँपालिका क्षेत्रमा पहिरो पन्छाउने काम भइरहेको छ । केही स्थानमा बाटोको निशाना नै नभएकाले नयाँ बाटो खोल्नुपरेको उहाँले बताउनुभयो । अध्यक्ष शाहीले ‘स्काभेटर’ मा तत्काल इन्धन सकिएकाले काम अगाडि बढाउन नसकिएको बताउनुभयो । नेपाली सेना २४ नं. बाहिनीका अनुसार कर्णाली राजमार्गको कालिकोट खण्डको नाग्गगाड, सेरावाडा, राँचुली, सेरीघाटमा पहिरो खसेको छ ।

सो क्षेत्रमा काम गर्न सेना सक्रिय भएको छ । नाग्म-गमगढी राजमार्गको मुगु खण्डको दर्जन स्थानमा पहिरो जाँदा पनि त्यहाँको आवागमन बन्द भएको छ । सातघुम्ती, पिना, टोप्ला, झ्यारी ताल्चा, तुमा, गमगढीमा गएको पहिरो हटाउन पहल भइरहेको नेपाली सेनाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?