उखु किसानलाई हप्ता दिनमै भुक्तानी

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 4 mins

सर्लाही । सर्लाहीको हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगले उखु किसानलाई हप्ता दिनभित्रै भुक्तानी दिन थालेको छ ।

प्रायः बेलैमा भुक्तानी दिएर अरु चिनी उद्योगभन्दा अलग्गै छाप बनाएको इन्दुशङ्करले यो वर्ष उखु बुझाएको हप्ता दिनभित्रै खुरुखुरु बैङ्क खातामा पैसा हाल्दिएपछि उखु किसान खुसी भएका छन् ।

इन्दुशङ्करका उखु प्रवन्धक योगनारायण रजकले किसान महासङ्घसँग ३० देखि ४५ दिनभित्र भुक्तानी गर्ने सहमति भएपनि उद्योगले एक हप्ताभित्रै भुक्तानी दिइरहेको बताउनुभयो । “किसान महासङ्घसँग एकदेखि डेढ महिनाभित्र ‘पेमेन्ट’ गर्ने भनी सहमती भएको छ तर हामीले हप्तादिन भित्रै पैसा हाल्दिरहेका छौँ,” उखु प्रवन्धक रजकले भन्नुभयो । उद्योगले माघ १० गतेसम्म किसानबाट खरिद गरिएको उखुको ५२ करोड ६१ लाख १२ हजार रुपियाँ भुक्तानी गरिएको जनाएको छ । अब दुई/तीन दिनभित्रै थप १४ करोड ४१ लाख ५६ हजार रुपियाँ भुक्तानीका लागि तालिका तय पारिएको उद्योगका प्रशासकीय प्रमुख ठाकुर नेपालले जानकारी दिनुभयो ।

सरकारले निर्धारण गरेको मूल्य अनुसार उद्योगले उखु किसानलाई प्रतिक्विन्टल ५६५ रुपियाँका दरले भुक्तानी गर्दै आइरहेको छ । यो वर्ष चिनी मिलले ५६५ र सरकारले अनुदानबापत ७० रुपियाँ प्रदान गर्ने गरी उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपियाँ निर्धारण भएको छ । पुस ६ गतेदेखि उखु क्रसिङ सुरु गरेको इन्दुशङ्करले सोमबारसम्म १४ करोड २२ लाख क्विन्टल उखु क्रसिङ गरिसकेको छ । उद्योगले यो वर्ष ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको उखु प्रवन्धक रजकले बताउनुभयो ।

उता, सर्लाहीको गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योग बगदहले पनि ८ लाख छ हजार क्विन्टल उखु क्रसिङ गरी किसानलाई ३० करोडको हाराहारीमा भुक्तानी दिइसकेको उद्योगका प्रशासन सहायक कमलेश सिंहले जानकारी दिनुभयो । उखु किसान समेत रहेका गोडैता नगरपालिकाका नगरप्रमुख देवेन्द्र यादवले यो वर्ष महालक्ष्मीले अहिलेसम्म भुक्तानीमा समस्या नदिएको बताउनुभयो । त्यस्तै सर्लाहीको धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योग भने यो वर्ष अहिलेसम्म संचालनमा आएको छैन् । आफूहरु उद्योगमा गएर बुझ्दा उद्योग संचालनको तरखर भइरहेको स्थानीय उखु किसान रामकल्याण यादवले बताउनुभयो । अन्नपूर्णले अघिल्ला वर्षहरुको बक्यौता चुक्ता गर्न बाँकी नै रहेको उखु किसानले बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?