न्यायाधीश मरासेनीको निधनमा सर्वोच्चद्वारा दुःख व्यक्त

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सर्वोच्च अदालतले न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधनप्रति दुःख व्यक्त गरेको छ । उहाँको निधनबाट न्याय र कानुनको क्षेत्रमा अपूरणीय क्षति पुग्न गएको सर्वोच्च अदालतले जनाएको छ ।

सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठक (फूलकोट)ले उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको निधनमा उच्च अदालत पाटन, हेटौँडा इजलास तथा ती मातहतका जिल्ला अदालत शोक बिदाका रूपमा बन्द रहने निर्णय गरेको छ ।

“न्यायाधीश मरासेनीको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्वलाई गुमाएको छ”, पूर्ण बैठकपछि सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । न्यायाधीश मरासेनीको मङ्गलबार बिहान हृदयघातका कारण निधन भएको थियो । उहाँ न्यायाधीशका रूपमा सेवारत रहँदा स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतालाई स्थापित गर्न एवं न्याय र कानुनको क्षेत्रको विकासका लागि पु¥याउनु भएको योगदान अतुलनीय रहेको विज्ञप्तिमा उल्लेख छ ।

विसं २०२४ जेठ २८ गते स्याङ्जामा जन्मनुभएका न्यायाधीश मरासेनीले २०५० साउन १ गतेदेखि नेपाल न्याय सेवामा शाखा अधिकृतको पदबाट सेवा प्रारम्भ गर्नुभएको थियो । उहाँ २०७० जेठ २७ गते जिल्ला न्यायाधीश पदमा नियुक्त हुनुभएको थियो । साथै उहाँ २०८० पुस १९ गते उच्च अदालतको न्यायाधीश पदमा नियुक्त हुनुभएको थियो । उहाँको मङ्गलबार साँझ पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?