एमालेको हामीलाई कमजोर बनाउने प्रयत्न असफल भयो : माधव नेपाल

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनभित्र उलटफेर ल्याउने एमालेको प्रयासलाई आफूहरुले असफल बनाएको दाबी गर्नुभएको छ ।

सत्तारुढ दल भित्रै सहकार्य गरेर आफ्नो पार्टीलाई कमजोर बनाउने एमालेको प्रयासलाई आफूहरुले असफल बनाएपछि राष्ट्रिय सभा निर्वाचनमा पनि एमाले असफल भएको उहाँको जिकिर थियो । आईतवारबाट काठमाडौंमा शुरु भएको पार्टीको केन्द्रिय परिषद्को दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सत्तारुढ दलहरु एकजुट भएर अघि बढ्दा पनि कोशी प्रदेशमा सत्तारुढ दलकै भोट क्रस भएर एमालेले एक सिट जित हासिल गरेको विषय अहिले सत्तारुढ दलभित्र र बाहिर पनि छलफलको विषय बनेको बताउनु भयो । उहाँले राष्ट्रिय सभाको निर्वाचनमा पनि एमालेले आफ्नो पार्टीलाई कमजोर बनाउने प्रयास गरेको आरोप समेत लगाउनु भयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘राष्ट्रियसभाको निर्वाचन यसै बीचमा यही माघ ११ गते सम्पन्न भएको छ । राष्ट्रिय सभाको १९ पदमा भएको निर्वाचनमा सत्तारुढ दलको गठबन्धनले आपसी समझदारीमा भागबण्डा गरेका थिए । तर कोशी प्रदेशमा महिला कलष्टरमा गठबन्धनको भोट क्रस भएर सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) को प्रतिनिधिलाई हराउँदै नेकपा एमालेका प्रतिनिधि निर्वाचित भएर जित हासिल गरेको स्थिति छ । नेकपा एमालेले गठबन्धनमा रहेका दलहरुसँग सहकार्य गर्ने र गठबन्धनलाई कमजोर बनाउने नीति लिएको थियो । राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनसँग सहकार्यका लागि एमालेले वार्ता, छलफल र संवाद ग-यो पनि । वास्तवमा यो सबै भनेको हाम्रो पार्टीको बिरुद्धमा नै लक्षित थियो । यस अर्थमा पनि त्यो सहमति सफल हुन सकेन । सत्तारुढ दलहरु एकजुट भएर उभिइसकेपछि नेकपा एमालेको हामीलाई कमजोर बनाउने प्रयत्न असफल भयो । यस्तो अवस्थामा नेकपा एमालेले राप्रपासँग गठबन्धन गर्न पुग्यो । यस स्थितिमा कोशी प्रदेशमा एक सिट जितेर यो निर्वाचनमा एमाले शुन्य हुनबाट जोगिएको छ । राष्ट्रिय सभाको निर्वाचनको परिणामले सत्ता गठबन्धनमा उलटफेर हुने अवस्था नरहे पनि भोट क्रसिङको विषयले गठबन्धनका दलहरु मात्रै होइन । हरेक दलभित्र यो छलफलको विषय बन्न पुगेको छ । यस पटकको राष्ट्रियसभाको निर्वाचनको परिणामले राष्ट्रियसभाको राजनीतिक शक्ति सन्तुलनमा हेरफेर ल्याएको छ ।’

अध्यक्ष नेपालले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने दिशामा आफ्नो पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने दाबी समेत गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?