माधव नेपाललाई झलनाथको जवाफ : हामीले भनेको जबज भन्दा केपीले भनेको बढ्ता सुन्छन्

ठूलो जबजतिर किन नजाने भन्छ नि त मान्छेले ?

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीको कार्यदिशा स्पष्ट हुनुपर्ने बताउनुभएको छ ।

सोमवार पार्टीको केन्द्रिय परिषद् बैठकमा बोल्दै सम्मानित नेता खनालले पार्टीको कार्यदिशा र कार्यनीति स्पष्ट हुनुपर्ने बताउनुभएको हो । उहाँले पार्टीले पार्टीले जनताको बहुदलिय जनवाद र समाजवाद दुवै कुरा भनिरहेको भन्दै जबजमा जाने कि समाजवादमा जाने स्पष्ट हुनुपर्ने बताउनु भयो । उहाँले पार्टीले जबज भनेमा मानिसहरु एमालेतिर जाने बताउनु भयो ।

उहाँले एमाले ठूलो जबजवाला भएको भन्दै मानिसहरुले जबजको कुरा आफूहरुको भन्दा केपी ओलीको बढी सुन्ने बताउनु भयो । उहाँले पार्टीले जबज मान्ने कुरा खतरा हुने बताउनु भयो । उहाँले यस विषयमा आवश्यक छलफल र बहस गरि स्पष्ट हुनुपर्नेमा उहाँले जोड दिनुभयो । सम्मानित नेता खनालले रुसमा पनि बहुदलिय जनवाद भएको उल्लेख गर्दै लेनिनले जबज किन मान्नुभएन ? भनि प्रश्न समेत गर्नुभयो । उहाँले पार्टीको आगामी महाधिवेशनबाट यि सबै कुरामा प्रष्टता आउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामीले आउने महाधिवेशनलाई हरप्रकारले सफल महाधिवेशनको रुपमा सम्पन्न गर्न सक्नुपर्छ । त्यो महाधिवेशनमा प्रस्तुत गर्ने हाम्रा कार्यदिशा, नीति, सिद्धान्त, रणनीति, कार्यनीति, क्रान्तिको कार्यक्रम छ । हाम्रो क्रान्तिको बाटो छ यि कुराहरुमा छ्याङ्ग हुनेगरी हामीले हाम्रा नीतिहरु तय गर्न सक्नुपर्छ । कहिले हामी जबज पनि भन्छौँ कहिले समाजवाद पनि भन्छौँ । कता जाने त ? जबज तपाई भन्नुहुन्छ भने त ठूलो जबजतिर किन नजाने भन्छ नि त मान्छेले ? ठूलो जबजवाला त एमाले छ । हामीले जबज भन्यो भने त हामीले भनेको सुन्ने भन्दा केपीले भनेको चाहीँ बढ्ता सुन्छ हेर्नुस् । त्यो खतरा हुन्छ । हामी क्लियर हनुुपर्छ । समाजवादमा जाने हो भने समाजवाद र पुँजीवादको बिचमा भिन्नता के हो ? यो कुराको बारेमा एकदमै छ्याङ्ग हुनुप¥यो । शीरदेखि तिरसम्म छ्याङ्ग हुनुप¥यो । अनि मात्रै हामी समाजवादको बाटोमा जान्छौँ । पुँजीवाद र समाजवादमा त आधारभुत होइन कि गुणात्मक भिन्नता छ । यो गुणात्मक भिन्नताको बारेमा अहिलेपनि हाम्रो पंक्तिमा प्रष्ट छैन । यो प्रष्ट पार्नका लागि व्यापक बहस र अध्ययन जरुरत छ । जबजको बारेमा किन लेनिनले जबज मान्नुभएन ? के कारण थियो ? बहुदलिय जनवाद त रुसमा पनि थियो त । किन मान्नुभएन ? बहस गरौँ यसमा । कोही कमरेडको बिरुद्धमा बोल्ने कुुरा होइन यो । हामीले हाम्रो सैद्धान्तिक समझलाई उन्नत बनाउने कुराको लागि यि कामहरु गर्ने हो ।’

उहाँले अमेरिका र भारतले देशलाई नियन्त्रणमा लिइ कम्युनिष्ट आन्दोलनलाई तहसनहस बनाउन लागेको बताउनु भयो । उहाँले यि दुई देशले नेपाललाई चीन बिरोधी अखडाको रुपमा रुपान्तरित गर्न लागेको पनि बताउनु भयो । उहाँले तत्कालिन नेकपाको विभाजनमा आन्तरिक कारण मात्रै थियो कि वाह्य कारण पनि थियो भनेर समिक्षा गर्नुपर्ने बेला आएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘उहाँले हामीलाई पनि त्यसको बाछिटाले छुने गरेको छ । क्रान्तिकारी दिशा नलिइकन कम्युनिस्ट आन्दोलनलाई पुनःगठन गर्न सकिन्न । अमेरिकी साम्राज्यवाद र भारतीय प्रभुत्ववाद हाम्रो देशलाई हर प्रकारले नियन्त्रणमा लिन, यहाँको कम्युनिस्ट आन्दोलनलाई तहसनहस बनाउन र यो देशलाई चीन बिरोधी अखडामा रुपान्तरित गर्न उनीहरु टुप्पीदेखि पाइतालासम्मको बल लगाएर हिँडिरहेका छन् अहिले । बिआरआई सँग एउटा सम्झौता गर्नसम्म दिँदैनन् । हाम्रो देशको प्रधानमन्त्री बेइजिङ जान्छ । तर एउटा सम्झौता गरेर आउन सक्दैन । किनभने यहाँ घुच्चुकमा समात्ने छ कोही शक्ति । त्यो शक्तिले गर्दा उसले सक्दैन । उसमा आँट नै आउँदैन । त्यो खालको स्थिति छ । उनीहरुले त्यसरी नियन्त्रणमा लिन खोजिरहेका छन् । त्यो नियन्त्रणमा लिनको लागि सबभन्दा ठूलो अवरोध यो देशमा कम्युनिस्ट आन्दोलन थियो । हिजो संसदमा दुई तिहाइ नजिकको कम्युनिस्ट पार्टी थियो । त्यत्रो शक्तिलाई तहसनहस गरियो अहिले । यो केपी ओलीकै कुबुद्धिको कारण मात्रै हो कि ? अरु केही कारण पनि छ कमरेड ? भित्री कारण मात्रै छ कि ? यसमा बाहिरि कारण पनि छ ? हाम्रा पनि के–कति कमजोरी छन् यसमा ? सबैले सोच्नुपर्ने स्थिति छ । राम्रो ढंगले समिक्षा गर्नुपर्ने स्थिति छ । समिक्षा गरेर अगाडी बढ्नुपर्छ । हामी साम्राज्यवादीहरुको पकड लगातार बढिरहेको देख्दैछौँ । दक्षिणपन्थीहरुको शक्ति लगातार बढिरहेको छ । हाम्रै मद्दतले उनीहरुको शक्ति बढिरहेको छ ।’

उहाँले नेपालका कम्युनिस्ट पार्टीहरु समाजवादी क्रान्ति हाँक्ने पार्टी बन्न नसकेको भन्दै त्यस्तो पार्टी बनाउने जिम्मा आफूहरुको काँधमा आएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?