✍️ वीरभद्र आचार्य
हाम्रा आध्यात्मिक गुरुहरू सधैँ जागरण र आत्मानुभूतिको कुराहरू गर्नुहुन्छ । उहाँहरू भन्नुहन्छ कि हामी सधैँजसो बेहोसीमा बाँचिरहेका हुन्छौँ र हाम्रा विचार र कार्यहरू हाम्रा इन्द्रियहरूको बाहिरी विषयसँगको ठक्करको प्रतिकृया मात्र हुन् । जागरण भनेको बाहिरी संसार सँगसँगै आफूभित्रका भाव, संवेग र विचारहरूसँग सचेत भएर जीवन बिताउनु हो । कुनै पनि वस्तुहरूलाई सही दृष्टिकोणबाट हेर्न सक्नु र चीजहरूलाई तिनीहरूको वास्तविक रूपमा पहिचान गर्नु हो । बाहिरी आवरण हेरेर यो र त्यो भन्नुभन्दा पनि भित्र पसेर वस्तु र विषयको आन्तरिक स्वरूपको पहिचान गर्नु हो ।
उपनिषदमा एउटा लोकप्रिय उदाहरण छ । डोरीमा सर्पको भ्रम । अँध्यारो कोठामा डोरीलाई सर्पजस्तो देखिन्छ र हामीमा डर पैदा हुन्छ र हाम्रा हरेक प्रतिकृया सर्पको डरबाट प्रभावित हुन्छन् । यदि हामीले केही बेर ध्यान दिएर सर्पजस्तो देखिने डोरीलाई हेरिरहृयौँ भने हामी डोरीलाई यसको वास्तविक रूपमा देख्नेछौँ । तबमात्र हाम्रो डर हट्छ । त्यसैगरी सुख-शान्तिका लागि भौतिक सामग्रीको खोज डोरीमा सर्प देख्नु जस्तै हो । यसले हामीलाई भ्रमपूर्ण संसारमा नै रुमल्लिरहन मद्दत गरिरहेको हुन्छ । सुख र शान्ति मनुष्यको नैसर्गिक अवस्था हो तर हामी प्रायजसो सुख र शान्ति वस्तुको प्राप्तिमा मापन गरिरहेका हुन्छौँ ।
हाम्रा इन्द्रियहरूले हामीलाई सधैँ विषयतर्फ लैजान्छन् । यसले हाम्रो मनलाई प्रायः सांसारिक विचारहरूमा व्यस्त राख्छ । हामीले आफ्ना इन्द्रिय र मनलाई आफूभित्र जबसम्म फर्काउन सक्दैनौँ तबसम्म हामी सांसारिक विषयभोगमा रुमल्लिरहन्छौँ ।
अर्को अर्थमा जागरण भनेको आफ्नो परिवेशप्रति सचेत हुनु हो, युद्धको मोर्चामा सिपाहीजस्तै सतर्क हुनु हो, आफ्नै विचार, भावना, संवेग र कार्यहरूप्रति सचेत रहनु हो । वर्तमानमा बाँच्नु हो । ओशो रजनिसले भनेजस्तै हामी मुर्छित अवस्थामा बाँचिरहेका छौँ । उदेकलाग्दो कुरो त हामी आफ्नै भावना र विचारहरूप्रति जागरुक छैनौँ । हाम्रो मन सधैँ भूतको सम्झना र भविष्यका अपेक्षाहरूमा बाँधिएको हुन्छ । वास्तवमा, हामी हाम्रा भावनाहरू, संवेगहरू र विचारहरूद्वारा परिचालित हुन्छौँ र हाम्रा सबै कार्यहरू यी तीनबाट प्रभावित हुन्छन् । तर, हामी सोसम्बन्धमा अनभिज्ञ छौँ । यदि जागरुक हुने हो भने हामी आफ्ना गुण दुर्गुण सबै केलाएर हेर्न सक्ने हुन्छौँ र सोअनुसार चालचालन गर्छौं ।
हाम्रा इन्द्रियहरूले हामीलाई सधैँ विषयतर्फ लैजान्छन् । यसले हाम्रो मनलाई प्रायः सांसारिक विचारहरूमा व्यस्त राख्छ । हामीले आफ्ना इन्द्रिय र मनलाई आफूभित्र जबसम्म फर्काउन सक्दैनौं तबसम्म हामी सांसारिक विषयभोगमा रुमल्लिरहन्छौँ । सांसारिक मामिलाहरूबाहेक हामीलाई हामी को हौँ, कहाँबाट आएका छौँ र हामी कहाँ जाँदैछौँ भनेर सोच्ने समय छैन । यसरी, हामी हाम्रो सत्य स्वरूपका बारेमा सचेत छैनौँ । कठोपनिषदमा काल नचिकेतालाई सम्झाउँदै भन्नुहुन्छ, ‘यदि हामीले आफ्नो सत्यस्वरूपको पहिचान गर्न सक्यौँ भने हामी शाश्वत प्राणी हौँ, सांसारिक उपलब्धिहरूबाट र सबै दुःख र सुखहरूभन्दा माथि छौँ भन्ने अनुभूत हुन थाल्दछ र भौतिक संसारको दुःख र सुखभन्दा टाढा हुन पुग्छौँ ।’ जागरण हामीभित्रको शास्वतको अर्थात् सत्यको अनुभूत गर्नु हो ।
म र मेरो भन्नु हामीले आफ्नो घरको परिसरमा पर्खाल लगाएजस्तै हो । आफ्नो घर कम्पाउन्डमा पर्खाल लागाउनुको अर्थ अब हामी त्यो पर्खालको घेराभित्रमात्र आफू र आफ्नो सिमाना तोक्छौँ, जब कि सिमाना लागाउनुभन्दा पहिले हामी त्यो सीमारेखामा सीमित थिएनौँ ।
हाम्रो मन मस्तिष्कमा यति बिघ्न नकारात्मक सोचहरू उब्जिरहन्छन् तर हामी यी विचारहरूलाई उत्पन्न हुनबाट रोक्न सक्दैनौँ । कहिलेकाहीँ हामी आफ्नै विचारबाट डराउँछौँ । जब यो नराम्रो विचारको प्रवाह अनियन्त्रित हुन्छ, व्यक्ति निराश हुन्छ र मानसिक तनावमा फस्छ । त्यसैले हामीले होसपूर्वक वा ध्यानपूर्वक बाँच्न सिक्नु अनिवार्य छ । हाम्रा मनमा उठ्ने विचारहरू हाम्रा आफ्नै विचार होइनन् भनेर बुझ्न जरुरी हुन्छ । यदि यी आफ्नै विचार हुन्थे भने, हामीले विचारलाई नियन्त्रण गर्न सक्थ्यौँ । तसर्थ हामीले हाम्रो मन मस्तिस्कमा उब्जने विचारहरूबाट अलग्गिन सिक्नुपर्छ । विचारबाट टाढा भाग्ने पनि होइन, विचारमा बग्ने पनि होइन । विचारलाई तटस्थ भएर हेर्ने बानी बसाल्नुपर्छ । जब हामी तटस्थ भएर विचारहरूलाई अवलोकन गर्न थाल्छौँ हामी यी विचारहरूबाट अलग हुनेछौँ । जब हामी अलग हुन्छौँ, अनावश्यक विचारहरू हामीबाट टाढिनेछन् ।
ध्यान र आत्मानुसन्धान सत्यका लागि सही मार्ग हो । जबसम्म हामीलाई समय र स्थानले बाँधेको हुन्छ, तबसम्म हामी डोरीमा देखिएको सर्पसँग बाँधिएका हुन्छौँ । ध्यानको अवस्थामा हामी समय र स्थान विशेषभन्दा पर पुग्छौँ । ‘म यो हुँ’, र ‘म यो ठाउँमा बस्छु’ समय र स्थानसँग सम्बन्धित छन् । जबसम्म हामी म र मेरोको घेरामा बाँधिएका हुन्छौँ हामी भौतिक सुख र दुःखमा रुमल्लिएका हुन्छौँ । ‘म’ र ‘मेरो’ यस्तो गाँठो हो जसले हामीलाई सांसारिक मामिलाहरूमा अल्झाएर राखेको हुन्छ । भौतिक शरीरमा बाँधिएको ‘म’ समय, स्थान र परिस्थितिअनुसार परिवर्तन हुन्छ । म र मेरो भन्ने मोहले हामीलाई स्वार्थको सानो परिधिमा बाँध्छ ।
म र मेरो भन्नु हामीले आफ्नो घरको परिसरमा पर्खाल लगाएजस्तै हो । आफ्नो घर कम्पाउन्डमा पर्खाल लागाउनुको अर्थ अब हामी त्यो पर्खालको घेराभित्रमात्र आफू र आफ्नो सिमाना तोक्छौँ, जब कि सिमाना लागाउनुभन्दा पहिले हामी त्यो सीमारेखामा सीमित थिएनौँ । हाम्रा केटाकेटीहरू छिमेकमा मनमस्त भएर खेल्दथे । छिमेकहरूलाई पनि आउनजान कुनै रोकावट थिएन । जब हामीले कम्पाउण्डमा पर्खाल ठड्यायौँ तत्पश्चात हामी त्यो पर्खालको घेराभित्र बाँधियौँ । त्यसैगरी, हामीलाई जबसम्म म र मेरो भन्ने स्वार्थी अहंकारले बाँधेको हुन्छ, हामीले आफूलाई केवल म र मेरा नजिकका परिबारको घेराभित्र सिमत गर्दछौँ ।
तब हामी एक संकीर्ण घेराभित्र बाँधिन्छौँ तर यदि हामीले आफ्नो हृदय संसारका लागि खोल्यौँ भने सारा संसार नै हाम्रो हुनेछ । सुखको कसी आपसी सदभाव र भाइचारा हो । शान्ति, प्रेम, करुणा न्याय, स्वतन्त्रता आदि सत्यको आवाज हो जसले सबै प्राणीहरूको आत्मालाई अपिल गर्दछ । तसर्थ हामीले भौतिक शरीरको सानो अहंकारमा हराउनुको सट्टा हाम्रो भित्रको सत्यलाई सुन्ने र बुझ्ने प्रयास गर्न आवश्यक छ । यदि हामीले ध्यान र आत्मअनुसन्धानको बाटो लियौँ भने निश्चित रूपमा हामी जाग्रित हुनेछौँ र सत्यको नजिक पुग्नेछौँ ।
जब जब सत्यको आवाज विश्वमा गुन्जिन्छ तब तब हामीले संसारमा ठूला ठूला परिवर्तनहरू भएको पाउँछौँ । बुद्धको विश्वशान्तिको मौनआवाजले संसार गुञ्जियो । यसु क्राइस्टको अन्तरआत्माबाट निस्किएको ‘प्रेमको’ आवाजले विश्वको आदि जति मानवलाई परिवर्तन गर्यो । तसर्थ जब कुनै एक मात्र व्यक्तिमा पनि आत्माबाट आवाज उठेको छ भने त्यो आवाज सम्पूर्ण मानवजातिको मन मस्तिष्कमा घन्किन्छ र यसले क्रान्तिको बिउ रोप्छ । ॐ विशुद्धाए नमः ॐ ।
सर नमस्कार ! आजसम्म हजुरलाई मैंले एउटा व्यावसायिक, प्राविधिक, व्यवस्थापक र पछिल्लो एकदशक यता कृषि विज्ञ र व्यवसायीको रुपमा मात्र चिनेको थिएँ । दलित महिला संघ (फेडो) मा कार्यरत रहँदा हजुरसँग प्रतिवेदन लेखनको तालिम लिने र संघको वार्षिक प्रतिवेदन प्रकाशन गर्ने कार्यमा हजुरसँग सहकार्य गर्ने अवसर प्राप्त भएको थियो । आज मूलुकको लोकप्रिय राष्ट्रिय दैनिक पत्रिका हिमालय टाइम्स दैनिकमा यहाँको आध्यात्मिक ज्ञान, जागरण र चिन्तनले भरिपूर्ण वृहत र विषद् अध्ययनमा आधारित आलेख पढ्ने अवसर प्राप्त भयो । यसको लागि सरलाई हार्दिक आभार प्रकट गर्दछु । आगामी दिनमा पनि यहाँबाट यी र यस्तै विषयमा गहिरो अध्ययन र अनुसन्धानमा आधारित आलेख पढ्न पाइयोस् । सरको लेखन यात्रा निरन्तर अगाडि बढोस् । हार्दिक बधाई तथा शुभकामना !!