काठमाडौं । चिनियाँ प्रतिनिधिमण्डलले नेपालबारे तीन विषयमा चासो राखेको छ । आइतबार काठमाडौंमा आयोजित अन्तरक्रियामा चिनियाँ नेताहरूले तीनवटा विषय प्रमुखताका साथ उठाएका हुन् । नेपाली राजनीतिक दलहरूसँगको अन्तरक्रियामा चिनियाँ नेताहरूले व्यावसायिक वातावरण, नेपालमा सञ्चालित विकास आयोजना र नेपालको आन्तरिक कलहका विषय उठाएका हुन् ।
चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले नेपालले व्यावसायिक वातावरण सुधार गर्न जरुरी रहेको बताउनुभयो । नेपाल आउनुअघि चीनका व्यवसायीसँगको छलफलका क्रममा नेपालको व्यावसायिक वातावरण र व्यावसायिक नीति अस्थिर रहेको जानकारी पाएको उहाँले बताउनुभयो । चिनियाँ व्यवसायी नेपालमा लगानी गर्न इच्छुक रहे पनि नेपालको नीतिगत अस्थिरताका कारणले लगानी गर्न अक्षम रहेको उहाँको भनाइ थियो । यस्तै, नेपालमा चीनले सञ्चालन गर्दै आइरहेको विकास परियोजनामा विदेशी शक्तिले गिजोल्न चाहिरहेको विषय पनि चिनियाँ प्रतिनिधिले उठाएको हो । विदेशी शक्तिले नेपालको परियोजना गिजोलेर जाने र त्यसले नेपालको विकाससँगै चीनसँगको सम्बन्धमा समेत असर पर्ने उनीहरूको भनाइ थियो ।
यसबाहेक, नेपालका नेताहरू आन्तरिक कलहमा रमाइरहेको विषयसमेत चिनियाँ प्रतिनिधिमण्डलले उठाएको छ । उनीहरूले नेपालका नेताहरू आन्तरिक कलह र झै-झगडामा रमाउने गरेको र त्यसबाट देशको विकासमा प्रत्यक्ष असर परेको चिनियाँ प्रतिनिधिमण्डलको भनाइ थियो । चिनियाँ प्रतिनिधिमण्डलले अब मिलेर अघि बढ्न नेपालका नेताहरूलाई सुझावसमेत दिएका छन् ।
उपमन्त्री सुन हेयानको नेतृत्वमा नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलले आइतबार नेपालका सबैजसो राजनीतिक दलका नेतासँग संयुक्त अन्तरक्रिया कार्यक्रम गरेको हो । अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादीलगायत राजनीतिक दलका नेताको सहभागिता थियो । यसअघि उहाँले राष्ट्रपतिदेखि प्रधानमन्त्री र दलका शीर्ष नेताहरूसँग उच्चस्तरीय भेटवार्ता गर्नुभएको थियो ।
चिनियाँ पक्षले उठाएका चासोका विषयमा नेपाली नेताहरूले व्यावसायिक वातावरण सुधार गर्न नेपाल तयार रहेको बताए । यस्तै, चिनियाँ परियोजना विदेशीले गिजोल्न नदिने नेपाली नेताको प्रतिबद्धता थियो । आन्तरिक कलहको विषय नेपालको आन्तरिक विषय भएको नेपाली नेताहरूले बताए ।
नेपाल-चीन सम्बन्धलाई जनस्तरको अन्तरक्रियाबाट गहन बनाउनुपर्छ : लावती
राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल र चीनबीचको विशिष्ट सम्बन्धलाई जनस्तरको अन्तरक्रियाबाट अझ गहन बनाउनुपर्नेमा जोड दिएको छ । राप्रपाका प्रवक्ता तथा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख सगुन सुन्दर लावतीले दुई असल छिमेकी, नेपाल र चीन बीचको ऐतिहासिक, मित्रवत् र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र अर्थपूर्ण बनाउन जनस्तरको अन्तरक्रिया उपयोगी हुने बताउनुभएको हो । ‘दुई असल छिमेकी बीचको आपसी सद्भाव र सम्बन्धलाई व्यावहारिक तहमा प्रवद्र्धन गर्न, सरकार र उच्च नेतृत्व तहका साथै जनता-जनता बीचको अन्तरक्रिया र सम्बन्धलाई पनि अझ गहन र सघन बनाउनु पर्दछ,’ उहाँले भन्नुभयो ।
एक चीन नीतिमा अभ्यस्त रहेर आपसी र समावेशी लाभका विषय, द्विपक्षीय सम्बन्ध प्रवद्र्धन गर्नुपर्ने उहाँको भनाइ थियो । ‘दुई छिमेकीबीच जसरी सुख दुःखको सम्बन्ध हुन्छ, नेपाल र चीन दुई देशबीच, इतिहास साक्षी छ, त्यसै प्रकारको गहिरो र घनिष्ठ सम्बन्ध रही आएको छ,’ उहाँले भन्नुभयो, ‘इतिहासका विभिन्न कालखण्डमा मात्र नभएर, आधुनिक युगको सन्दर्भमा समेत समावेशी र आपसी लाभको विषयमा सहकार्य र परामर्श हुँदै आएको विदितै छ । काठमाडौं, चितवन र पोखरामा समेत छायांकन भएको चिनियाँ चलचित्र अप इ द वीन्ड चीनमा प्रदर्शन भएपछि धेरै चिनियाँ नागरिकहरूले नेपालबारे जानकारी पाएको र नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या हृवात्तै बढेको भन्ने मिडिया रिपोर्ट मैले पढेको थिएँ ।’
चीनसँग सहकार्य गर्न इच्छुक छौँ : कोइराला
नेपाली कांग्रेसका नेता तथा सांसद डा. शशांक कोइरालाले आफ्नो पार्टी चीनसँग सहकार्य गर्न इच्छुक रहेको बताउनुभएको छ । चीनले विकासको क्षेत्रमा नमुना काम गरेको उल्लेख गर्दै कोइरालाले नेपाली कांग्रेस पनि चीनसँग विकासको सहकार्य अघि बढाउन इच्छुक रहेको बताउनुभएको हो । ‘नेपाल र चीन नजिकका मित्र हुन् । नेपालमा चीनले विकास, पुनर्निर्माण, शिक्षा, स्वास्थ्यको क्षेत्रमा उल्लेख्य सहयोग गर्दै आएको छ,’ उहाँले भन्नुुभयो, ‘चीनसँग हामी विकासको सहकार्य गर्न इच्छुक रहेका छौँ । तपाईंहरूले पाउनुभएको अनुभवबाट हामीले सिकेर कामहरू अघि बढाउन आवश्यक छ । नेपाल चीनसँग सहकार्य र सम्बन्ध अझै विस्तार गर्न चाहन्छ ।’ नेता कोइरालाले चीनसँग जोडिएका परियोजना अघि बढाउन सरकारले प्राथमिकतामा राखेर जानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
बिआरआईबाट लाभ लिनसक्ने प्रशस्त सम्भावना छ : पोखरेल
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बिआरआई अन्तर्गतका परियोजनाहरू छिटोभन्दा छिटो कार्यान्वयन गर्न सरकार तत्पर हुनुपर्ने बताउनुभएको छ । बिआरआईका सन्दर्भमा नेपालले गरेको सहमतिअनुसार परियोजना पहिचान गर्ने कुरामा आफूहरू पछि परेको उहाँले बताउनुभयो । परियोजना पहिचानको विषय सरकारले प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ थियो । उहाँले विकासको चरणमा रहेको नेपालले बिआरआईबाट लाभ लिनसक्ने प्रशस्त सम्भावना रहेको पनि जिकिर गर्नुभयो । बिआरआईले नेपाल र चीनलाई सडक, रेल, हवाई तथा सञ्चार प्रविधिबाट जोड्ने उद्देश्य राखेको बताउँदै ठूला पूर्वाधार विकासको जग हाल्दै गरेको नेपालका लागि हिमालय वारपार बहुपक्षीय सम्पर्क सञ्जाललाई प्राथमिकतामा राखेर अघि बढाउनुपर्ने उहाँले बताउनुभयो । कोभिड-१९ का बेलामा बन्द भएका उत्तरी सीमा नाकाहरू नियमित सुचारु गर्न पनि उहाँले आग्रह गर्नुभयो । ‘खासगरी बिआरआईका सन्दर्भमा नेपालले गरेको सहमतिकै सन्दर्भमा परियोजना पहिचान गर्ने कुराहरूमा हामी पछाडि परेका छौँ । नेपाल सरकारले पनि यो विषयलाई प्राथमिकताका साथ अघि बढाउनु पर्दछ,’ उहाँले भन्नुभयो, ‘नेपाल र चीनका बीचमा उच्चस्तरमा भएका भ्रमणहरूको आदानप्रदानले दुई पक्षीय सम्बन्धलाई बलियो बनाएको छ । विकासको चरणमा रहेको नेपालले बिआरआईबाट लाभ लिनसक्ने प्रशस्त सम्भावना रहेको छ । यसमा विलम्ब नगरीकन परियोजनाहरूको छनोट, तिनको शीघ्र कार्यान्वयन गर्दै अगाडि बढ्न आवश्यक छ ।’ महासचिव पोखरेलले नेपाल र चीन बीचको भूगोललाई चुनौती नभई अवसरका रूपमा लिएर अघि बढ्न आग्रह गर्नुभयो ।
नेपाल-चीन सम्बन्धमा अन्य मुलुकले खेल्न खोजे : हाइयान
चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले नेपाल र चीनको सम्बन्धमा अन्य मुलुकले खेल्न खोजेको आरोप लगाउनुभएको छ । हाइयानले दुई देशको राजनीतिक सम्बन्ध राम्रो रहेको बताउँदै अन्य केही मुलुकले यस्तो देख्न नचाहेको टिप्प्णी गर्नुभयो । नेपाल भ्रमणमा आएर राजनीतिक दलसँग संयुक्त परामर्श गर्नुको कारण दुई देशबिचको सम्बन्धलाई सुमधुर बनाउनु रहेको उहाँले बताउनुभयो । दुवै देशका राष्ट्राध्यक्षले सम्बन्धलाई सुदृढीकरण गर्न प्रयासरत रहेको भन्दै सहमति र समझदारी पत्रमा भएको हस्ताक्षरले पनि दुई देशबिचको सम्बन्ध प्रगाढ बनाएको उहाँको भनइ थियो । ‘मैले यसपटक सीपीसीको नेतृत्व गर्दै धेरै भेटघाट गरेँ । हाम्रो राजदूतले पनि धेरै मिहिनेतका साथ काम गरिराख्नु भएको छ,’ उहाँले भन्नुभयो, ‘नयाँ युगमा चीन नेपाल सम्बन्धलाई कसरी राम्रो बनाउने र सहकार्य गर्न भन्नेमा हामीले काम गर्न जरुरी छ ।’
नयाँ परिस्थितिमा नेपाल चीन सम्बन्ध कस्तो बनाउने ? त्यसमा राजनीतिक दलको भूमिका कस्तो हुने ? भन्ने विषयमा पनि गृहकार्य गर्नुपर्ने आवश्यकता रहेको यहाँले बताउनुभयो । ‘नेपालमा चिनियाँ पर्यटक धेरै आउनुभएको छ । यो नेपाललाई पनि महसुस भएको हुनुपर्छ । तर, एउटै क्षेत्रमा मात्रै भर पर्नुहुँदैन,’ उहाँले भन्नुभयो, ‘म नेपाल आउनुअघि चिनियाँ उद्यमीसँग छलफल गर्दा नेपालमा लगानी गर्नुपर्ने कुरा राखेको थिएँ । तर, त्यसका लागि यहाँ नीतिगत सुधारको जरुरी छ ।’
छिमेकी मुलुकका विकास पूर्वाधारमा चीनले लगानी गरेको र त्यसको एउटा उदाहरण इण्डोनेसिया भएको उहाँले बताउनुभयो । विभिन्न कारणले नेपालमा चिनियाँ लगानीमा सम्पन्न भइरहेका योजना सम्पन्न गर्न ढिलाइ भइरहेको उहाँको भनाइ थियो । दुई देशका राजनीतिक दलबीच सम्बन्ध सुधार हुनुपर्ने र कतिपय मुलुकले चीन नेपालबीच राम्रो सम्बन्ध भएको देख्न नचाहिरहेको उहाँले बताउनुभयो । ‘उनीहरू आउँछन् र जान्छन् । त्यसले असर गर्ने भनेको नेपाल र चीनका जनतालाई नै हो,’ उहाँले भन्नुभयो, ‘त्यसैले यसको लक्ष्य निर्दिष्ट गरेर अघि बढ्न जरुरी छ । कठिनाइको सामना गर्न मिलेर काम गर्नुपर्छ । सहकार्यलाई अझ व्यावहारिक बनाउनुपर्छ ।’
दुई देशको सम्बन्ध सुधार गर्न लागेका छौँ : राजदूत सङ
नेपालका लागि चिनियाँ राजदूत छन सङले आफू पहिलोपटक नेपाल आउँदा चिनियाँ नागरिक खै भनेर सोध्ने गरेको, तर अहिले नेपालमा चिनियाँ आउन थालेका बताउनुभयो । हामी दुई देशको सम्बन्ध सुधार गर्न लागिरहेको उहाँले बताउनुभयो । ‘खुसीको कुरा हो । राष्ट्रपति सीले भनेजस्तै महामारीले सम्बन्धमा कुनै असर गर्दैन,’ उहाँले, ‘हामी दुई देशको सम्बन्ध सुधार गर्न लागेका छौँ । प्रधानमन्त्री प्रचण्डको भ्रमणमा नयाँ सहमति भए, त्यसले सम्बन्धमा नयाँ उचाइमा पुर्याएको छ ।’ नेपाल चीनबिचको सम्बन्ध अझ कसरी अगाडि बढाउने भनेर सल्लाह गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । साथै, चीन नेपालको औद्योकिरणका लागि सघाउन तत्पर रहेको भन्दै नीतिगत रूपमा रहेका समस्या हल गर्न नेपालले काम गर्नुपर्ने उहाँको भनाइ थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच