
काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रपछिका वर्षमा योजनाबद्ध रूपमा नेपालमा राष्ट्रियतालाई कमजोर बनाइएकोे आरोप लगाउनुभएको छ । अध्यक्ष लिङ्देनले शनिबार काठमाडौंमा राप्रपानिकट प्राज्ञिक परिषद्को कार्यक्रममा यस्तो दाबी गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘गणतन्त्रपछिका १५ वर्षमा योजनाबद्ध रूपमा नेपालमा राष्ट्रियतालाई कमजोर बनाइएको छ । अब देशलाई नयाँ बाटोमा लैजानुको विकल्प छैन ।’ उहाँले माओवादीदेखि राजासम्म सबै रहने व्यवस्था आवश्यक रहेको बताउनुभयो ।
राप्रपाको धर्मनिरपेक्षता, गणतन्त्र, संघीयता खारेजीको माग मुलुकलाई पछाउने विषय नभएको भन्दै उहाँले हिजो र आजका राम्रा कुरालाई लिएर नयाँ ढंगले अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो । अध्यक्ष लिङ्देनले सत्ता टिकाउनका लागि विदेशीसामु लम्पसार पर्ने, दूतावासहरूलाई करोडौँ खर्च दिने लगायतका कामले गणतन्त्र नेपालको राष्ट्रियतालाई कमजोर पार्ने काममा प्रयोग भएको जिकिर गर्नुभयो ।
उहाँले आफ्ना मागहरूलाई पूरा गर्नका लागि राप्रपाले छिट्टै आन्दोलन गर्ने र आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने स्पष्ट पार्नुभयो । पहिलो सन्तान जन्माउन अमेरिका पुग्नुभएकी आफ्नै पार्टीकी नेता रेखा थापाप्रति अध्यक्ष लिङ्देनले व्यंग्य र वास्तविकता मिश्रित कटाक्ष पनि गर्नुभयो । अहिलेको राजनीतिक व्यवस्थाले नेपाल बस्नलायक देश नरहेको सन्देश नयाँ पुस्तामा गइरहेको बताउँदै रेखाको उदाहरण दिनुभएको थियो । कार्यक्रममा अध्यक्ष लिङ्देनले एकजना पूर्व–गृहमन्त्रीले बुहारी लिएर अमेरिका गएको प्रसंग निकाल्दै नाति नेपालमा नजन्मियोस् भनेर उनले सुत्केरी गराउन बुहारी नेपालबाट अमेरिका लगेको सुनाउनुभयो । अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘एकजना पूर्व-गृहमन्त्रीको कुरा मात्र होइन, एकजना चर्चित कलाकारले बेबी प्लान भनेर पोष्ट गर्नुभयो, प्लेन उडेको देखाएर अमेरिका भन्नुभयो । नानी जन्माउन अमेरिका । जीवनमा एउटा महिलाले पहिलोचोटि प्राप्त गर्ने सन्तान यो धर्तीमा जन्माउन चाहँदैन । ऊ नेपाली नहोस्, नेपाली नहुनुमा आफ्नो सन्तानको भविष्य देख्छ भने देश र राष्ट्रियताको अवस्था कहाँ छ ?’
निषेधको राजनीतिले नेपाल कमजोर : मिश्र
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले निषेधको राजनीतिले नेपाल कमजोर बनेको भन्दै राजासहितको नवीन समझदारीका लागि २०४७ सालको संविधानलाई आधार बनाउन सुझाव दिनुभएको छ । उहाँले त्यो बाटोमा नगई सुख नहुने जिकिरसमेत गर्नुभयो । राप्रपानिकट प्राज्ञिक परिषद्को कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मिश्रले २०४७ सालको संविधानमा टेकेर २०७२ को संविधानमा समेत राम्रा पक्ष समेटिएको नवीन समझदारी देशले खोजेको बताउनुभयो । उहाँले त्यसो नगरे नेपाल थप ओह्रालो लाग्ने दाबी पनि गर्नुभयो । वरिष्ठ उपाध्यक्ष मिश्रले भन्नुभयो,‘आज देशका कुनै पनि संस्थाहरूले राष्ट्रियताको पक्षमा बोल्ने जनशक्ति निर्माण गरेनन् । सबैतिर झोलेहरूको बोलवाला भयो । निषेधको राजनीति असफल भइसकेको छ,’ उहाँले अगाडि भन्नुभयो, ‘अब २०४७ सालको संविधानमा टेकेर नवीन समझदारीमा जानुपर्छ । किनकि २०४७ को संविधान झोलेहरूले बनाएको होइन, त्यो उत्कृष्ट र संसारले मानेको संविधान थियो । हामी नवीन समझदारीमा गएनौँ भने गएको १५ वर्षमा जसरी राष्ट्रियता कमजोर भयो, हामीपछिको पुस्ता कोही पनि नेपालमा बस्न नचाहने भइसक्ने छ ।’ वरिष्ठ उपाध्यक्ष मिश्रले अहिलेको पुस्तालाई राष्ट्रियताबारे लघुताभाषी बनाउन खोजिएको भन्दै चासो व्यक्त गर्नुभयो ।
मिश्रले भन्नुभयो, ‘राष्ट्रियता भनेको नेपालको माटो हो । धर्म हो । संस्कृति हो । नेपालको राष्ट्रियता, धर्म र संस्कृतिमा क्षयीकरण आएको छ । नेपालको राष्ट्रियता, धर्म र संस्कृतिमा यो स्तरको आक्रमण भएको कहिल्यै भएको देखेको छैन ।’ नेपाल भारत र चीन जस्ता विशाल चट्टानको बीचमा रहेको तरुल भएको भन्दै उहाँले उत्तेजक राष्ट्रवादबाट नभई सौम्य राष्ट्रवादबाट उनीहरूसँग डिल गर्नुपर्ने बताउनुभयो ।
दक्षिणी छिमेकीसँग अझ संवेदनशील भएर प्रस्तुत हुनुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘हामी ती विशाल चट्टानहरूमा लगेर टाउको ठोक्कायौँ भने आफ्नै टाउको फुट्छ । यस्तो गर्नुभएन । हामी सौम्यवादका उनीहरूसँग संवाद गर्न आवश्यक छ ।’ अहिलेको नेतृत्व यसरी डिल गर्न सक्छ ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।
राष्ट्रवादीलाई होच्याउने र हीनताबोध गर्ने प्रवृत्ति बढ्यो : अभिनेत्री कोइराला
अभिनेत्री तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाकी नातिनी मनीषा कोइरालाले नेपालमा राष्ट्रवादीहरूलाई होच्याउने र हीनताबोध गर्ने प्रवृत्तिप्रति बढ्दै गएको बताउनुभएको छ । राप्रपानिकट नेपाल प्राज्ञिक परिषद्ले शनिबार काठमाडौंमा आयोजना गरेको राष्ट्रियतासम्बन्धी कार्यक्रममा अभिनेत्री कोइरालाले नेपालमा राष्ट्रियताको बारेमा गलत भाष्य बनाइएको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो । अभिनेत्री कोइरालाले भन्नुभयो, ‘राष्ट्रियताभन्दा ठूलो कुरा अरू केही हुन्न । मैले भारतमा धेरै वर्ष बिताएँ, त्यहाँ एउटा नेतादेखि सामान्य नागरिकसम्म ‘प्राउड इण्डियन’ हुन्छन् । अमेरिकामा अहिले ट्रम्पले राष्ट्रवाद तर हामीकहाँ चाहिँ के भाष्य दिएको छ भने राष्ट्रियता भनेको त ब्याकवार्ड थिङ्किङ हो, हामीले त ग्लोबाइजेसन सोच्ने हो । अरे वा, यहाँ हाम्रो घर भत्केको छ, परिवार छिन्नभिन्न भइरहेका छौँ, अनि ग्लोबलाइजेसनको कुरा गर्ने ? पहिले हामीले आफ्नो परिवारलाई हेर्ने हो । हाम्रो घर भनेको नेपाल हो र परिवार भनेको नेपाली हौँ ।’
नेपाल पछिल्लो समय सांस्कृतिक, धार्मिक र मौलिक पहिचानको समृद्धिबाट विस्तारै कमजोर बन्दै गएको उहाँको भनाइ थियो । अभिनेत्री कोइरालाले अहिलेको राजनीतिक व्यवस्था कायमै रहे नेपाल असफल राष्ट्रतर्फ अघि बढ्ने चिन्ता व्यक्त गर्नुभयो । पुर्खाले दुःखकष्ट र त्याग गरेर बचाएको देश अहिले धेरै कमजोर र पराधीन बन्दै गइरहेको भन्दै उहाँले अर्को पुस्तालाई आपसमा मतभेद राखेर टुटेको नेपाल दिने खतरा रहेको जिकिर गर्नुभयो ।
आमासहित कार्यक्रममा उपस्थित हुनुभएकी मनीषाले नेपाल आमालाई सोचेर अबको बाटो तय गर्न आग्रह गर्नुभयो । उहाँले आफू राजनीतिक कार्यक्रममा नजाने भन्दै राष्ट्रियताको विषय भएकोले यो कार्यक्रममा उपस्थित भएको समेत भनाइ राख्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच