म्याग्दी । जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण म्याग्दीको मुदीमा पर्ने संसारकै सातौं अग्लो (८,१६७ मि) धौलागिरि हिमालको धवल (सेतो) स्वरुप धमिलिदै जान थालेको छ ।
अस्वाभाविक रुपमा तापक्रममा वृद्धि हुने क्रमसँगै म्याग्दीको धवलागिरि गाउँपालिका वडा नं ४ मुदीमा अवस्थित संसारको सातौँ अग्लो धौलागिरि हिमालमा हिउँको मात्रा घट्दै गएपछि हिमालको मौलिक स्वरुप धमिलिदै जाँदा कालो देखिन थालेको हो ।
धौलागिरि हिमालमा पहिले बाह्रै महिना पूरै हिउँले ढाकिने गरेको भएपनि पछिल्लो समय हिउँ पर्ने समय (हिउँद) मा पनि हिमालको तल्लो भाग हिउँविहीन देखिने गरेको धवलागिरि गाउँपालिका वडा नं ४ का वडासदस्य समेत रहनुभएका पर्यटन व्यवसायी हरि तिलिजाले जानकारी दिनुभयो ।
“धौलागिरि हिमालको स्वरुपमा परिवर्तन देखिन थालेको करिब सात वर्षजति भयो । त्यसभन्दा पहिले धौलागिरि हिम शृङ्खला पूरै हिउँले ढाकिएको हुन्थ्यो, पछिल्ला केही वर्षयता हिमालको तल्लो भाग कालो पहाडजस्तो देखिन थालेको छ, हिउँदमा समेत हिमालको तल्लो भाग धमिलो र कालो देखिन थालेको छ ” तिलिजाले भन्नुभयो ।
एक दशक अघिसम्म धौलागिरि हिमाल र पश्चिमका उच्च लेकाली क्षेत्रहरुमा पुस महिना लाग्ने वित्तिकै हिउँ पर्ने गर्दथ्यो तर, विगत केही वर्ष यता हिमालमा हिउँ परेको हेर्न समेत फागुन महिना कुर्नु पर्ने अवस्था आएको स्थानीय टेकप्रसाद पुनले बताउनुभयो ।
“पहिले पुस महिनामा भारी हिमपात हुने भएपनि पछिल्लो समय फागुनतिर हिउँ पर्न थालेको छ । यस वर्ष पनि मध्य माघसम्म पनि राम्रोसँग हिउँ परेन । समयमा हिउँ पर्याप्त नपर्ने र हिमालमा भएको हिउँसमेत पग्लिएर जाँदा हिमालमा हिउँले ढाकिएका भू–भाग काला पहाडमा परिणत हुँदै जान थालेका छन्” उहाँले भन्नुभयो ।
धौलागिरि हिमालको आधार शिविर जाने पदमार्गअन्तर्गत जापानी आधार शिविरदेखि नै सुरु हुने वर्षांैदेखि हिउँ जमेर बनेको हिमतालसमेत बर्सेनि पग्लिएर जाने क्रम बढेसँगै यस्ता तालको सतहसमेत घट्दै गएको पाइएको धवलागिरि गाउँपालिका वडा नं ४ मुदीका वडाअध्यक्ष यामबहादुर घर्तीले बताउनुभयो । “म जान्ने हुँदाखेरी धौलागिरि हिमाल वरपरका सबै डाँडाकाँडाहरु मंसिरदेखि नै हिउँ परेर सेताम्यै हुन्थे । खर्क र खोल्साहरुमा चिस्यान हुन्थ्यो । तर अहिले हिमालको तल्लो भाग र वरपरिका डाँडाकाँडाहरु सबै काला भएका देखिन्छन्” वडाअध्यक्ष घर्तीले भन्नुभयो ।
समयमा हिउँ नपर्दा हिमाल मात्र काला देखिएका होइनन् तल्लो क्षेत्रमा पाइने पशुपंक्षी र जंगली जनावरहरु पनि बसाइ सर्न थालेका स्थानीयले बताएका छन् । “धौलागिरि हिमाल वरपरका उच्च लेकाली जंगलमा मात्र पाइने रेडपाण्डा अहिले वस्ती छेउमा नै देखिन थालेका,कालीज,तित्राहरु पनि गाउँमै भेटिन थालेका छन्” स्थानीय पृथबहादुर विकले बताउनुभयो ।
धौलागिरि मात्रै होइन जिल्लाको गुर्जामा रहेको गुर्जा, चुरेन र पुथा हिमालमा समेत बर्सेनि हिउँको मात्रा घट्दै गएको स्थानीयवासी बताउँछन् । याममा समेत कम मात्रै हिमपात हुने र तापक्रम वृद्धिले हिउँ पग्लिएर बग्ने क्रमले हिमाल हिउँविहीन देखिन थालेको उहाँको भनाइ छ । हिमालमा हिउँको मात्रा घट्दै गएपछि अहिले हिमालको तल्लो भाग पूरै काला पहाडजस्तो देखिन थालेको विकले बताउनुभयो ।
“पछिल्ला केही वर्षयता हिउँ पर्ने क्रम घट्दै गएको छ, दश वर्षजति भयो हिमाल र वरपरका क्षेत्रमा हिउँ कम पर्न थालेको” विकले भन्नुभयो “पहिले पाँच छ फिटसम्म हिउँ पर्दथ्यो, हिउँ पग्लिन हप्तौँ लाग्थ्यो, अहिले मुस्किलले दुई÷तीन फिटसम्म मात्रै हिउँ पर्छ, त्यो पनि एकै दिनमा पग्लिएर बग्छ,” उहाँले भन्नुभयो । हिउँ पर्ने क्रम घट्दै गएपछि हिमाली खेतीबाली उत्पादनमा कमी आउनाका साथै हिमालको फेदीमा पाइने यार्सागुम्बासमेत पाइन छाडेको वडाअध्यक्ष घर्तीले बताउनुभयो । तापक्रम वृद्धि र जलवायु परिवर्तनको असर हिउँ पग्लिनेमा मात्रै नदेखिएर हिमाली क्षेत्रको खेतीबालीमा पनि देखिएको उहाँको भनाइरहेको छ ।
पहिले खेतीबालीमा खासै समस्या नदेखिने गरेपनि पछिल्लो समय विभिन्न प्रजातिका किराको सङ्क्रमणले आलु, जौ लगायतका खाद्य बाली उत्पादनमा कमी आउन थालेको छ । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा देखिन थालेपछि त्यस क्षेत्रका स्थानीयवासी चिन्तित बनेका छन् ।
यस्तो छ धौलागिरि हिमालको इतिहास
धौलागिरि हिमालको इतिहास भारत स्वतन्त्र हुनुभन्दा पहिला सन् १९४७ अघि भारतमा शासन गरेका अंग्रेजहरुसँग जोडिएको छ ।
इतिहासकारहरुका अनुसार छ । सन् १९४७ पूर्व भारतमा अंग्रेजहरुले शासन गर्दा भारतको उत्तरप्रदेशमा पर्ने गोरखपुरबाट उत्तरतर्फ हेर्दा अंग्रेजहरुले सेतो पहाड देखे । सेता पहाड देख्दा उनीहरु लोभिए । पछि खोजी गर्दै जाँदा उनीहरुले धौलागिरि हिमाल पत्ता लगाएका इतिहासकारहरुको भनाइ छ ।
म्याग्दीका इतिहासकार कर्णवहादुर बानियाँका अनुसार अङ्ग्रेजहरूले भारतको गोरखपुरबाट उत्तरमा रहेको ‘सेतो पहाड’ देखेपछि यसको खोजी गरेका थिए । त्यसपछि सन् १८०० मईमा ब्रिटिस इण्डियन सर्वेयर टोलीले यो हिम श्रृङ्खलाको बारेमा केही कुरा सार्वजनिक गरेको थियो ।
म्याग्दी जिल्लाको उत्तरी भू–भागमा धवलागिरी हिम श्रृङ्खला रहेको छ । यो हिम श्रृङ्खला सेतो भएको हुनाले यसलाई धवलागिरी भनिएको हो भन्ने भनाइ छ । धवलको अर्थ ‘सेतो’ र गिरीको अर्थ ‘पहाड’ भन्ने हुन्छ । यो हिम श्रृङ्खला बिहानीको झुल्के घाममा चाँदी झैं टल्कने भएकोले यसलाई ‘सेतो पहाड’ अर्थात् ‘धवलागिरी’ भनिएको इतिहाँसविद् बानियाँको भनाइ छ ।
“म्याग्दी हिमाल,ताल,छहरा र पहराले सजिएको छ । यिनै सौन्दर्यले युक्त भएको हुँदा यहाँको संस्कृति पनि श्रृङ्गारिक र मौलिक छ” बानियाँले भन्नुभयो ।
वानियाँका अनुसार प्राकृतिक सुन्दरता र भौगोलिक विविधताले सम्पन्न म्याग्दी जिल्लामा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई मोहनी लगाउने प्रशस्त सम्पदाहरु हुँदाहुँदै पनि समुचित प्रयोग,प्रचारप्रसार र व्यवस्थापनको अभावमा त्यस्ता सम्पदाहरु अझै पनि ओझेलमा परेका छन् ।
त्यसका साथै यहाँ दर्जनौं हिमश्रृङ्खलाहरु,छहरा,ताल,गल्छी,झरनाहरु रहेका छन् । पर्यटकलाई मख्ख पारेर धेरै दिनसम्म एकै ठाउँमा बसिरहुँ जस्तो वातावरण बनाउन आवश्यक पर्ने मनोरम प्राकृतिक दृश्यहरु म्याग्दीमा विद्यमान छन् ।
म्याग्दी जिल्लाको उत्तरी क्षेत्रमा संसारको सबैभन्दा गहिरो गल्छी रहेको छ जसलाई अन्धगल्छी भनिन्छ । यो जिल्लाको अन्नपूर्ण गाउँपालिकामा पर्ने दाना गाउँको पुछारमा काली गण्डकीले बनाएको विश्वकै सबैभन्दा गहिरो गल्छी हो ।
गल्छीको उत्तर–पश्चिममा धवलागिरी हिमाल (८,१६७ मी.) र पूर्वमा अन्नपूर्ण हिमाल (८,०९१ मी.) छन् । यी दुई हिमश्रृङ्खला बीचको दूरी करीब ३५ मिटर मात्र छ । दाना करीब १,२०० मीटरको उचाइमा अवस्थित छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच